काठमाडौँ : नेपाली कांग्रेसकी सांसद नागिना यादवले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा कामको साटो राजनीति धेरै भएको आरोप लगाएकी छन्।
शुक्रवार प्रतिनिधिसभा बैठकमा सांसद यादवले चुरे संरक्षणका लागि बनेको चुरे तराई मधेश संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको आरोप लगाएकी हुन्।
उनले चुरेमा भइरहेको कामको परिणामले सो कुरा पुष्टि हुने दावी गरिन्। उनले अझै पनि चुरे क्षेत्र अतिक्रमणको शिकार भइरहेको बताइन्।
‘सरकारले २०७१ मा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गर्यो तर यो समितिमा कामभन्दा राजनीति बढी भएको छ। परिणामले पनि देखाइरहेको छ‚’ उनले भनिन्‚ ‘समितिको रिपोर्टअनुसार मैले सन् १९९० देखि २०२० सम्म चुरेमा ३२ हजार ५० हेक्टर वन बढेको छ तर ६४ हजार ३०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। मापदण्डविपरित ९६ हजार ३०६ हेक्टर खोलाको किनारा हराएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको अवस्था पनि यस्तै छ।’
उनले तराई मधेशमा खानेपानीको सुविधा पुर्याउनसमेत माग गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।