काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट ल्याएको बताएका छन्।
शनिवार काठमाडौँमा नेकपा (माओवादी केन्द्र) अछाम—काठमाडौँ सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री पुनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताए।
उनले भने, ‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी बजेट ल्याएका छौँ। अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा निर्देशन भए अनुसार कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमूलक क्षेत्रहरु नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्र हुन सक्छन् भनेर प्राथमिकता दिइएको छ।'
उनले बजेटमा सात प्रदेशका सातवटा विशेषता छुट्याएको बताए। उनले सुदूरपश्चिमलाई पर्यटकीय हबका रुपमा विकास गर्नेगरी बजेट विनियोजन गरिएको बताए।
उनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको पनि बताए। मानिस धनी हुने मात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादनकेन्द्रित बजेट ल्याएको उनको जिकिर छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।