|

काठमाडौँ : महासमितिबाट जबरजस्त पारित ‘कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने’ प्रस्तावबाट अन्ततः नेपाली कांग्रेस ‘ब्याक’ हुने भएको छ। गत फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा आयोजित महासमिति बैठकले कांग्रेस एक्लै चुनाव लड्ने प्रस्तावसहितको प्रतिवेदन पारित गरेको थियो।

पार्टी महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका सांगठनिक प्रतिवेदनमा ‘आगामी निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने र मतदातालाई कांग्रेसको चुनाव चिह्न ‘रूख’मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने’ संकल्प गरिएको थियो तर पार्टीका कतिपय नीति–निर्णय समय र परिस्थितिअनुसार परिमार्जित हुने भन्दै उक्त कदमबाट पछि हट्न लागेको कांग्रेसका एक नेताले जानकारी दिए।

‘एक्लै चुनाव लड्ने प्रस्तावसहितको प्रतिवेदन अब केन्द्रीय समितिले परिमार्जन गर्छ’, ती नेताले थाहाखबरसँग भने, ‘कतिपय पार्टीका नीति समय परिस्थितिअनुसार परिमार्जन गर्नुपर्ने हुन्छ। महासमितिले गरेको निर्णय पनि कहिलेकाहीँ केन्द्रीय समितिले परिमार्जन गर्छ। तत्कालीन परिस्थितिमा त्यस्ता कुरा निर्भर गर्छ।’  

कांग्रेसले चार महिना बित्न लाग्दा पनि महासमितिबाट पारित प्रतिवेदन अनुमोदन गर्न सकेको छैन। महासमितिबाट पारित प्रतिवेदनहरू अनुमोदन गर्न असार तेस्रो साता केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेको कांग्रेस नेता रामहरि खतिवडाले जानकारी दिए। 

‘महासमिति बैठकपछि हामी दुईतीनवटा कुरामा भुल्यौं। एउटा त गठबन्धन नै टुट्यो। अर्काे त्यसलगत्तै संसद् बस्यो, हामी सहकारी प्रकरणमा लामो समयसम्म अलमलियौं। बीचमा हामी बैठकहरू त बस्यौं तर सहकारी पीडितहरूको समस्या समाधानकै निम्ति केन्द्रित भयौं। संसदीय छानबिन समिति पनि बन्यो’, उनले भने, ‘अब भने महासमितिबाट पारित प्रतिवेदनहरू अनुमोदन गरेर पार्टीको दस्तावेजका रुपमा गाउँगाउँ पुर्‍याउँछौं।’ 

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि कांग्रेस एक्लै चुनाव लड्ने निर्णयबाट पछि हट्न लागेको स्विकारिन्। 

‘पार्टीमा महामन्त्रीको विचार आउनु र छलफल हुनु स्वभाविक हो। महासमितिमा उठाएको विषय कांग्रेसलाई नै भोट हाल्न पाउनुपर्छ भन्ने आमभावनालाई समेटेर पार्टीको बैठकबाटै यो भाषामा लैजाऔं भनेर लगिएको प्रस्ताव हो’, उनले भनिन्, ‘यसलाई संशोधन गरेर पास गर्ने भनेर केन्द्रीय समितिलाई नै म्यान्डेट फिर्ता भएको अवस्था हो।’ 

त्यसो त महासमितिअघि नै कांग्रेसमा चुनावी गठबन्धन गर्ने/नगर्नेबारे स्पष्ट दुई धार थियो। त्यसताका माओवादीसहितको गठबन्धन सरकारमा कांग्रेस थियो। सत्ता साझेदार माओवादी बिच्किने भयले संस्थापन (सभापति शेरबहादुर देउवा) पक्ष प्रस्तावको विपक्षमा थियो। चुनाव आउन लामो समय छँदै चुनावी तालमेल वा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा निर्णय लिँदा हतार हुने संस्थापन पक्षको तर्क थियो। 

महामन्त्री थापाको उक्त प्रस्ताव संशोधन गरेर ‘कांग्रेस एक्लै चुनाव लड्ने’ शब्द हटाउन सभापति देउवाले हदैसम्मको प्रयास गरेका थिए तर पटक–पटक आग्रह गर्दा पनि थापाले मानेनन्। अन्ततः महासमितिमा महामन्त्री थापाले प्रतिवेदन पेस गरे र पारित पनि भयो।    

महामन्त्री थापाले कांग्रेसले चुनावी गठबन्धन नगर्ने अडान लिनुलाई त्यस वेला विभिन्न कोणबाट विश्लेषण गरिएको थियो। कतिपयले कांग्रेसको आगामी नेतृत्वको आकांक्षी भएकाले महामन्त्री थापा स्वयंले सभापति देउवालाई कमजोर बनाउन त केहीले कार्यकर्तामा छाएको निराशा चिर्न प्रस्ताव ल्याएको बताएका थिए। 

धेरै हदसम्म ती विश्लेषण सही भएको राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट बताउँछन्। उनले भने, ‘पछिल्लो समय कांग्रेसले आफ्नो परिचय गुमायो भन्ने कार्यकर्तामा छ। त्यसलाई रिगेन गर्नुपर्छ भन्ने तल्लो तहका कार्यकर्तामा छ। त्यो बुझाइ नेतृत्व तहमा पनि परावर्तन भएको छ। त्यही कारण महासमितिबाट उक्त प्रस्ताव पारित गरिएको देखिन्छ।’

अहिले फेरि एक्लै चुनाव लड्ने उक्त कदमबाट पछि हट्नुलाई उनी विपक्षी पार्टीहरू मिलेपछि आइपर्ने चुनौतीलाई दृष्टिगत गरी कांग्रेसले चालेको रणनीतिक कदम ठान्छन्। ‘पछिल्लो दिनमा विपक्षीहरू मपलेर चुनाव लडे भने चुनौती छ नि ! त्यसकारण कम्तीमा माओवादी वा अन्य दलहरूसँग मिलेर जान सकियो भने एमालेलाई पनि साइजमा ल्याउन सकिन्छ भन्ने रणनीतिक दृष्टिकोणका साथ कांग्रेसले सोचेको हुनुपर्छ।’

गत २१ फागुनमा माओवादीसँगको गठबन्धन टुटेपछि भएको उपनिर्वाचनको नतिजा कांग्रेसका लागि सुखद रहेन। गत १५ वैशाखमा भएको इलाम–२ उपनिर्वाचन र बझाङ–१ प्रदेशसभा उपनिर्वाचनमा कांग्रेस थोरै मतले मात्रै पछि रह्यो। यसको अर्थ माओवादीको साथ पाएको भए कांग्रेसले दुबै ठाउँ जित्ने निश्चित थियो। कांग्रेस एक्लै चुनाव लड्ने निर्णयबाट पछि हट्नुको कारण यसलाई पनि मानिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.