संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।
जिल्ला ब्याडमिन्टन संघ संखुवासभाको आयोजनामा आज कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले गरे। खेलाडी र खेल क्षेत्रको विकासका लागि सबै पालिकाहरुले लगानी गर्नु आवश्यक भएको नगर प्रमुख थपलियाले बताए।
प्रतियोगितामा भारतको कोलकाता, ग्यान्टोक, सिक्किम, दार्जेलिङसहित नेपालका ९२ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघ संखुवासभाका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताको भेट्रान्सतर्फ ३० टिम, मेन्स डबलतर्फ ८ टिम र बी डिभिजन जिल्लास्तरीय ५४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने पुरुष डबलतर्फ ६० हजार रुपैयाँ नगद‚ मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ नगद‚ मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीलाई १०/१० हजार रुपैयाँ नगद‚ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
भेट्रान्सतर्फ ५० हजार रुपैयाँ नगद‚ मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ नगद‚ मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई ७ हजार ५ सय रुपैयाँ नगद‚ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता खाँदबारी–१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डोर स्टेडियममा सञ्चालन भइरहेको छ। प्रतियोगितामा करिब १० लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ। ब्याडमिन्टन प्रतियोगिताको समापन असार ८ गते हुने आयोजकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।