जापानबाट आउनेलाई निगरानी गर्न र अस्पतालहरूलाई अलर्ट बस्‍न निर्देशन

|

काठमाडौं :  भर्खरै कोभिड महामारीबाट उन्मुक्ति पाएको विश्वमा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटिएसस) नामक रोगले गर्दा पुन: जनस्वास्थ्यको हिसाबले चिन्ता बढ्दै गएको छ।

मानव शरीरका तन्तुमाथि आक्रमण गर्ने यो ब्याक्टेरियल रोग हाल जापानमा व्यापक फैलिँदै गएपछि विश्वमा पुन: जनस्वास्थ्यको हिसाबले गम्भीर संकट बढ्दै गएको देखिएको हो।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटीएसस)का संक्रमित हालसम्म एक हजार नाघेको छ। त्यहाँको राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो।

यो वर्षको सुरुदेखि संक्रमितको प्रारम्भिक संख्या एक हजार १९ पुगेको एनआइआइडीको तथ्यांकले देखाएको छ। विगतका वर्षहरूको तुलनामा यो गम्भीर ब्याक्टेरिया संक्रमणको फैलावटमा उल्लेख्य वृद्धि भएको देखाएको छ।

जापानको नेशनल इन्सिच्युट अफ इन्फेक्सियस डिजिवका अनुसार यो ब्याक्टेरिया पहिलोपल्ट सन् १९९९ मा पत्ता लागेको  थियो।

जापानमा यसवर्ष २५०० जनामा संक्रमण फैलिने र मृत्युदर ३० प्रतिशत हुने टोकियो वुमेन्स मेडिकल युनिभर्सिटीका संक्रामक रोगका प्राध्यापक केन किकुचीले बताएका छन्।

यस ब्याक्टेरियाले सबैभन्दा बढी आक्रमण बालबालिकालाई गरेको छ। दिनप्रतिदिन रोग बढ्दै गएको दरलाई हेर्दा जापानमा वर्षेनी २५ सयजना यो रोगबाट संक्रमित हुनसक्ने अनुमानसमेत त्यहाँ गरिएको छ।

नेपाल पनि उच्च जोखिममा

जापानको नेसनल इन्स्टिच्युट अफ इन्फेक्शियस डिजिजका अनुसार जापानमा हालसम्म करिब एक हजार जनामा यो दुर्लभ रोग देखिइसकेको छ। जापानमा मात्रै नभई अन्य थुप्रै मुलुकमा यो रोग फैलिरहेको छ। जसमा विशेषगरी युरोपेली देशहरू रहेका छन्।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार स्ट्रेप्टोकोकस नामक यो ब्याक्टेरिया संक्रमण अहिले युरोपका पाँच देशमा फैलिसकेको छ। जसमा बेलायत, फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड र स्विडेन छन्।

नेपालको धेरै हवाई रुट रहेको र नेपालीसहित अन्य मानिसहरू धेरै आवतजावत गर्ने मध्यका जापान, बेलायत सहितका देशहरुमा यो संक्रमण बढ्दै गएकाले नेपाल पनि उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विमानस्थलमा निगरानी गर्न र अस्पतालहरूलाई अलर्ट बस्न निर्देशन

मानिसबाट मानिसमा सर्ने यो ब्याक्टेरिया संक्रमण जापानमा व्यापक र अन्य युरोपेली देशहरूमा समेत यो संक्रमण फैलँदै गएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ।

विशेषगरी जापान र अरू संक्रमण फैलिएका देशहरुबाट आउने नागरिकलाई निगरानीमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा रहेको हेल्थ डेक्सलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।

‘जापानमा यो संक्रमण हाल अलि बढी फैलिएको छ भने अन्य देशमा पनि देखिन थालेको छ यी देशहरूबाट हाम्रोमा पनि हवाईमार्गबाट आवतजावत भइरहन्छ जसले गर्दा हामी पनि जोखिममा रहेका छौँ। त्यसैले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हाम्रो हेल्थ डेक्सलाई जापानसहित संक्रमण देखिएको देशबाट आउने नागरिकलाई विशेष निगरानी गर्न निर्देशन दिइसकेका छौँ’ डा बुढाथोकीले भने।

यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जापान लगायतका यो संक्रमण देखिएका देशहरूबाट आएका नागरिकलाई लक्षण देखिए परीक्षण गराउन र होम क्वारेन्टाइनमा बस्न र ती व्यक्तिहरुलाई निगरानी गर्न निर्देशन दिएको समेत डा बुढाथोकीले बताए।

‘अहिले अलि धेरै संक्रमण देखिएको जापानबाट आउने नागरिकलाई विशेष निगरानी गर्न र शंकास्पद व्यक्तिलाई परीक्षणका साथै ७ देखि १० दिनसम्म होम क्वारेन्टाइनमा बस्न निर्देशन दिने निर्णय भएको छ’ डा बुढाथोकीले भने,
‘तर संक्रमण जापानसहित अन्य देशमा बढ्दै गए विज्ञहरूलाई बोलाएर छलफल गरेर संक्रमण फैलिएका देशहरूबाट आउने मानिसहरुको क्वारेन्टाइन/आइसोलेशन कस्तो हुने र संक्रमण आउन नदिन थप कस्तो रणनिति अपाउनेबारे निर्णय हुन्छ। अहिलेलाई हाम्रो मुख्य काम भनेको जापानलगायत संक्रमण देखिएका देशबाट आउने नागरिकहरूको निगरानी नै हो।’

