|

बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीले सार्वजनिक स्थलमा धूम्रपान गर्ने  २५ जनालाई कारबाही गरेको छ।

फागुन ११ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने २५ जना कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले जानकारी दिए। 

सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई जनही सय रुपैयाँ जरिवाना गर्ने गरिएको छ। कारबाहीमा परेकाहरुबाट १ सय रुपैयाँ जरिमानासमेत असुल गरिएको प्रवक्ता केसीले बताए। 

गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालगायतका सरोकारवाला निकायको उपस्थितिमा बसेको बैठकले  जिल्लाका सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्ने निर्णय गरेको थियो।

सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि माघ २६ बाट प्रचारप्रसार अभियान शुभारम्भ गरेको प्रहरीले फागुन ११  गतेदेखि अनुगमन गरेर कारबाही थालेको थियो।

प्रहरीले अहिले कसैलाई सार्वजनिक स्थानमा धूम्रपान गरेको  देखेमा  प्रचलित कानूनबमोजिम कारबाही गरिरहेको छ। सार्वजनिक स्थानमा धूम्रपान निषेधपश्चात पनि धूम्रपान गर्ने अटेरीहरुलाई प्रहरीले कारबाही गरेको हो। 

लागुऔषध नियन्त्रण तथा सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्नका लागि प्रहरी कार्यालय, मातहतका चौकी, सञ्चारमाध्यम‚ सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङसमेत गरिएको थियो। 

प्रहरीले अहिले  नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरु जुनसुकै समयमा कारबाहीमा पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.