|

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीसम्बन्धी अछाम घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा अछामको छाउपडी गोठमा घटेको घटनाका सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले पीडित र पीडक पक्ष दुवैको बयान अनुसार घटनामा एकजनाको मात्र संलग्नता रहेको खुल्न आएको जानकारी दिए।

यही असार ४ गतेका दिन बिहान ९ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने १६ वर्षीया बालिका छाउगोठ नजिकै बेहोस अवस्थामा फेला परेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन अछाममा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। 

“सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमान्डमा अनुसन्धानमा सहयोग गर्न प्रहरी टोली परिचालन गरिएको छ”, उनले भने, “उक्त टोलीले आफ्नो अनुसन्धान पूरा गरी प्रतिवेदनसमेत जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।” 

उनले मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको बताए।

अनुसन्धानका क्रममा यही असार ४ गते बिहान २ बजेको समयमा बालिकामाथि जबर्जस्ती करणी भएको, पीडितको बुबा वैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेको र आमाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र पीडक नातामा मामा रहेको र पीडक १३ वर्ष चार महिनाको नाबालक भएको खुल्न आएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.