|

गौर : चन्द्रपुर नगरपालिका–८ मा रहेको मरधर सिमसार क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा विकास हुन सकेको छैन। सिमसारमा विभिन्न देशबाट आउने विविध प्रजातिका चरा देख्न पाइन्छ।

यो हेर्न टाढाबाट स्कुले विद्यार्थी आउँछन्। उनीहरू सिमसार क्षेत्रको मनोरम दृश्यमा रमाउँछन्। ३० बिघा क्षेत्रमा फैलिएको सिमसारलाई व्यवस्थित नगरेका कारण अतिक्रमणको चपेटामा पर्दै जान थालेको छ। केही समय पहिलासम्म माछा पोखरीका रूपमा चन्द्रपुर नगरपालिकाले ठेक्का लगाउँदै आएको सिमसार क्षेत्रमा अतिक्रमण तीव्र भएको स्थानीय बासिन्दा बताउँछन्।

सिमसारमा डुंगा सयर, मन्दिर, बालउद्यान, चिडियाघरलगायत नगरपालिकाले बनाउनुपर्ने स्थानीय बासिन्दा विनोद चौधरीको भनाइ छ। सिमसार क्षेत्रका नाममा विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ताले पर्यटन बोर्डबाट रकम ल्याएर झारो टार्ने काम गर्दै आएका छन्।

आन्तरिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको मरधर सिमसार क्षेत्रमा भइरहेको अतिक्रमणको विषयमा नगरपालिकाले समेत कुनै चासो नलिएका कारण मधर सिमसार क्षेत्रको अस्तित्व नै संकटमा पर्न थालेको चन्द्रपुर–८ का स्थानीय बासिन्दा प्रमोद चौधरीको भनाइ रहेको छ।

सारस, पानीहाँस‚ झिल्ला लगायतका चरा र साइबेरियन चरा पनि सो सिमसार क्षेत्रमा पहिले देखिने गरे पनि सिमसार अतिक्रमण र चराको शिकार हुन थालेपछि ओझेलमा परेको स्थानीय सर्वसाधारणको भनाइ छ।

चन्द्रपुर–६ स्थित बीपी पार्क अर्को गन्तव्यको रूपमा परिचित हुँदै गए पनि त्यहाँ समेत कुनै राम्रा भौतिक संरचना निर्माण हुन सकेको छैन। पार्कलाई पनि व्यवस्थित र पर्यटकीय गन्तव्य बनाउन सके आन्तरिक आयस्रोत बढ्न सक्ने स्थानीयको भनाइ छ।

त्यहाँ रहेको धोबिघाट र पार्क व्यवस्थित नभएको र यसलाई समेत व्यवस्थित बनाउन सम्बन्धित निकायले कुनै चासो दिएको छैन। पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा चन्द्रपुर नगरपालिकाको जुडिबेलामा निर्माण भएको सहिद पार्क समेत पछिल्लो समय उचित संरक्षणको अभावमा लथालिंग बन्दै जान थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.