|

हनोई : भियतनाम युद्धका क्रममा अमेरिकाले उत्तरी भियतनाममाथि बम बर्साउन थाई हवाई अड्डाको प्रयोग गरेको थियो।

हजारौं अमेरिकी सैनिक थाइल्यान्डमा तैनाथ थिए र तीमध्ये केही सैनिकका स्थानीय महिलाबाट बच्चा जन्मिए। अधिकांश सैनिक युद्धपछि फिर्ता गए। युद्धको ५० वर्षपछि अहिले डिएनए परीक्षण ती सैनिकका छोराछोरीलाई आफ्ना बाबुसँग मिलन गराउने माध्यम बनेको छ। 

जेनी स्टूबर, सन् १९७० मा थाई युवतीको कोखबाट जन्मिइन्। बैंककको दक्षिण पूर्वदेखि १४० किलोमिटर यू–तापाओ हवाई अखडा नजिकै उनी जन्मिएकी थिइन्।उनकी आमाले आफूसँग नराखी मिल्ने साथीलाई सुम्पिइन्। तिनले पनि जेनीलाई युद्धकालमा जन्मिएका अनिच्छित बालबालिकालाई सहयोग गर्ने अन्ताराष्ट्रिय संस्थालाई दिइन्। ​आफ्ना बुबा को हुन् भन्ने जानकारी नभए पनि उनी यू–तापाओमा तैनाथ अमेरिकी सैनिक थिए भन्ने सूचना जेनीले पाएकी थिइन्।

भियतनाम युद्धका क्रममा अमेरिकाले थाइल्यान्डमा ८ वटा हवाई सैन्य अखडा र बी–५२ बमवर्षक विमानका लागि मैदान बनाएको थियो। सन् १९५६ देखि १९७३ को बीचमा उत्तर कोरियाका कम्युनिष्ट शासकविरुद्ध लड्न हजारौँ अमेरिकी सैनिकलाई वर्षेनि थाइल्यान्ड पठाइन्थ्यो। अमेरिकी सेवानिवृत्त सैनिक मामिला विभाग (युएस डिपार्टमेन्ट अफ भेट्रान्स अफेयर्स) को रेकर्डअनुसार युद्धभर दक्षिण एशियामा कुल ३४ लाख अमेरिकी सैनिक तैनाथ थिए र उक्त युद्धमा लगभग ५८ हजार अमेरिकी सैनिक मारिएका थिए। 

अमेरिकालाई शीतयुद्धका क्रममा साम्यवाद फैलने चिन्ता थियो। विशेषगरी ‘डोमिनो थ्योरी’ अर्थात् एउटा एशियाली देशमा वामपन्थी शासन भयो भने छिमेकी देश पनि कम्युनिष्ट हुने चिन्ता अमेरिकालाई थियो। युद्धको चरम बिन्दुमा थाइल्यान्डमा करिब ५० हजार अमेरिकी सैनिक तैनाथ थिए। साथै भियतनाम युद्धमा लडिरहेका हजारौँ सैनिक सरकारी काम‚ आराम र मनोरञ्जनका लागि भन्दै थाइल्यान्ड आवतजावत गरिरहन्थे। 

अमेरिकी हवाई सैन्य अखडाका चारैतर्फ रेडलाइट इलाकामा बार, नाइटक्लब, वेश्यालय र मनोरञ्जनका ठाउँ बनेका थिए। अधिकांश सैनिक स्थानीय महिलाहरूसँग अनौपचारिक सम्बन्ध राख्थे। यस्तै सम्बन्धबाट जेनी जन्मिएकी थिइन्। 

थाइल्यान्डमै काम गरिरहेका एक स्वीस दम्पतीले धर्मपुत्री बनाउँदा जेनी तीन हप्ताकी मात्र थिइन्। उनी स्वीस भाइबहिनीसँगै हुर्किइन्। एक दिन बैंककको एक पसलकी साहुनीको प्रश्नले उनलाई तनाव दियो। ‘ती महिलाले मेरी आमाको बारेमा सोधिन्। मैले स्वीस आमातर्फ इसारा गरेँ। ती महिलाले नपत्याएपछि मलाई धर्मपुत्री बनाएको भनिदिएँ’‚ जेनी भन्छिन्।

जेनी १४ वर्षकी हुँदा त्यो परिवार स्वीजरल्यान्ड गयो। उनले एक दिन आमाबुबालाई खोज्न फर्किने तय गर्दै जेनी पनि गइन्। सन् २०२२ मा डिएनए टेस्टमार्फत अमेरिकामा रहेका आफ्ना पितालाई भेटाउन जेनी सफल भइन्। उनको खोजी यत्तिमै टुंगिएन। ५३ वर्षको उमेरकी जेनी अहिले पनि आफ्नी वास्तविक आमाको खोजी गरिरहेकी छिन् तर उनलाई आफ्नो खोजी कहिल्यै पूरा नहुन सक्छ भन्ने लाग्न थालेको छ।   

