काठमाडौँ : डेंगु संक्रमणसँगै यतिखेर स्क्रब टाइफस संक्रमणको पनि जोखिम बढ्दै गएको छ।
वर्षात र खेतीपातीको समय भएकाले धेरै मानिसहरू खेतवारीमा समय बिताउने हुँदा स्क्रब टाइफसको जोखिम बढ्दै गएको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का प्रमुख डा यदुचन्द्र घिमिरेले बताए।
‘डेंगु संक्रमणजस्तै उच्च जोखिम नभए पनि अहिले स्क्रब टाइफसका संक्रमितको पनि रिपोर्ट हुन थालेको छ’, निर्देशक घिमिरेले भने। अघिल्लो वर्ष देशभर ३७ सय जना स्क्रब टाइफसका बिरामी भेटिएका थिए। इडिसिडीका अनुसार २०७५ सालमा चारजनाको स्क्रब टाइफस संक्रमणबाटै मृत्यु भएको थियो।
२०७६ मा स्क्रब टाइफसका कारण तीनजनाको मृत्यु भएको थियो। २०७८ सालमा पनि स्क्रब टाइफस पुष्टि भएका १६ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्ष चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको थियो।
यो वर्ष पनि स्क्रब टाइफसका संक्रमितहरू रिपोर्ट हुन थालेको इडिसिडीका किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले बताए। डा दाहालले भने ‘स्क्रब टाइफसका संक्रमितहरू पनि विस्तारै रिपोर्ट हुन थालेको छ, त्यसैले खेतबारी तथा घर वरपर काम गर्दा ध्यानु पर्ने अवस्था छ।’
के हो स्क्रब टाइफस?
डा. दाहालका अनुसार सङ्क्रमित सूक्ष्म कीट माइटको टोकाइबाट जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ।
प्रायः यस्ता कीरा खेतबारी, झाडी, घाँसआदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा भेटिने गर्छ। जसले गर्दा प्रायः खेतबारीमा काम गर्ने किसानमा स्क्रब टाइफस भएको पाइन्छ। सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको कानमा बस्ने गर्छ।
‘बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा रिकेटसिया सुसुगामुसी’जीवाणु भेटिने र यस्ता ठाउँमा काम गर्ने व्यक्तिलाई टोकेपछि यो संक्रमण हुने गर्छ’‚ डा. दाहालले भने।
यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमण भएपछि घाँटी वरिपरिका ग्रन्थी सुन्निएर गिर्खा आउँछ। यस्ता लक्षण देखा परेको पाँचौँ दिनदेखि सातौँ दिनमा घाँटी वरिपरि रातो बिमिरा देखिन्छ। बिमिरा बिस्तारै पेट, हात, गोडा तथा अनुहारमा फैलिन्छ।
समयमै यसको पहिचान गरेर उपचार नगरे शरीरका महत्त्वपूर्ण अंगमा असर गरेर मानिसको मृत्यु हुन्छ। विशेषगरी सास फेर्न गाह्रो हुने, मृगौलाले काम गर्न छाड्ने र अन्त्यमा दिमागमा समेत असर गरेर बिरामीको मृत्यु हुन सक्छ। कसैमा माथिका लक्षण देखापरे तुरुन्तै उपचार गराइहाल्नु पर्छ। विशेषगरी रगतमा एन्टिजेन जाँच गरेपछि यो रोग लागे/नलागेको पत्ता लगाउन सकिन्छ।
‘स्क्रब टाइफस यस्तो संक्रमण हो जुन पहिचान भएपछि चाँडै सञ्चो हुन्छ किनभने यसको उपचारमा एन्टिबायोटिक्सको प्रयोग गरिन्छ र यसले यो संक्रमणलाई छिटो र सजिलै ठिक गराउँछ’‚ डा. दाहालले भने।
बच्न के गर्ने?
मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो। संक्रमण भएको आशंका लागेमा समयमै परीक्षण गराउनुपर्छ। यस्तै खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ।
खुला चौरमा सुत्नु हुँदैन स्क्रब टाइफस भए नभएको पहिचान बिरामीमा देखिएको लक्षण, सूक्ष्म कीटले टोकेको चिनोबाट हुने गर्दछ। यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ।
रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट गरेपछि यसको पहिचान हुने उनले बताए। यस्तै खेतबारीमा काम गर्न जाँदा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा लगाउने र सम्भव भएसम्म जुत्ता लगाउनुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।