|

पाल्पा : गत मंगलबार बेलुकी ६ बजेको थियो। पूर्वखोला गाउँपालिका-१ सिलुवाका ७६ वर्षीय वीरबहादुर खासु दौतरीसँग तानसेनस्थित जिल्ला प्रशासन कार्यालय पाल्पाको पर्खालमा अडेस लागेर भुइँमा बसिरहेका थिए।

उनी थकित देखिन्थे। राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिन्छ भनेपछि उनी सदरमुकाम आएका हुन्।

बिहान ६ बजे घरबाट भात खाएर हिँडेका थिए। दिउँसो राम्ररी नास्ता खान पनि पाएनन्। दिनभर प्रशासनको कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन खटिए। बल्लबल्ल राष्ट्रिय परिचयपत्र हात परेपछि भुइँमा बसेर थकाइ मेटिरहेका थिए। उनले विगत ८ वर्षदेखि भत्ता बुझ्दै आएका छन्।

सिलुवास्थित बैछापका ६८ वर्षीय सुरबहादुर सोमै बैसाखीको सहारामा तानसेन आएका छन्। गत वर्षको असोजमा घाँस काट्दा रूखबाट लडेर देब्रे खुट्टाको घुँडा भाँचिएको छ। खेत बेचेको र ऋण खोजेको पैसाले उपचार गरेको हो। ७० हजार खर्च लागेको उनले सुनाए। वृद्धभत्ता बुझ्ने तयारी गरिरहेका उनले भने, ‘भत्ता पाएपछि घरलाई खान पुग्छ। यताउताबाट भएको आम्दानीले ऋण तिर्न पाइन्छ कि भन्ने आशा छ।

राष्ट्रिय परिचयपत्र बनाउन यति धेरै टाढा आउनु पर्दा आफूले निकै सास्ती खेप्नुपरेको सुरबहादुरले गुनासो पोखे। 

सिलुवाकै मनहरीकी ६१ वर्षीया तिलिसरा रानाले विगत ३ वर्षदेखि विधवा भत्ता बुझ्दै आएकी छन्। भत्ता बुझ्न टाढा जानुपर्छ। अहिले त त्यही भत्ता पाउन पनि राष्ट्रिय परिचयपत्र चाहिन्छ भनेका छन्। त्यसैले आफू पनि राष्ट्रिय परिचयपत्र बनाउन यहाँ आएको उनले सुनाइन्। नसक्ने ज्येष्ठ नागरिकलाई घर वा टोलमा पुगेर राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गरे सहज हुने उनले सुनाइन्। 

अहिलेसम्म नागरिकता देखाएपछि भत्ता पाइन्थ्यो। फेरि अर्को कागज बनाउनुपर्छ भनेर दुःख दिइयो। अशक्तलाई यसरी दुःख दिनु हुँदैन। वडा कार्यालयतिरै पाउने व्यवस्था मिलाइदिए आफूहरूलाई राहत मिल्ने ७५ वर्षीय नरबहादुर चिदीले बताए।

गाउँका १० जनाभन्दा बढी ज्येष्ठ नागरिक मिलेर गाडी रिजर्भ गरेर राष्ट्रिय परिचयपत्र बनाउन तानसेन आएका हुन्। एकजनाले १ हजारभन्दा बढी भाडा तिर्नुपरेको ज्येष्ठ नागरिक धनवीर थापाले सुनाए। होटलमा खान पैसा पुग्दैन भनेर बिहान ६ बजे घरमै भात खाएर हिँडेका हौँ। घरमा पुग्दा राति १० बज्ने उनले सुनाए। गाडीबाट झरेपछि घरसम्म केही समय पैदल जानुपर्ने उनीहरूको बाध्यता छ।

अहिले यसरी राष्ट्रिय परिचयपत्र बनाउने ज्येष्ठ नागरिकको प्रशासन कार्यालयमा दैनिक भीड लाग्ने गरेको छ। 

गलत सूचनाले दुःख पाए

आगामी साउन महिनादेखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य भन्ने सूचनाले गर्दा ज्येष्ठ नागरिकले दुःख पाए। माघ महिनादेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। जनप्रतिनिधि र गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी नै मितिमा स्पष्ट नभएपछि सर्वसाधारणले दुःख पाएका हुन्। ज्येष्ठ नागरिक समूह मिलेर गाडी रिजर्भ गरेर जिल्ला प्रशासन कार्यालय आउन थालेका छन्। समयमै राष्ट्रिय परिचयपत्र बनेन भने भत्ता पाइँदैन भन्ने हल्लाले उनीहरू असार लागेदेखि राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा धाउन थालेका हुन्।

