|

काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथा अन्त्यका लागि समिति गठन गरेको बताएका छन्।

सोमवारको राष्ट्रियसभा बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाबारे जानकारी गराउँदै उनले यस्तो बताएका हुन्। उनले छाउपडी प्रथा अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरुसँग सल्लाह लिइ समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने बताए। 

गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका-२ बस्ने १६ वर्षकी किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे संसदमा जानकारी गराउँदै उनले आगामी दिनमा यस किसिमका घटना हुन नदिन कानूनी, नीतिगत, सामाजिक, अभियानका रुपमा यसलाई नियमन गर्न, नियन्त्रण गर्न र यो प्रथा अन्त्य गर्नेतर्फ कदम चाल्न समिति निर्माण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णय गर्ने तथा विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए।

उनले अछाममा छाउगोठमा बसेकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र बलात्कारीको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए।

‘कानूनी प्रतिबन्धले मात्रै छाउपडी प्रथा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको हुँदा समुदायलाई साथमा लिइ प्रशासन, स्थानीय सरकार, नागरिक समाज, धार्मिक, सांस्कृतिक संस्थाहरु र आम सञ्चारमाध्यम लगायतको बहुपक्षीय प्रयास आवश्यक छ‚’ उनले भने, ‘महिला तथा बालबालिकाकाविरुद्ध हुने कुनै पनि हिंसा र अपराधका घटनामा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यान्वयनका लागि गृह मन्त्रालय र मातहतका प्रशानस थप संवेदनशील र सचेत रहेको कुरा सम्मानित सदनलाई जानकारी गराउँछु।’

उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडीको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कामको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.