|

काठमाडौँ : नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहालगायत तराई-मधेशका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको सोमवारको बैठकमा आकस्मिक समयमा उनले यस्तो बताएकी हुन्। उनले ३ महिनाभित्र शृंखलाबद्ध रुपमा भएको एक दर्जनभन्दा बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताइन्। 

उनले गाउँ गाउँमा आपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै डरले सर्वसाधारण गाउँमा बस्न सक्ने अवस्था नरहेको बताइन्। 

उनले सर्वसाधारण अनिँदो रही घरेलु हतियार लिएर रातभर जाग्राम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने माग गरे।

‘सिरहालगायत तराई-मधेशका अन्य जिल्लाहरुमा अहिले शान्ति सुरक्षाको अवस्था हदैसम्म बिग्रिएको छ। ३ महिनाभित्र श्रृंखलाबद्ध रुपमा भएका एक दर्जन जति चोरी डकैतीका घटनाले समाजको मनोविज्ञानमा डर र त्रास पैदा गरेको छ। एकातिर श्रृंखलाबद्ध चोरी र डकैतीको घटना भइरहेको छ‚’ उनले भनिन्, ‘अर्कातिर गाउँ गाउँमा आपराधिक समूहले यति दिनभित्र यो गाउँ लुट्छौँ, यति दिनभित्र यो गाउँ चोरी गर्छौं भनेर पोस्टर र पम्प्लेट टाँसेको अवस्था छ। सुन्दा यो अपत्यारिलो छ तर सत्य कुरा यही हो।’

सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.