|

काठमाडौं : नेपालमा बसेको विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठकले आगामी सन् २०२५ देखि ०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकहरूका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ।

बैठकले ती (आईडीए) मुलुकहरूका लागि तीन वर्षे रणनीतिको खाका तयार पारेको हो । बैठकमा तीन दिनसम्म चलेको प्राविधिक सत्र (बन्दसत्र) मा आईडीए देशहरूको वित्तीय परिदृश्य (फाइनान्सियल सिनारिओ) सम्बन्धमा गहन छलफल गरिएको थियो ।

यस्तै बन्दसत्रमा आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिको ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीहरुबीच गहन छलफल भएको थियो ।

बैठकले विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आईडीए मुलुकहरूका विकासको आकांक्षा सम्बोधन गर्न ऐतिहासिक रुपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको निष्कर्ष निकालेको छ । बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समिति संयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित मुलुकका लागि बैठकका उपलब्धि ऐतिहासिक हुने बताए।

‘पहिला आईडीएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो’, उनले भने, ‘अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ ।’ बैठकले आईडीए मुलुकका जनताका लागि विद्युत र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ ।

यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर वृद्धिमा जोड दिने रणनीति आईडीएले अघि सारेको उनले बताए । आईडीएले समावेशी विकासको नीतिमा जोड दिँदै लैङ्गिक विभेद अन्त्य तथा महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न थप कार्यक्रम एवं रणनीति बनाउनेछ।

महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आईडीएको निष्कर्ष छ । विश्व बैंकको आगामी अक्टुबरमा हुने बैठकमा आईडीएका निस्कर्षहरुबारे थप छलफल हुनेछ भने आगामी मंसिर २५ र २६ गते (डिसेम्बर १०–११) मा दक्षिण कोरियामा हुने आइडीए २१ को अन्तिम बैठकले तीन वर्षे रणनीति कार्यान्वयनमा लैजाने औपचारिक निर्णय गर्नेछ ।

राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । शुक्रबार अर्थमन्त्री वर्षमान पुन अनन्तले बैठक समापन गरे । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो ।

बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्धनिर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरु सहभागी थिए । यस्तै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकका लागि आएका थिए । बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो ।

विश्व बैंकले सन् १९६० मा स्थापना गरेको आईडीए विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी निकाय हो । यसले विकासमा पछि परेका तथा न्यून आय भएका गरिब मुलुकका लागि सहुलियतपूर्ण ऋण, अनुदान तथा बहुपक्षीय सहायता उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.