सामाजिक सुरक्षाभत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य

पाल्पामा पनि सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। आगामी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाकी सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन्।

गलत सूचना प्रवाह भएकाले ज्येष्ठ नागरिक अहिले नै राष्ट्रिय परिचयपत्र बनाउन आएको उनले बताइन्।

९० वर्षदेखि माथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन। अन्य ज्येष्ठ नागरिकलाई पनि यहाँ लाइनमा बस्नुपर्ने अवस्था छैन। छिटो, छरितो र सहज रूपमा कार्यालयबाट राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने काम भएको उनले बताइन्।

यसअघि नै जिल्लाका सबै वडामा टोली पुगेर राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएको छ। अधिकांश ज्येष्ठ नागरिकको पनि विवरण संकलन गरिएको थियो तर त्यसरी संकलन गरिएका कसैले पनि राष्ट्रिय परिचयपत्र तथा राष्ट्रिय परिचयपत्र नम्बर पाएका छैनन्। राष्ट्रिय परिचयपत्रको विवरण तथा नम्बर सम्बन्धित वडामा पुगेर पनि हेर्न पाइनेछ।

यसका लागि सम्बन्धित वडा कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताइन्। यदि वडाबाट पनि हेर्न नसकिएको अवस्थामा सबै नागरिकहरूसँग कागजपत्र संकलन गरी एकमुष्ट प्रशासन कार्यालयमा पठाउन भनिएको छ। कागजपत्र हराएको भए प्रशासन कार्यालयमा खबर गर्न सुझाएका छौं। यसरी काम गर्दा ज्येष्ठ नागरिकलाई अनावश्यक दुःख नहुने रानाले बताइन्।

सम्बन्धित निकायलाई सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ तर अधिकांश ज्येष्ठ नागरिकको नम्बर कायम भएको पाइँदैन।

नागरिकताले थपिएको अर्को दुःख

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहज छैन। उनीहरूले सबैभन्दा पहिला नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्था छ। हुनत नागरिकता देखाएर यसअघि भत्ता खाइसकेका छन् तर राष्ट्रिय परिचयपत्र बनाउन त्यो नागरिकताले काम गर्दैन। अर्को नयाँ नागरिकता लिनुपर्छ। तत्कालीन नेकपा माओवादीको सशस्त्र जनयुद्धकालमा पाल्पा दरबार र प्रशासन कार्यालय ध्वस्त बनेको थियो। सोही आक्रमणका वेला यहाँ रहेका सम्पूर्ण कागजपत्र जलेर नष्ट भए।

२०६२ माघ १८ गते आक्रमण गरेको थियो। त्यसभन्दा पहिलाको कुनै पनि रेकर्ड छैन। त्यसैले नयाँ नागरिकता अनिवार्य लिनुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन्। नयाँ नागरिकतालाई आवश्यक सबै कागजपत्र वडा कार्यालयबाट ल्याउनुपर्छ। नागरिकता प्राप्त गरेपछि राष्ट्रिय परिचयपत्र उपलब्ध हुने उनले बताइन्।

आवश्यक कागजपत्र मिलेन भने नागरिकता पाउँदैनन्। नयाँ बनेको नागरिकताका पछाडि पुरानो नागरिकता नम्बर पनि राखिएको हुन्छ तर नयाँ नागरिकतामा नयाँ नम्बर कायम हुन्छ। पहिलोपटक नागरिकता लिने व्यक्तिले जस्तै कागजी प्रक्रिया ज्येष्ठ नागरिकले पनि पूरा गर्नुपर्छ। सनाखत गर्ने वंशजभित्रकै सदस्य उपस्थित हुनुपर्छ। आवश्यक प्रक्रिया नमिले उनीहरू वडामै फर्किएर जानुपर्छ। कागजपत्र मिलाएर फेरि जिल्ला प्रशासन कार्यालयमा प्रशासनमा आउनुपर्ने बाध्यता उनीहरूको छ।

ज्येष्ठ नागरिक लगायत सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई स्थानीयस्तरमै सेवा दिन मिल्ने गरी व्यवस्था मिलाउन ज्येष्ठ नागरिकको अनुरोध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.