६ वर्षमा गर्‍यो करिब ३ अर्ब आम्दानी

|

सुर्खेत : कर्णाली प्रदेश सरकारले संघीय सरकारबाट पाएको सशर्त‚ समपूरक र विशेष अनुदानवापत पाएको रकमसमेत सबै खर्च गर्न सकेन। उसले यो अवधिमा ७ अर्ब ७८ करोड यस्तो रकम खर्च गर्न नसकेको हो।

आव ०७५/७६ देखि आव ०७९/८० सम्मको अवधिमा सङ्घीय सरकारबाट प्राप्त बजेटमा सशर्त, समपूरक र विशेष अनुदानमा कूल २७ अर्ब ५२ करोड रुपैयाँ प्राप्त भएकोमा सो आवभित्र खर्च प्रदेशले गर्न नसकी ७ अर्ब ७८ करोड सङ्घीय सञ्चित कोषमा फिर्ता भएको छ।

कर्णाली सरकारले आम्दानी भने ६ वर्षमा २ अर्ब ८६ करोड १० लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ। प्रदेश सरकार स्थापनाको ५ वर्ष र चालू आवको जेठ मसान्तसम्म गरी यति रकम आम्दानी गरेको हो।

आव ०७९/८० सम्मको आन्तरिक राजस्व सङ्कलन २ अर्ब २४ करोड १३ लाख ६३ हजार रुपैयाँ भएको छ। यो कूल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए। 

उनका अनुसार आव ०८०/८१ मा प्रदेशको आन्तरिक राजस्व सङ्कलन जेठ मसान्तसम्म ६१ करोड ९७ लाख रुपैयाँ अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ। 

आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली सरकारको ६ वर्षको कूल बजेट भने १ खर्ब ६६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। 

बजेटको संरचना हेर्दा चालूतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताए। 

विनियोजनको चालूतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भई समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ। चालू आव सकिन एक महिनामात्र बाँकी रहँदा सरकारको बजेट कार्यान्वयनको अवस्थासमेत कमजोर देखिएको छ। 

संसदमा आगामी वर्षको बजेट पेश गर्दै मन्त्री केसीले आव ०८०/८१ को जेठ मसान्तसम्मको खर्च चालूतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.