रोकथामका लागि के गर्दैछ सरकार ?
रोकथामका लागि के गर्दैछ सरकार ?
काठमाडौं : कोशी प्रदेशबाट प्रवेश गरेसँगै मनसुन क्रमश: देशभर फैलिने क्रममा छ। उच्च तापक्रम र वर्षाका कारण सर्वसाधारण विभिन्न रोगबाट संक्रमित भइरहेका छन्। स्वास्थ्य संस्थामा बिरामी बढेका छन्। विशेषगरी झाडापखाला, डेंगु जस्ता संक्रामक रोग यो मौसममा देखिन्छ। अहिले अस्पतालमा पुग्ने प्राय: बिरामी पनि यही प्रकृतिको पाइएको छ।
यो मौसममा सामान्य ध्यान दिन सके पनि यस्ता संक्रमणबाट जोगिन सकिन्छ। सामान्य सावधानी पनि नअपनाउँदा धेरै मानिस प्रभावित हुन्छन्।
यो मौसममा देखिने संक्रामक रोग
मौसमी फ्लु: गर्मी मौसममा मानिसहरुमा विभिन्न प्रकारका मौसमी फ्लुहरु देखिन्छ। फ्लुका बिरामी पनि रुघाखोकीका बिरामी जस्तै हुन्छ। यसमा हेलचेक्र्याइँ गर्नु हुँदैन। फ्लु भएमा सामान्य रुघाखोकी लाग्ने, घाँटी दुख्ने र उच्च ज्वरो आउने जस्ता लक्षण देखिन्छन्।
यस्ता लक्षण देखिनेवित्तिकै चिकित्सकलाई देखाउनु पर्छ। फ्लुबाट जोगिन शरीर सफासुग्घर राख्ने, रुघाखोकीका बिरामीबाट टाढा रहने गर्नुपर्छ। फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भीडभाडमा जानु हुँदैन। बाहिर हिँड्दा माक्सको प्रयोग गर्नुपर्छ।
स्क्रब टाइफस : गर्मी मौसमा देखिने अर्को सरुवा रोग स्क्रब टाइफस पनि एक हो। झारपात, झाडीमा पाइने भएकाले त्यस्ता ठाउँमा जाँदा उक्त किर्नाले टोके यो रोग लाग्ने गर्छ।
स्क्रब टाइफस एक संक्रमित किर्नाको टोकाइबाट लाग्ने रोग हो। यो जुम्रा जस्तै सानो हुन्छ। यो मुसाको कान वा अन्य जीवजन्तुमा पनि भेटिन्छ। किर्नाले टोकेपछि मानिसलाई १०४ डिग्रीसम्म ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, खोकी लाग्ने, गर्धन र घाँटी वरपर मसिना बिबिरा आउने, धेरै पसिना आउने, ग्रन्थी सुन्निँदै जाने लक्षण देखिन्छ।
डेंगु : पछिल्ला केही वर्षमा बर्खामा डेंगु संक्रमण जनस्वास्थ्यको चुनौती बन्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरणअनुसार यस वर्ष हालसम्म ७२ जिल्लामा डेंगुका बिरामी देखिइसकेका छन्। हालसम्म ७२ जिल्लामा १ हजार १७७ जना डेंगुका विरामी भेटिएका छन्।यो अवधिमा डेंगु सबैभन्दा धेरै काठमाडौँ जिल्लामा फैलिएको छ। ईडीसीडीको विवरणअनुसार हालसम्म काठमाडौँमा १२२ जना बिरामी फेला परेका छन्।
एडिस प्रजातिको लामखुटेको टोकाइबाट डेंगु संक्रमण हुन्छ। डेंगु सार्ने लामखुटेले पानी जमेको स्थानमा फुल पार्छ। अन्य लामखुटेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भए पनि एडिस प्रजातिको लामखुटेले तीन-चार दिन जमेको पानीमा मात्र फुल पार्छ। पानी जम्ने डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी, गमला, पानीका ट्ंयाङ्की आदिमा यसले फुल पार्छ। शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुटे शहरमा बढी देखिन्छ।
डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखा पर्छन्।
टाइफाइड : यो मौससमा धेरैमा टाइफाइड ज्वरो देखिन्छ। साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ। साल्मोनेला समूहका धेरै खालका जीवाणु हुन्छ। तर टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाइड र प्यारा टाइफाइडका जीवाणु भेटिन्छन्।
दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणु प्राय: गर्मी र बर्खायामको समयमा बढी क्रियाशील हुन्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढी मात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटी प्रभावित हुने गरेको देखिएको छ। टाइफाइड हुँदा शरीरमा हनहनी ज्वरो आँउछ। त्यसबाहेक रिँगटा लाग्ने, वाकवाकी लागी बान्ता पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ। समयमा नै उपचार गरे टाइफाइड पूर्णरूपमा सजिलैसँग सञ्चो हुने भए पनि लापरवाही गरे स्वास्थ्य जटिलता निम्तिन्छ।
