|

काठमाडौँ : संसारभर पछिल्ला वर्षमा नसर्ने रोग व्यापक रूपमा बढ्दै गएको छ। विलासी जीवनशैली, खानपान तथा बढ्दो मोटोपनका साथै बढ्दो मानसिक स्वास्थ्य समस्याका कारण विभिन्न प्रकारका नसर्ने रोगका विरामी बढ्दै गएका छन्।

नसर्ने रोग लागेर उपचार गर्नुभन्दा नलाग्न दिनु नै उत्तम उपाय भएकाले मुटु, मिर्गौला, क्यान्सर तथा मधुमेह र उच्चरक्तचाप जस्ता दीर्घ रोग लाग्नबाट बच्नु नै उत्तम विकल्प रहेको विज्ञहरूले बताउँदै आएका छन्। जसका लागि ‘योग’ यस्ता नसर्ने दीर्घ रोगहरूको जोखिम न्यूनीकरणको आधार हुनसक्ने विज्ञहरूले बताउँदै आएका छन्।

योग, आयुर्वेद तथा वैकल्पिक चिकित्साको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै वर्तमान सन्दर्भमा यसको महत्त्व अझ बढेको हो। नसर्ने रोगको जोखिम बढेको बढ्यै छ। योगले ती जोखिम न्यूनीकरणका लागि ठूलो मद्दत गर्न सक्छ।

योगका आठ नियमहरू जसलाई अष्टाङ्ग नियमको रूपमा पनि चिनिन्छ‚ त्यसले आफू र समाजलाई समेत स्वस्थ र अनुशासित गराउन मद्दत पुग्ने बताइन्छ तर योग तथा साधना भन्दै जथाभावी योग गर्दा शारीरिक तथा मानसिक रूपमा मानव शरीर स्वस्थ हुनुभन्दा झन् उल्टै हानि गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले महानिर्देशक डा. प्रदीप केसीको भनाइ छ। ‘हरेक मानिसले आफ्नो शारीरिक अवस्थानुसार उपयुक्त हुने गरी योग्य प्रशिक्षकको सहयोगमा जानेर गरे योगले निकै फाइदा गर्छ तर नजानेर गरिएको योगले शरीरका लागि फाइदा होइन झन् बेफाइदा गर्छ’‚ विभागका महानिर्देशक डा. केसीले भने।

स्पादेखि रिह्याब सेन्टरले जथाभावी योग सिकाउन थाले

योगले शरीर र मनको मिलन गराई  शरीर र मन स्वस्थ राख्न मद्दत गर्ने साधनाको रूपमा लिने गरिए पनि आजभोलि योगलाई साधनाभन्दा पनि फेसनको रूपमा लिएर जथाभावी गर्न थालिएको समेत डा. केसीले बताए। ‘आजभोलि योगलाई व्यापारिक रूपमा लैजान थालिएको छ‚ जसले गर्दा स्पा सेन्टरदेखि रिह्याब सेन्टरले जथाभावी योग सिकाउन थालेका छन् जुन राम्रो होइन। यसरी योग सिकाउने गर्दा मानिसलाई फाइदाभन्दा पनि बेफाइदा हुन थालेको छ’‚ डा. केसीले भने।

योगलाई शरीर र मनको मिलन हो भन्दै यसले शरीर र मन स्वस्थ राख्न मद्दत गर्ने र  योगका नियमहरू यमले समाज र नियमले आफूमा योगको महत्त्व दर्शाउने अर्का आयुर्वेदक चिकित्सक तथा योग प्रशिक्षक डा. सुबोध मिश्रको भनाइ छ। तर योग गर्ने भन्दैमा सबै मानिसले योगका अभ्यास गर्न नमिल्ने डा. मिश्रको भनाइ छ। डा. मिश्रले भने‚ ‘योगको आफ्नै नियम छ। पेटको समस्या भएकोले कस्तो खालको योग गर्ने, हाडजोर्नीको समस्या भएकोले कस्तो गर्ने । यसैगरी मुटु, रक्तचापको समस्या भएकाले कस्तो योग गर्ने भन्ने विषय फरक फरक हुन्छ तर अहिले जसलाई पनि एकै प्रकारको योग गराउने परिपाटीले पछिल्लो समय योगले फाइदा मात्रै होइन‚ बेफाइदा पनि भएको छ। त्यसैले योग्य योग प्रशिक्षकलाई चिनेर योग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’

