|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ।

जिल्ला ब्याडमिन्टन संघ संखुवासभाको आयोजनामा असार ६ गतेदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको थियो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रदेशस्तरीय खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता गरिएको हो।

प्रदेशस्तरीय मेन्स डबल ब्याडमिन्टनतर्फको उपाधि संखुवासभाका सुनिल कार्की र मोरङका मनीष खड्काको जोडीले जित हासिल गरेको छ।  खाँदबारी नगरपालिका–१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डो स्टेडियममा आज भएको फाइनल खेलमा सुनिल र मनीषको जोडीले भोजपुरका निश्चल खत्री र संखुवासभाका प्रवीण लिङ्थेपलाई सोझो सेटमा पराजित गर्दै विजयी भयो।

प्रतियोगिताको प्रथम हुने सुनिल र मनीषको जोडीले नगद ६० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता भोजपुरका निश्चल खत्री र संखुवासभाका प्रवीण लिङ्थेपले नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।

त्यसैगरी सय माथिको भेट्रान्सतर्फ विराटनगरका जीवनकुमार बोगटी र सुनसरीका श्रवण चौधरीको जोडी प्रथम भएको छ। पाँचथरका रामराज आङ्दामे र काठमाडौँका सञ्जय कपालीको जोडी दोस्रो भएको छ। नेपालगञ्जका हरि खत्री र अनिल लाखे र काठमाडौँका इन्द्र महत र सुनसरीका देव तामाङको दुई टिम तेस्रो भएका छन्। भेट्रान्सतर्फ नगद रु. ५० हजार, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु. ३० हजार, मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु. सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला ब्याडमिन्टन संघ संखुवासभाका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।

जिल्लास्तरीय मेन्स डबलतर्फ तुम्लिङटारका अनमोल बुर्जा र सफल श्रेष्ठ प्रथम भएका छन्। खाँदबारीका लेखनाथ श्रेष्ठ र नरेन्द्र तामाङ दोस्रो भएका छन्। मानेभञ्याङका साहिद श्रेष्ठ र सन्दीपभगत श्रेष्ठ र खाँदबारीका सुमन गौतम र सविन तामाङको दुई जोडी तेस्रो भएका छन्।

प्रतियोगितामा भारतको कोलकाता, ग्यान्टोक, सिक्किम, दार्जीलिङ सहित नेपालका ९२ टिमको सहभागिता रहेको ब्याडमिन्टन संघ संखुवासभाका अध्यक्ष श्रेष्ठले बताए। संखुवासभामा पहिलोपटक प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.