कोभिड संक्रमण जस्तै लक्षण

यो स्ट्रेप्टोकोकल संक्रमणले सामान्यतया बच्चाहरूमा  घाँटी सुन्निने र दुख्ने बनाउँछ जसलाई 'स्ट्रेप थ्रोट' भनिन्छ, तर केही प्रकारका ब्याक्टेरियाहरूले खुट्टा दुख्ने र सुन्निने, ज्वरो, न्यून रक्तचाप लगायतका लक्षणहरू देखाउन सक्छन्।

मासु खाने ब्याक्टेरिया नाम दिए पनि यसले मानिसको मासु सिधै खाँदैन, बरु यसले शरीरभित्रको तन्तुलाई मार्ने काम गर्ने र मल्टि अर्गानहरू फेल गराएर  ४८ घण्टामा  मानिसको मृत्यु गराउने हुँदा यो ब्‍याक्टेरिया संक्रमण ज्यादै घातक रहेको बताउँछन् शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन।

उनका अनुसार यो संक्रमणबाट पनि बालबालिका र ५० वर्षभन्दा माथिका व्यक्तिहरू बढी जोखिममा हुन्छन्। डा पुनले भने, ‘एसटिएसस जसलाई गम्भीर आक्रामक स्ट्रेप्टोकोकल संक्रमण पनि भनिन्छ, यो अचानक सुरु हुने रोग हो।

मुख्य रूपमा ग्रुप ‘ए’ स्ट्रेप्टोकोकसको कारणले हुन्छ प्रारम्भिक लक्षणहरूमा सामान्यतया घाँटी दुख्ने, ज्वरो आउने, भोक नलाग्ने, पखाला लाग्ने, बान्ता हुने र अरू ग्यास्ट्रोइन्टेस्टाइनल समस्या देखिन्छ। साथै, कम रक्तचापजस्ता लक्षण देखिन्छ। तुरुन्तै उपचार नगरिए यसबाट श्वासप्रश्वासको विफलता, कलेजो, मिर्गौला र अन्य ठूला अंगहरु ‘फेल’ हुन्छ यसको मृत्युदर ३० प्रतिशतभन्दा बढी छ।'

यो रोगको उपचार नै हुँदैन त?

भाइरस जन्य संक्रमण नभएर यो ब्याक्टेरियाको कारण लाग्ने रोग भएका कारण यसको उपचार सम्भव रहेको छ। तर यसको लागि लक्षण देखिनासाथ एकदमै छिटो उपचार प्रकियामा गएर एन्टिबायोटिकहरू चलाउनुपर्छ नत्र भने संक्रमण भएको ४८ घण्टामा शरीरभित्रको तन्तुलाई मार्ने र मल्टि अर्गानहरू फेल गराएर मानिसको मृत्यु हुने डा पुनले बताए।

‘यो रोगको उपचार नहुने होइन हुन्छ तर यसलाई एकदमै छिटो पत्ता लगाएर उपचार पक्रियामा जानुपर्छ नत्र यो ब्याक्टेरिया मानव शरीरमा यति चाँडै फैलिन्छ कि ४८ घण्टाभित्र मानिसको मृत्यु नै हुन्छ तर सुरुमा सामान्य लक्षण देखिने हुँदा मानिसहरु अलमलिन्छन्’

डाक्टर पुनले भने, ‘जति छिटो पत्ता लगाए जति छिटो एन्टिबायोटिक चलाइयो उति नै यो रोगबाट बाँच्ने सम्भावना हुन्छ।’

डाक्टर पुनका अनुसार मासु खाने ब्याक्टेरिया नाम दिए पनि यसले मानिसको मासु सिधै खाँदैन, तर यसले शरीरभित्रको तन्तुलाई मार्ने काम गर्छ। यसको पहिचानको लागि रगत, घाउलगायत शरीरका विभिन्न तरल पदार्थको जाँच गरेर पत्ता लगाउन सकिन्छ।

यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ। संक्रमित व्यक्तिको थुकको छिटाबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा ब्याक्टेरिया अर्को व्यक्तिमा सर्न सक्दछ।

संक्रमितको थुकको छिटा भएको वस्तुमा छोई नाक वा मुखमा छोएमा पनि संक्रमण सर्न सक्दछ। त्यसैले मास्क प्रयोग गर्ने, दूरी कायम गर्ने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिएर जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नु पर्ने डा पुनले बताए।

यो रोगलाई ४८ घण्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम दिए पनि यसलाई एसटिएसएस अर्थात्  इस्ट्रेपटोकोक्कल टक्सिक शक सिन्ड्रोम' भन्ने गरिन्छ। तर यो नयाँ संक्रमण भने होइन।

यो क्याक्टेरिया पहिलेदेखि नै रहेको थियो। तर, कहिलेकाँही ब्याक्टेरियाहरु अनुवांशिक परिवर्तन भई झन् कडा खालको निस्कन सक्ने हुँदा जोखिम बढ्नसक्ने र हाल जापानमा पनि त्यस्तै हुनसक्ने डा पुनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.