|

घोराही :  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले विश्वकर्माले सत्ता र शक्तिका आडमा कुनै पनि नेतालाई उन्मुक्ति दिन नहुने बताए।

बुधबार नेपाल प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले राजनीतिक दलका नेताहरूसँग जोडिएका सबै घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने भन्दै दोषी देखिए कानुनअनुसार दण्डित हुनुपर्ने बताए।

उनले कुनै पनि पार्टीका नेता वा परिवारका नातेदार जोडिएकै कारण घटनालाई प्रभावित पार्न नहुने भन्दै कांग्रेस, एमाले, माओवादी, स्वतन्त्र पार्टी लगायतका नेताहरू जोडिएका सहकारी प्रकरण, टीकापुर जग्गा प्रकरण, ललिता निवास, भुटानी शरणार्थी ,सुकुमवासी जग्गा प्रकरणदेखि गिरीबन्धु जग्गा प्रकरणसम्म सबै घटनाको सत्यतथ्य छानबिन गर्न आवश्यक रहेको बताए।

उनले भ्रष्टाचार, अनियमितता लगायतका बेथितिको अवरोधसँगै सुशासनका लागि कांग्रेसले संसद्‌देखि सडकसम्म निरन्तर कुरा उठाउँदै आएको समेत बताए।

उनले कांग्रेस भएकै कारण कसैले उन्मुक्ति नपाउने पनि बताए। उनले भुटानी शरणार्थी प्रकरण लगायतका घटनामा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण लगायतका नेताहरू विगतमा मुछिएको भन्दै कसैको बचाउनमा कांग्रेस नलाग्ने समेत बताए।

उनले भने, ‘नेता र नेतृत्वसँग जोडिएका विषयमा सत्यतथ्य छानबिन गरेर जनतालाई प्रष्ट पार्नुपर्छ। त्यसका लागि कांग्रेसले सहयोग गर्न तयार रहेको छ। सहकारी प्रकरणमा कांग्रेसले कुरा उठाएकै कारण अहिले छानबिनको प्रक्रिया अघि बढेको हो। संसद्का महासचिवको विषयमा पनि छानबिन प्रक्रिया अघि बढाउनु पर्छ।’

उनले राज्यको नीति निर्माण गर्ने स्थानमै बस्ने मानिसको नागरिकतामा खोट देखिनुले राम्रो संकेत नगर्ने भन्दै सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए।

यसैगरी उनले कांग्रेस सरकार बनाउने र ढलाउने पक्षमा नलागेको समेत बताए। उनले कांग्रेस इमान्दारीका साथ सशक्त प्रतिपक्षको भूमिका बस्ने भन्दै सरकारले राम्रो काम गर्दै जनताको मन जित्न सके वर्तमान सरकार अघि बढ्ने सम्भावना रहेको पनि बताए।

 उनले भने, ‘कांग्रेस वर्तमान गठबन्धनको सरकारलाई ढालेर सरकार बनाउने पक्षमा छैन। यही सरकार निरन्तर जाओस् भन्ने पक्षमा छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.