युद्ध र यौन पर्यटन

लामो युद्धको खर्च र हताहतीको बढ्दो संख्याले सन् १९७३ मा अमेरिका फिर्ता हुन बाध्य भयो। त्यसको दुई वर्षपछि नै गैरकम्युनिष्ट दक्षिण भियतनाममा कम्युनिष्ट उत्तरी भियतनामले कब्जा जमायो तर अमेरिकीहरूको उपस्थितिले अन्ताराष्ट्रियस्तरमा थाइल्यान्डप्रतिको हेराइ परिवर्तन गरिदियो र पर्यटनमा उछाल आयो। 

सन् १९६० मा यहाँ अन्ताराष्ट्रिय र घरेलु पर्यटकको संख्या दुई लाख थियो, सन् १९७० मा ८ लाख भयो र एक दशकपछि ५०  लाख पुग्यो। भियतनाम युद्धको ५० वर्षपछि पनि थाइल्यान्ड विश्वव्यापी रूपमा यौन पर्यटन र पर्यटकीय गन्तव्यस्थल बनेको छ‚ जुन युद्धको जमानाको विरासत हो। 

जेनी स्टूबर जस्तै मोरिस के प्ली रोबर्टस्‌लाई पनि एउटा फाउन्डेशनले संरक्षण दिएको थियो। फाउन्डेसनका अनुसार सन् १९६८ सम्म २ हजारभन्दा धेरै आधा थाई र आधा अमेरिकी बालिकाका थिए जसका बायोलोजिकल (जैविक) पिता थाइल्यान्डमा तैनाथ अमेरिकी सैनिक हुन् भन्ने अनुमान गरिएको छ। अमेरेशियन शब्द निर्माण भयो, जुन थाई आमा र अमेरिकी सैनिक पिताबाट जन्मिएका बालबालिकाका लागि प्रयोग गरिन्थ्यो। फाउन्डेशनले युद्धपछि अमेरिका फर्किएका पितामध्ये ५ प्रतिशतले मात्र थाइल्यान्डमा आफ्ना छोराछोरीलाई आर्थिक सहयोग उपलब्ध गराएका जनाएको छ। 

एउटा धनाढ्य थाई परिवारमा हुर्किएका मोरिस चर्चित अभिनेता र टेलिभिजन प्रस्तोता हुन्। उनी अहिले पनि आफ्नो बाल्यकाल सम्झँदै भन्छन्‚ ‘नोकरको रूपमा म हुर्किएँ, काम गरेबापत खानामात्र दिइन्थ्यो, घरमा कुटाइ खान्थेँ र अपमानित हुनुपर्थ्यो। स्कूलमा झगडा गर्ने अरू बच्चाहरूका लागि म दोस्रो दर्जाको मान्छे थिएँ।’ १७ वर्षको छँदा भागेका उनले फाउन्डेशनको सहयोगमा पढाइ पूरा गरे। त्यसपछि टेलिभिजन शो गर्न थालेका मोरिसले त्यहीँबाट आफ्नो आमाको बारेमा सूचना दिन अपिल गरे।

सन् १९५५ मा मोरिस ३४ वर्षका थिए जब उनलाई भेट्न आमा उनी बसेको अपार्टमेन्टमै पुगिन्। ‘म उनलाई अँगालो मार्न चाहन्थेँ तर हामीले अँगालो मार्न सकेनौं। आमाको मायाको आवश्यकता रिसमा बदलियो’‚ उनले भने। आमाले आफूलाई त्याग्नुको कारण चाल पाएकाले उनलाई आमाले कालो छाला भएको बाबुबिनाको बच्चा हुर्काउनु थाई महिलाका लागि कति अनैतिक ठानिन्थ्यो भनेर सुनाइन्। 

आमासँग भेटेपछि मोरिसले बैंककको पूर्वमा चाकोएंग्साओ प्रान्तमा तैनाथ एक अमेरिकी सैनिक थिए जो छोटो समय आमासँग बिताएर थाइल्यान्ड छाडेर गएका थिए भन्ने बुझे। ‘मेरी आमा सबै कुरा भुल्न चाहन्थिन्, उनलाई आफूसँग सम्बन्ध राखेका सैनिकको नामसमेत थाहा थिएन। सबै फोटो जलाइदिइन् तर मानिसहरू उनलाई सेक्स वर्करका रूपमा हेर्थे’‚ मोरिसले भने। 

