|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका अविरल वर्षासँगै आएको बाढी र पहिरोले २४ घरपरिवार विस्थापित भएका छन्। मकालु गाउँपालिका–२ सागसेवा र मूलगाउँमा बाढीपहिरोले २४ घरपरिवार विस्थापित भएका छन्।

अविरल वर्षासँगै आएको बाढीपहिरोले मकालु–२ सागसेवा र मूलगाउँमा बाढीपहिरोले २४ घरपरिवार विस्थापित भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।

पहिरोको उच्च जोखिममा परेका २४ परिवार अहिले छिमेकी र आफन्तको घरमा सुरक्षित रूपले सारिएको प्रजिअ खड्काले बताए। बाढीपहिरोले मानवीय क्षति भने भएको छैन। बाढी पहिरोबाट के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको उनको भनाइ छ। एक सातादेखि लगातार परेको वर्षाले मकालु गाउँपालिका र भोटखोला गाउँपालिका जोड्ने पक्की पुल बगाएको छ।

बाढीले कटान गरेपछि अरुण नदीको पक्की पुल जोखिममा

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकमा पर्ने अरुण नदीको पक्की पुल बाढीले कटान गरेपछि जोखिममा परेको छ। खाँदबारी किमाथाङ्का सडकमा पर्ने मकालु गाउँपालिका–५ र ३ जोड्ने अरुण नदीको पक्की पुल उच्च जोखिममा परेको हो।

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकमा पर्ने अरुण नदीको पक्की पुल बाढीले कटान गरेपछि जोखिममा परेको उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले जानकारी दिए। नदीमा आएको बाढीको पानीले पुल क्षेत्र आसपास कटान गर्दा जोखिममा परेको हो।

निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलबाट निस्कने छड्के पानीको कटान र पानीको सहत बढेपछि अरुण नदीको पक्की पुल जोखिममा परेको आयोजनाका प्रमुख कोइरालाले बताए। अरुण तेस्रोको डाइभर्सन टनेलबाट निस्कने पानी पुलको जगतर्फ गएको कारण कटान हुनका साथै पुल जोखिममा परेको उनको भनाइ छ।

त्यसैगरी बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडकमा पर्ने मकालु गाउँपलिका–३ मा रहेको एकुवा खोलामा रहेको मोटरेबल पुल पहिरोले लगेको सडक आयोजनाका प्रमुख कोइरालाले बताए। अति दुर्गममा रहेकाले वर्षातमा बढी पानी पर्ने र बाढीपहिरो जाने भएकाले धेरै समस्या छ।

भारी वर्षाका कारण कमजोर भूगोल हुँदा बढी क्षति बेहोर्नु परेको उनको भनाइ छ। २०७९ सालमा निर्माण सम्पन्न २० मिटर लामो पुल पहिरोले लगेको हो। करिब ४ करोडको लागतमा निर्माण गरिएको पुलमा क्षति पुर्‍याएपछि सडक समेत अवरुद्ध भएको छ।

पुलमा क्षति पुगेपछि जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला जाने सडक अवरुद्ध भएको छ। पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.