सयौँ खेल खेलेका किरणलाई एन्फाको सम्मान
सयौँ खेल खेलेका किरणलाई एन्फाको सम्मान
दमाम : फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छैटौँ तथा अन्तिम खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको छ।
साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा मंगलवार राति भएको खेलमा नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको हो।
नेपालका लागि संजीव विष्टले खेलको २२औँ मिनेट र जिलेस्पीजंग कार्कीले खेलको ६६औँ मिनेटमा गोल गरेका थिए। दुवैले करियरकै पहिलो अन्तरराष्ट्रिय गोल गरेका छन्।
यमनका लागि खेलको ९औँ मिनेटमा पेनाल्टीमार्फत नासर अहमद अल गवासीले गोल गरेका थिए भने अर्को गोल दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा मोहम्मद अब्दुल्लाह अल दाहीले गरेका थिए।
अन्तिम समयमा गोल खाएपछि जितिसकेको खेल पनि नेपालले बराबरीमा चित्त बुझाउनु परेको थियो। यो बराबरीसँगै नेपालले ६ खेलबाट १ अंक जोड्दा यमनले भने ५ अंक जोडेको छ।
नेपाल घरेलु मैदानमा यमनसँगै २–० ले हारेको थियो। यमनले भने अघिल्लो साता बहराइनसँग गोलरहित बराबरी खेलेको थियो।
नेपाल समूह एचको पुछारमा रह्यो। विश्वकप छनोटको अर्को चरणमा पुग्न असफल भएको नेपालसँगै यमनले अब एशियन कप छनोटको तेस्रो चरणमा खेल्नेछन्।
यस समूहबाट यूएई र बहराइन शीर्ष दुईमा रहँदै फिफा विश्वकप छनोटमा तेस्रो चरणमा पुगेका छन् भने एशिया कप २०२७ को लागि सीधै छनोट भएका छन्।
नेपाली टोली बिहीवार विहान ८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिनेछ।
गोलको खडेरी टारे संजीवले
नेपाली टोली साउदी अरेबिया पुगेदेखि राम्रो खेलेर गोल गर्नुपर्ने दबाबमा थियो। छनोटको पाँचौँ म्याच यूएईविरुद्ध ४ गोल खाएर हारेपछि नेपालका निम्ति यमनसँग नतिजा जे भए पनि कम्तिमा गोल गर्नुपर्ने दबाब बढेको थियो।
बहराइनसँग ५–० र ३–० गोलले, यूएईसँग ४–० र ४–० गोलले र यमनसँग २–० गोलले हार बेहोरेको नेपालका निम्ति अन्तिम म्याच अरु कुरामा अर्थ नराखे पनि गोल गर्नुपर्नेमा बढी केन्द्रित थियो।
यमनले शुरुवाती नवौँ मिनेटमै गोल गरेपछि नेपालमाथि झन् दबाब सिर्जना भयो तर त्यो दबाबलाई हटाइदिए फरवार्ड संजीव विष्टले।
उनले राम्रो अवसर सिर्जना गर्दै खेलको २२औँ मिनेटमा आकर्षक गोल गरे। जुन गोलले नेपाल १ गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै १–१ को स्थितिमा पुग्यो।
यमनी डिफेन्डरको खुट्टाबाट बल खोस्दै तीव्र गतिमा दौडिँदै सञ्जीवले बललाई सही दिशा दिए। डी बक्सभित्र पुर्याएर उनले गरेको प्रहार यमनी खेलाडीलाई लागेर गोलमा परिणत भयो।
लगातार ५ खेलमा गोल गर्न नसकेको नेपालका निम्ति उनले महत्वपूर्ण गोल मात्र गरेनन्, आफ्नो करियरको पनि पहिलो अन्तरराष्ट्रिय गोल गरे।
विश्वकप छनोटअन्तर्गत गत मार्चमा बहराइनविरुद्धको अन्तरराष्ट्रिय खेलमा डेब्यु गरेका संजीवका लागि गोल गर्न चौथो खेल कुर्नु पर्यो। यसअघि उनले बहराइनसँग २ र यूएईसँग १ गरी जम्मा ३ खेल खेलेका थिए।
गोलको खडेरी तोड्दै नेपालका लागि आफ्नो पहिलो गोल गर्न पाउँदा संजिवमा खुशीको सीमा छैन।
‘मलाई एकदमै खुशी लागिरहेको छ। एउटा खेलाडीको लागि आफ्नो राष्ट्रको लागि खेल्नु ठूलो उपलब्धि हो। त्यसमा गोलसमेत गर्न सकेँ। ममा खुशीको सीमा नै छैन‚ ’ सन्जिवले भने‚ ‘यसले मलाई हौसला दिएको छ, अझ राम्रो खेल्ने प्रेरणा मिलेको छ।’