अर्का आयुर्वेदका चिकित्सक डा. श्यामबाबु यादवले योगलाई व्यायाम मात्रैको रूपमा हेर्न नमिल्ने भन्दै यसलाई जीवन जिउने पद्धतिको रूपमा हेर्नुपर्ने बताए। उनले योगलाई अब घर घर र व्यक्ति व्यक्तिमा पुर्‍याउनुपर्ने आवश्यकता बताए। डा. यादवले भने‚ ‘योगबाट शरीरका समस्त अङ्गप्रत्यङ्ग र हरेक ग्रन्थिको व्यायाम हुन्छ र शारीरिक तन्दुरुस्ती कायम हुन्छ। नियमित रूपमा योगसाधना गर्नाले रोगसँग लड्ने शक्ति बढाउँछ, फलस्वरूप मानिस निरोगी बन्छ। त्यसैले हरेक मानिसले आफ्नो शरीरको अवस्था हेरेर कस्तो खालको योग गर्ने भन्ने विषय योग प्रशिक्षकसँग सल्लाह गरेर गरेमा विभिन्न प्रकारको स्वास्थ्य समस्याको जोखिमबाट बच्न सकिन्छ।

सरकारी तहमा हाल देशभर रहेका पालिका स्तरमा ३०० सयबाट नागरिक आरोग्य सेवाकेन्द्रमा योगाभ्यास सिकाइँदै आइएको समेत विभागले जनाएको छ।

जानेर गरे यस्ता छन् योगका फाइदा

धेरैजसो मानिसका लागि आज योगविद्या केवल केही आसनको संग्रहमात्र हो, जसको माध्यमबाट हामी शरीर स्वास्थ्य बनाइराख्न चाहन्छौं। ध्यानक्रियाहरूको मद्दतले हामी केही मानसिक विग्रहको उपचार पनि खोजी गर्छौं। त्यसैले योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ तर सही तरिकाले नगरिएको योगले फाइदाभन्दा बेफाइदा बढी गर्छ। उपयुक्त तरिकाले योग गर्न सकेमा सबै अङ्ग, प्रत्यङ्ग र ग्रन्थिको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। बुढेसकालमा पनि जवान झैँ स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ। मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउँछ।

प्राणायामले श्वाससप्रश्वासको गति नियन्त्रण गर्छ। यसका साथै ध्यान पनि योगको महत्त्वपूर्ण अंग भएकाले ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ। नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ। नियमित गर्न सके योगका आसन र ध्यानले बाथरोग, पछाडि दुख्‍ने (ब्याक पेन) को समस्या कम गर्छ। महिलामा महिनावारीका वेला देखिने समस्या तथा गर्भवतीले योग गर्दा पेटभित्रको बच्चालाई समेत फाइदा हुन्छ। तीन चार वर्षदेखि नै बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुने र शरीर पनि स्वस्थ हुन्छ।

यस्तै नियमपूर्वक गरिने योगले विभिन्न प्रकारका स्वास्थ्य समस्याको दीर्घकालीन निराकरण र शरीरमा सन्तुलन हुने गर्छ। शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ। शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। योगासन र ध्यानले जोर्नीको समस्या कम गर्छ, तनाव हटाउँछ, राम्रो निद्रा लाग्छ र पाचन प्रक्रिया ठिक हुन्छ। स–साना बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुन्छ भने शारीरिक रूपमा पनि स्वस्थ रहन्छन्। नियमित योगाभ्यासबाट कार्यक्षमता वृद्धि तथा शान्ति प्राप्त हुन्छ। प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण हुन्छ। ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ, सकारात्मक सोचको विकास हुन्छ र अनावश्यक विचारबाट मुक्ति दिलाउँछ। शरीर, मन र आत्माबीचको समन्वय, ऊर्जा प्राप्ति, आत्मज्ञानलगायत सकारात्मक गुणको विकास हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.