यी बालबालिकाहरूसँगै थाइल्यान्डमा ठूलो संख्यामा वेश्यावृत्ति पनि त्यही वेलाको प्रतिबिम्ब मानिन्छ। ब्रिस्टल युनिभर्सिटीका प्रोफेसर यानोस जिल्बरबर्गका अनुसार भियतनाम युद्धका क्रममा देशमा सेनाको उपस्थितिका कारण नै अमेरिकी सैन्य अखडानजिक रेडलाइट क्षेत्र बन्यो। सेक्स इन्डस्ट्री कसरी विकसित हुन्छ भन्ने स्पष्ट उदाहरण थाइल्यान्ड रहेको उनी बताउँछन्। ‘अमेरिकी सेना भियतनाममा युद्ध लड्न र बिदा लिएर थाइल्यान्डमा रमाइलो गर्न जान्थे। युद्ध सकिएपछि ती सेनाको ठाउँ पर्यटकले लिए‚’ प्रोफेसर यानोस भन्छन्।

अहिले पनि रेडलाइट इलाका दशकौंअघि बन्द भइसकेका त्यही अमेरिकी सैन्य अखडाहरूका वरपर छन्। युद्धपछि पनि हजारौं अमेरिकी सेना पतायामा थाइल्यान्डका बार र नाइटक्लबमा गइरहे। 

‘लभ, मनी एन्ड अब्लिगेशन :ट्रान्सनेशनल म्यारिज इन अ नर्थइस्टर्न थाई भिलेज’ नामको पुस्तकका लेखक प्याचरिन लापानुनका अनुसार थाई महिला र अमेरिकी सैनिकहरूबीचको सम्बन्ध जटिल थियो। केहीले एउटा जोडीको रूपमा केही महिना साथमा बिताए तर यो सिलसिला सेना नफर्कुन्जेल मात्रको थियो। थाई समाजका केही मानिसहरू ती महिलाहरूलाई रेन्टेड वाइफ अर्थात भाडाको पत्नीका रूपमा हेर्छन्। 

भेटको एक दशकपछि मोरिसकी आमाको मृत्यु भयो र उनले यो कहानीको अन्त्य पनि यही भयो भन्ने ठानेका थिए। तर एक वर्षपछि उनले डिएनए टेस्ट गर्ने निर्णय गरे। नतिजा आएपछि उनले एउटी महिला पत्ता लगाए, जसको परिवारका एक सदस्य जो १९६४ देखि १९६६ को बीचमा थाइल्यान्ड गएका थिए भनेर थाहा पाए।

मोरिसले पूर्व सैनिक इसाइया रोबर्टस् थाइल्यान्डमा थिए भन्ने पत्ता लगाए। ती महिलाले सन् २०१९ मा बाबुछोराबीच कुराकानी गराइदिइन्। अन्ततः मोरिसले सन् २०२२ मा आफ्ना ८५ वर्षका पितालाई अलाबामा पहिलोपटक भेटे। रोबर्टस्‌ले आफ्नो छोरा भन्दै मोरिसको जिम्मेवारी लिए। यसै वर्ष मोरिस टेलिभिजन करियर छाडेर आफ्नो पितासँग बस्न अमेरिका गए।

जेनी स्टुबर भने मोरिसजति भाग्यमानी ठहरिइनन्। डिएनए टेस्टबाट २०२२ मा पिताको बारेमा थाहा पाए पनि उनीहरूको भेट अझै भएको छैन। ७८ वर्षका पितासँग जेनीको चिठ्ठी र फोटोमात्र आदानप्रदान हुन्छ। आमाको बारेमा सोध्दा बाबुले उनको पूरा नाम समेत थाहा नभएको बताएपछि जेनीको आमासम्म पुग्ने ढोका बन्द भइसकेको छ। चिठ्ठीमा जेनीका पिताले यू-तापाओ सैन्य हवाई अखडा बाहिर उनकी आमा फुड स्टलमा काम गर्थिन् जोसँग १० महिनासम्म सम्बन्धमा रहेको बताएका छन्। तर ती महिला आफूबाट गर्भवती भएको थाहा नपाएको बताउने जेनीका बुबाका अन्य दुई सन्तान छन्।

जेनी कैयौंपटक थाइल्यान्ड गइन् र ती इलाकामा खोजी गरिन् जहाँ फुड स्टल लाग्ने गर्थ्यो। उनले छिमेकी र स्थानीय प्रशासनसँग कुरा गरिन् तर कुनै उपलब्धि भएन। उनका बुबाले जेनीलाई ‘तिम्री आमा तिमीजस्तै थिइन्’ भन्ने गर्छन्।

(बिबिसीबाट अनूदित)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.