संजीवले किरणको १ सयौँ खेललाई विशेष बनाउने योजनाका साथ यमनविरुद्ध मैदान उत्रिएको बताए।
‘किरण दाइको एक सयौँ खेललाई उपलब्धिमूलक बनाउन सबै खेलाडी मोटिभेट भएर लागेका थियौँ, किरण दाइको लागि विशेष बनाउने योजना बनाएका थियौँ,’ सन्जिवले भने‚ ‘सबैको कडा मिहिनेतले नतिजा आएको हो।’
जिलेस्पीजंगको करियरकै पहिलो अन्तरराष्ट्रिय गोल
यमनविरुद्ध संजीवले १ गोल गरेपछि १–१ को स्थितिमा रहेको नेपाललाई जिलेस्पीजंग कार्कीले खेलको ६६औँ मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए।
अघिल्ला ५ म्याचसम्म १८ गोल खाएर १ गोल पनि गर्न नसकेको नेपालका लागि जिलेस्पीको गोल टोलीका लागि मात्र नभएर स्वयं उनका लागि पनि स्मरणीय बन्यो।
जिलेस्पीले सन् २०२३ को सेप्टेम्बरमा पहिलो पटक म्यानमारविरुद्ध मैत्रीपूर्ण फुटबलबाट अन्तरराष्ट्रिय खेलमा डेब्यु गरेका थिए। उनले म्यानमारसँग २ वटा म्याचपछि लाओस, यूएई र बहराइनसँग पनि २–२ वटा खेल खेलेका थिए।
सबै विश्वकप छनोटअन्तर्गतका खेल थिए। अन्तरराष्ट्रिय फुटबलको ९औँ खेलमा आएर उनले यमनविरुद्ध आफ्नो पहिलो अन्तरराष्ट्रिय गोल गरेका हुन्।
किरणको १ सयौँ खेल
नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले पनि यसै खेलबाट एक सयौँ खेल खेल्ने दुर्लभ कीर्तिमान बनाए।
नेपाली कप्तान किरणले यमनविरुद्धको खेलमा राम्रो प्रदर्शन गरे। उनले यमनी खेलाडीका कैयौँ उत्कृष्ट प्रहार बचाए। राष्ट्रिय टिमबाट १ सयौँ अन्तरराष्ट्रिय खेलका क्रममा उनको मिहिनेत विशेष देखिन्थ्यो।
१६ वर्षभन्दा लामो अन्तरराष्ट्रिय फुटबल करियरमा किरणले यमनविरुद्धको खेलमा १ सय क्याप जित्न सफल भए। उनीबाहेक अहिलेसम्म कुनै नेपाली खेलाडीले अन्तरराष्ट्रिय १ सय म्याच खेल्न सकेका छैनन्।
अन्तिममा सम्हालिन सकेको भए खेल नेपालले नै जित्ने दावी उनले गरे। ‘खेल जित्नै लागेका थियौँ तर अन्तिममा गोल खाएर बराबरी भयो,’ उनले भने, ‘हामीले पहिलो अंक जोड्यौँ, २ गोल गर्यौँ त्यो मेरा लागि र देशका लागि उपहार भयो।’
किरणलाई १ सयौँ खेल खेलेवापत अखिल नेपाल फुटबल संघ एन्फाले सम्मान गरेको छ। दमामको प्रिन्स महोम्मद विन फहद रंगशालामा एन्फा महासचिव किरण राईले उनलाई कोट लगाइदिए।
१०० नम्बरको जर्सी लगाएका किरणलाई महासचिव राई, एन्फा सदस्य विकासनारायण श्रेष्ठ , म्यानेजर उत्तमराज भण्डारीले सम्मान पत्र दिएका थिए।
मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले १०० लेखेको ब्याच पाखुरामा लगाइदिएका थिए। खेल सकिएलगत्तै किरणले फ्यानहरुसँग फोटो खिचेका थिए भने अटोग्राफ दिएका थिए।
मछिन्द्र क्लबबाट करियर सुरु गरेका किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध नेपालको सिनियर टिमबाट डेब्यु गरेका थिए।
नेपाली राष्ट्रिय टिमबाट भने उनले सन् २०१६ मा एएफसी सोलिडारिटी कप जितेका थिए। किरणले घरेलु मैदानमा भएको थ्री नेशन्स कप उपाधि दुई पटक जितेका छन्।
किरणले नेपाल, भारत र माल्दिभ्सको गरी ३ वटा देशको राष्ट्रिय लिगको उपाधि जितेका छन्। ती देशबाट व्यक्तिगत अवार्डसमेत जितेका छन्।
उनी ३ फरक देशमा लिग जित्ने पहिलो र अहिलेसम्मका एक्लो नेपाली खेलाडी पनि हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।