|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्रति विद्यार्थीहरूले बढी गुनासो र आक्रोश पोख्नुको एउटा कारण हो- समयमा नतिजा प्रकाशन नगर्नु। परीक्षा लिएको एक वर्ष बितिसक्दा पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले नतिजा प्रकाशन गर्न नसक्दा सधैँ आलोचित भइरहन्छ त्रिवि।

समयमा नतिजा नपाएपछि उनीहरूले यसअघि धेरै पटक विरोध प्रदर्शनसमेत गरिसके। त्रिविले परीक्षा लिएको ३ महिनादेखि ४ महिनाभित्र नतिजा प्रकाशन गर्ने योजना नल्याएको भने होइन। शैक्षिक क्यालेन्डरमै समेट्छ।

त्रिविले गत जेठमै परीक्षा लिएको ३ देखि ४ महिनाभित्रमा नतिजा प्रकाशन गर्नेगरि शैक्षिक क्यालेन्डर नै सार्वजनिक गरेको छ तर लागू भने गर्न सक्दैन। जसकारण पनि विद्यार्थीहरूले नेपालमै पढ्न इच्छा देखाइरहेको पाइँदैन। 

हिजो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले फेरि त्रिविले परीक्षा लिएको ३ महिनाभित्र नतिजा प्रकाशन हुने दावी गरेकी छिन्।

हिजो (आइतवार) प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेका विषयको जवाफ दिँदै उनले भनिन्, ‘त्रिविको जाँच धेरै खप्टिएको एक दुईवटा फेकल्टीको मात्रै बाँकी छ। अहिले त्रिविमा केन्द्रीकृत उत्तरपुस्तिका जाँच्ने प्रणाली छ, त्यसलाई विकेन्द्रीकरण गरेर अगाडि बढ्नु भएको छ र परीक्षा लिएको ३ महिनामा नतिजा दिने प्रतिबद्धता पनि दिनुभएको छ, यसले अबदेखि शैक्षिक क्यालेन्डर पनि म्यानेज हुनेछ, तालाबन्दी नगर्ने सहमति पनि भएको छ।’

तर कतिपयले शिक्षामन्त्रीको उक्त दावीमा विश्वास गरेका छैनन्। यता, त्रिविले भने शिक्षामन्त्रीले भनेअनुसार नै अबदेखि ४ महिनाभित्रमा नतिजा प्रकाशन गर्न सकिने प्रतिबद्धता जनाएको छ। 

‘हामीले क्षेत्रीय कार्यालयलाई एक्टिभ बनाएका छौँ’

त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले पनिकासँगै त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई एक्टिभ गराएकाले अबदेखि ४ महिनाभित्रै नतिजा प्रकाशन गर्न सकिने बताए।

उनले भने, ‘अबदेखि पहिला जस्तो हुँदैन, ४ महिनाभित्र नतिजा प्रकाशन गर्न बल्खुका कर्मचारी, सबै क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरूलाई एक्टिभ बनाएको छौँ। अब ३ महिनाभित्र नभए ४ महिनाभित्रमा भने नतिजा प्रकाशन हुन्छ, हामी त्यहीअनुसार लागि परेका छौँ, आवश्यक सबै प्रकृया मिलाइसकेका छौँ।’ 

शिक्षामन्त्री श्रेष्ठका अनुसार उत्तरपुस्तिका परीक्षण कामलाई विकेन्द्रीकरण गरिएको छ। त्यसआधारमा पनि ४ महिनाभित्र नतिजा प्रकाशन हुने र गर्न सकिने उनीहरूको दावी छ।

बाँकी नतिजा एक महिनाभित्र

त्रिविका रजिष्ट्रार प्राडा रिजालले बाँकी नतिजा एक महिनाभित्र प्रकाशित गरिसक्ने दावी गरे।

उनले भने, ‘हामीले यसअघिदेखि नै सेमेष्टर प्रणालीको नतिजा ४ महिनाभित्रै प्रकाशन गर्दै आएका छौँ, बाँकी रहेको नतिजा प्रकाशनको काम ८० प्रतिशत सकिइसकेको छ। अब ५/६ वटा परीक्षाको नतिजा प्रकाशित गर्न बाँकी छ, यो एक महिनाभित्र प्रकाशन हुन्छ र त्यसपछि अर्थात् आगामी भदौबाट स्नातक, स्नातकोत्तरको पनि ४ महिनाभित्रै नतिजा प्रकाशन हुन्छ।’ 

देशकै जेठो विश्वविद्यालय त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति पाइसकेको छ। सरकारले योग्यताकै आधारमा नियुक्ति गरेको हो तर पनि हालसम्म भने अपेक्षित काम हुन सकेको छैन।

त्रिविमा अनेकौँ बेथिति अझै ज्युँका त्युँ छन्। सुधारका निम्ति विभिन्न आन्दोलन भए‚ कार्यालयमा ताला लाग्यो तर पनि राज्यले त्रिवि व्यवस्थित गर्न सकेको छैन।

बारम्बार कहिले प्रश्नपत्र दोहोरिने त कहिले प्रश्नपत्र बाहिरिने लापरबाही बढिरहेको छ।

२०७९ जेठ १८ गते (त्रिवि) को मानविकी संकायले स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्रअन्तर्गतको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको भन्दै विवाद उत्पन्न भयो।

त्यसपछि पनि अन्य प्रश्नसँग हुबहु मिलेको तथ्य बाहिरिइरहेको छ। त्यसैले पनि त्रिविको विश्वसनीयता घट्दै गइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.