काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नेपालीलाई टुलुटुल हेरेर नबस्ने बताएका छन्।
आइतवार प्रतिनिधिसभा बैठकमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताएका हुन्।
उनले ठगिएका नेपालीहरुको सम्बन्धमा आफूले काम गरिरहेको दावी गरे। उनले फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको बताए।
उनले फ्रि भिसा फ्रि टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएको दावी गरे।
‘९६ प्रतिशत नेपालीहरु जो विदेश जानुभएको छ, उहाँहरु ठगिएको विषय म टुलुटुलु हेरेर बस्न सक्दिनँ। त्यसको विषयमा काम गरिररहेको म जानकारी गराउन चाहन्छु‚’ उनले भने‚ ‘हामीले बैंकिङ च्यानलबाट कारोबार गराउन उच्चतम प्रयास गरिरहेका छौँ। त्यसो भयो भने नेपालीहरु ठगिनबाट बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ।’
उनले हरेक वर्ष करिब १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानलबाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपालीहरु ठगिइरहेका बताए। उनले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउन भरमग्दुर प्रयास गरिरहेको बताए।
‘फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको छ। करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ‚’ उनले भने‚ ‘जुन त्यही नेपालीबाट ठगिएको रकम देखिएको छ। त्यसकारण यसको अन्त्य गर्नु नै पर्छ। अहिले पनि फ्रि टिकट फ्रि भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको डाटा हामीले पाएका छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।