झाडापखाला : यो मौसममा देखिने पानी जन्य अर्को सरुवा रोग झाडापखला हो। बर्खाको समयमा हामीले खाने धेरै जसो पानी दुषित हुने हुँदा झाडापखला देखिन्छ। शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखला धेरै देखिने गर्छ। यो मौसमा खानेपानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुँदा झाडापखालाको जोखिम बढ्छ।
हेपटाइस ए, बी : खानेकुरा र पानीका कारण फैलिने अर्को प्रमुख सरुवा रोग हेपटाइस ए, बी अर्थात् जण्डिस हो। बासी खानेकुरा तथा दूषित पानीले धेरैलाई जण्डिस देखिन्छ। शरीरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाँदा पनि धेरैलाई जण्डिस देखिन्छ। शुरुमा ज्वरो आउने, पछि शरीर गल्दै जाने जण्डिसको प्रमुख लक्षण हो।
हैजा : हामीले खाने दूषित पानी र खानेकुराले गर्दा यस मौसमामा धेरैलाई आउँ देखिन्छ। पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने, शरीरमा पानीको मात्रf कम हुने र अन्त्यमा शरीरका महत्त्वपूर्ण अगंले काम गर्न छाड्ने हुन्छ। त्यसैले यो मौसममा आउँबाट बच्न पिउने पानी र खानेकुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ।
यस्ता संक्रमण रोकथाम गर्न सरकारले के तयारी गर्दै छ?
ईडीसीडीका निर्देशक डा यदुचन्द्र घिमिरेका अनुसार सातै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालयका प्रमुखसँग संक्रमण रोकथाम गर्न तयारी गर्न विभिन्न चरणमा छलफल गरिएको छ। ‘ यो मौसममा धेरै देखिने डेंगु अन्य मौसमी संक्रमणहरुको रोकथाम गर्न तयारी गर्न हामीले सबै प्रदेशका स्वास्थ्य निर्देशकसँग चरणबद्ध तरिकाले छलफल गरिरहेका छौँ’ डा घिमिरेले भने ‘ यस्तै आजभोलि अलि बढी डेंगु संक्रमण देखिएका जिल्लालाई केन्द्रित गरेर त्यहाँका स्थानीय तहसँग संक्रमण रोकथाम कार्यबारेमा छलफल गरेका छौँ।’
यसका साथै गर्मीको मौसममा मलेरियाको पनि जोखिम बढ्ने हुँदा जोखिम युक्त स्थानमा झुल समेत वितरण भइरहेको उनले बताए।
संक्रामक रोगबाट बच्न के गर्ने?
सरुवा रोगबाट जोगिन सबै भन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। यो मौसममा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुँदा खानेपानीको शुद्धतामा विशेष ध्यान दिनुपर्छ। बर्खामा दूषित पानीबाट लाग्ने रोगबाट बच्ने सबैभन्दा पहिलो तरिका भनेकै दूषित पानीको सेवन नगर्नु हो। अर्को यस मौसममा बासी खानेकुरा तथा काँचो खानेकुरा खानु हुँदैन। घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्नु पर्छ। यस्तै यो मौसममा देखिने किटजन्य रोगबाट बच्न घरबाहिर निस्कँदा बाक्लो कपडा लगाउनुपर्छ। धरै झाडी भएको ठाउँमा जानु हुँदैन।
पानी उमालेर खाने
वर्षाको पानीले खानेपानीको मुहान दूषित पार्छ। यही दूषित पानी पिउँदा झाडापखाला र आउँ जस्ता संक्रमण देखिन्छन्। त्यसैले पानीलाई उमालेर खाने गर्नु पर्छ। यदि पानी उमालेर खान नसक्ने अवस्था भए पानीमा ‘क्लोरिन’ भए पनि राख्नु पर्छ। पानीलाई कम्तीमा पनि एक मिनेटसम्म उमालेर खाने गर्नुपर्छ।
व्यक्तिग सरसफाइमा ध्यान दिने
सरुवा रोगबाट जोगिन सबै भन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ। जथाभावी दिसापिसाब नगर्ने, खानेकुरा राम्रोसँग पकाएर खाने गर्नुपर्छ। यसका साथै साबुनपानीले हात धुने गरेमा पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरीसकेपछि, खाना बनाउनुअघि, खाना खानुभन्दा पहिल] साबुनपानीले हात धुनुपर्छ।
लामखुटेको टोकाइबाट बचाैँ
लामखुटेबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। सम्भव भएसम्म लामखुटे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने गर्नुपर्छ। घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन।
घरबाहिर निस्कदा माक्सको प्रयोग
घरबाहिर निस्कँदाा माक्सको अनिवार्य प्रयोग गर्नुपर्छ। वायु प्रदूषण र अन्य व्यक्तिको नाक र मुखबाट फैलिनसक्ने संक्रमणबाट बच्न मास्क उपयोगी हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।