|

बैतडी : हत्याको आरोपमा बैतडीमा तीनजना पक्राउ परेका छन्।  पाटन नगरपालिका-६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा  पाटन-६ कै २६ वर्षीया भागरथी बिष्ट, पाटन-१ का २२  वर्षीय राजेन्द्र भट्टराई र  २३ वर्षीय किशोर भट्टराई रहेका छन्।​

भागरथीलाई घरबाटै,राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भूपाल थापाले जानकारी दिए। 

तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लाष्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो। ​

मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए। विष्टलाई बेपत्ता पारेको भन्दै  आफन्तले सोमबार  इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी  दिएका थिए। त्यसपछि  निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।

पक्राउपछि भागरथीले आफूले नै वीरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन्।  उनले चिरपटले हानेर वीरभानको  हत्या गरेको  प्रहरीसमक्ष बयान दिएकी छन्।

असार १  गते शनिबार  रातिको समयमा  घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको  भागरथीको बयान रहेको रहेको प्रहरीले जनाएको छ।

हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र शव लुकाएको र त्यसपछि प्लास्टिकमा बेरेर घाङल खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सोमबार भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर शव लगेको छापहरू देखिएका थिए। त्यहाँ रगतसमेत देखिएकाले प्रहरीलाई खबर गरेका थिए। 

भागरथीले ती पुरुषको हत्या गरेपछि शव व्यवस्थापनमा अन्य तीनजनाको संलग्नता रहेको थियो। शव व्यवस्थापनमा सहयोग गरेको भन्दै राजेन्द्र र किशोरलाई पक्राउ गरेको  हो। 

यस्तै शव व्यवस्थापनमा सहयोग गरेका थप एकजना अझै फरार रहेका र उनको खोजी भइरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक थापाले बताए।​

वीरभान र भागरथीको घरमा पहिल्यै देखि आउजाउ  हुने गरेको खुल्न आएको छ। 

मृतक विष्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.