|

दाङ : अत्यधिक गर्मी बढेसँगै दाङका स्थानीय तहहरूले केही दिनलाई विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

गर्मीका कारण सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन्। दिन प्रतिदिन गर्मी बढ्दै गएको र विद्यार्थी विद्यालयमै विरामी हुन थालेपछि केही दिन विद्यालयले बन्द गरेका हुन्।

गर्मीका कारण पठनपाठनमा निकै असहज भएको भनी विभिन्न विद्यालय र अभिभावकहरूले बिदा गर्न अनुरोध गरेपछि तुलसीपुर उपमहानगरपालिकाले सरकारी (सामुदायिक) र निजी (संस्थागत) विद्यालय २ दिन बिदा गर्ने निर्णय गरेको छ।

बुधवार तुलसीपुर नगर शिक्षा समितिको निर्णयअनुसार जेठ ३१ र ३२ गरी २ दिन दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए। उनका अनुसार मौसममा सुधार नभएमा गर्मी बिदालाई निरन्तरता दिइनेछ।

घोराही उपमहानगरपालिकाले पनि २ दिने बिदा दिएको छ। गर्मीले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो विद्यालयहरूबाट आउन थालेपछि जेठ ३१ र ३२ गरी २ दिन गर्मी बिदा दिने निर्णय भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले जानकारी दिए।

उनका अनुसार आउँदो साउन १७ र १८ गतेको वर्षे बिदाबाट कट्टी हुने गरी गर्मी बिदा दिइएको हो। शान्तिनगर गाउँपालिकाले पनि २ दिने गर्मी बिदा दिएको जनाएको छ।

अत्यधिक गर्मीका कारण बुधवार विभिन्न विद्यालयका विद्यार्थी विरामी भएका थिए। तुलसीपुर-११ स्थित अमर मावि उरहरीका विद्यार्थी एक्कासी बेहोस भएका थिए।

कक्षा ८ मा पढ्ने ५ जना र कक्षा ९ मा पढ्ने एकजना विद्यार्थी एक्कासी बेहोस भएका थिए। गर्मीकै कारण उनीहरूको स्वास्थ्यमा समस्या आएको उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीले बताए।

उनका अनुसार विद्यार्थी बेहोस भएपछि विद्यालयमै पुगेर स्वास्थ्य जाँच गरिएको थियो। सबै विद्यार्थीमा गर्मीकै कारण यस्तो समस्या देखिएको उनले बताए। 

विद्यार्थीमा बान्ता आउने, पिसाबमा समस्या हुने, टाउको दुख्ने समस्या देखिएको थियो। गर्मीको समयमा पानी धेरै खानुपर्ने, घाममा धेरै नखेल्न ध्यान दिनुपर्ने उनले बताए। बुधवार दाङको तापक्रम ४० दशमलव २ डिग्री सेल्सियस पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.