|

रियाद : यो वर्ष हजयात्रा गर्न गएका एक हजार १०० भन्दा बढी मुस्लिमको ज्यान गएको छ। मुस्लिम धर्मावलम्बी हज गर्न मक्का र मदिना जाने गरेका छन्।

मर्नेको संख्या बढ्दै गएपछि साउदी अरेबियामा कमजोर व्यवस्थापन, चर्को गर्मी वा हाजीको ठूलो भीड कुन जिम्मेवार भन्ने प्रश्न उठेको छ। साउदी अरेबियामा सामाजिक सञ्जालमा हाजीहरू सडकको छेउमा बेहोस भएका वा मृत अवस्थामा लडिरहेका तस्वीर र भिडियो शेयर भइरहेका छन्। कैयौँलाई त त्यत्तिकै अलपत्र छोडेको देखिन्छ।

मुस्लिमहरूको पवित्र शहर मक्कामा हजको समयमा तापक्रम ५१.८ डिग्री सेल्सियस पुगेको छ। यो चरम गर्मीमा बस्ने ठाउँ र पानीको अभावले हाजीको ज्यान गयो। यो वर्ष विश्वभरबाट करिब १८ लाख मुस्लिम हज गर्न साउदी अरब आएका थिए। साउदी अरबको स्वास्थ्य मन्त्रालयले मृत्युको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन।

विभिन्न रिपोर्टका अनुसार मृत्यु हुनेको संख्या ११ सय नाघेको छ। इजिप्ट, इण्डोनेसिया,सेनेगल, जोर्डन, इरान, इराक, भारत र ट्युनिसियाका हाजीको ठूलो संख्यामा मृत्यु भएको छ। इजिप्टका ६५८‚ इण्डोनेसियाका २००, भारतका ९८ र पाकिस्तानका ३५ हाजीले ज्यान गुमाएका छन्।

यसरी मरेका अधिकांश हाजीलाई मदिनामा रहेको ‘जन्नत-उल-बकी’ नामक चिहानघारीमा गाडिन्छ। इस्लाम धर्ममा यहाँ लास गाडिन पाउनु ठूलो भाग्यमानीले मात्रै पाउँछन्। यसैले हाजी र उनका परिवारले मक्का मदिना पुगेका वेला मृत्यु भएमा उतै लास व्यवस्थापन होस् भन्ने चाहन्छन्। उनीहरू हज गर्न जाँदा लगेको सेतो कपडामा राखेर उनीहरूलाई गाडिन्छ।

साउदीको प्रयास असफल

साउदी अधिकारीहरूले पानी छर्केर गर्मीको प्रभाव कम गर्न उपाय गरे तर ती पर्याप्त भएनन् र धेरैजसो मृत्यु गर्मीको कारण भएको थियो। मक्का पुगेका तर अहिले बेपत्ता भएका धेरैको खोजी जारी रहेकाले आगामी दिनमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ।

साउदीमा मात्रै नभई ज्यान गुमाएका हाजीहरूका देशमा पनि यसमा जिम्मेवार को हो भन्ने बहस चलिरहेको छ। हज गर्न जान साउदी अरबबाट आधिकारिक अनुमति चाहिन्छ। त्यहाँ धेरै मुस्लिमहरू हज गर्न आउन चाहन्छन् र सबैलाई आउन दिन सम्भव छैन। त्यसैले साउदी अरबले प्रत्येक वर्ष कोटा तोक्छ।

सामान्यतया ट्राभल एजेन्सीहरूले साउदी अरेबियामा हाजीलाई सहयोग प्रदान गर्छन्, यो वर्ष धेरै हाजीले आफ्नो देशका अधिकारीहरूले आवास र खानाको लागि पर्याप्त व्यवस्था नगरेको आरोप लगाएका छन्। अर्कोतर्फ एक पक्षले दर्ता नगरी मक्का पुगेकाले यस्तो घटना भएको बताएका छन्। त्यस्ता तीर्थयात्रीले वातानुकूलित, पानी, त्रिपाल र अन्य सुविधा पाउन सकेनन्।

वर्षौंदेखि इजिप्टका हाजीलाई मक्का ल्याइरहेको ​साउदी अरबस्थित इजिप्टको टुर कम्पनीका प्रबन्धकले नाम नछाप्ने शर्तमा यो वर्ष तापक्रम निकै बढेको र सर्वसाधारणले नियम पालना नगरेको बताए। हाजीले गर्मी कति खतरनाक हुन सक्छ भन्ने बुझ्न सकेनन्‚ उनीहरूले आफूले मनलाग्दी गरेको बताए ।

उनले भने, 'यसले पहिलेदेखि नै खराब रहेको व्यवस्था झन् खराब बनायो। हाजीले गर्मीको ख्याल गरिरहेका थिएनन् तर सबैका लागि पर्याप्त त्रिपाल थिएनन् भन्ने कुरालाई बेवास्ता गर्न सकिँदैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.