काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनले पार्टीमा तरंग ल्याएको छ।
गत आमनिर्वाचनबाट संसद्को चौथो राष्ट्रिय दलका रुपमा उदाएको रास्वपालाई कतिपयले ‘खहरे’को संज्ञा दिने गरेका बेला महामन्त्री स्वयंले नै पार्टी यही बाटोमा रहेको औंल्याएका छन्। त
महामन्त्री ढकालले पार्टी दुर्घटना उन्मुख रहेको निष्कर्षसहितको उक्त प्रतिवेदन बुधबार नै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्। उनको प्रतिवेदनमा छलफल गर्न रास्वपाले केन्द्रीय कमिटीको बैठक नै बोलाएको छ। तर, उनको यो निष्कर्षप्रति रास्वपाका सबै नेताहरू सहमत भने छैनन्। रास्वपा सहमहामन्त्री एवं पाँचौं वरियताका नेता कविन्द्र बुर्लाकोटी महामन्त्री ढकालको प्रतिवेदनप्रति सहमत देखिँदैनन्।
पार्टी बिग्रेको वा गलत दिशामा अघि बढेको हो भने जवाफदेही हुनुपर्ने, यसरी जाऔंँ भनेर प्रस्ताव ल्याउनुपर्ने व्यक्तिले समस्या मात्रै देखेको भन्दै महामन्त्री ढकालप्रति उनले असन्तुष्टि पोखे। अन्य पदाधिकारी तथा सदस्यहरूले कहिल्यै असहयोग नगरेको बुर्लाकोटीको जिकिर छ।
‘बिग्रेको हो भने उहाँले जवाफ पो दिनुपर्यो। बैठकमा एजेन्डा ल्याउनुपर्यो, छलफल–बहस गर्नु/गराउनुपर्यो, पास गर्नुपर्यो अनि पार्टी अघि बढिहाल्छ नि !’, उनी भन्छन्, ‘घरमा बिरामी छ भनेर मात्र भएन, उपचारमा लाग्नुपर्यो। त्यो जिम्मेवारी नेतृत्वकै हो नि, हामी त साथमै छौं। आजसम्म सभापतिले महामन्त्रीले जे जेसो गर्दै आउनुभयो त्यसमा काँध थाप्दै आएको हो।’
सहमहामन्त्री बुर्लाकोटीले पार्टीको अवस्था ठिकठाक नै रहेको दाबीसमेत गरे। पार्टी सुधारका लागि आन्तरिक पहल लिनुपर्नेमा महामन्त्री ढकाल मिडियाबाजीमा गएको उनको टिप्पणी छ।
‘पार्टी त चलायमन नै छ। फरक ढंगले चलाउनुपर्ने हो भने महामन्त्रीले पार्टीमा प्रस्ताव ल्याउनुपर्ने हो’, उनले भने, ‘तर उहाँ यता नआई मिडियामा जानुभयो। फरक यति हो। पार्टी सही ठाउँमै छ।’
महामन्त्री ढकालले आफ्नो प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक हुनुपर्नेमा जोड दिइरहेका बेला सहमहामन्त्री बुर्लाकोटीले भने सभापतिले आवश्यक ठाने मात्रै सार्वजनिक हुने बताए। ‘हामीले सभापतिलाई पहिला तपाईँ अध्ययन गर्नुस्, त्यसपछि अवश्यक ठाने हामीलाई दिनुस्, होइन भने नदिनुस् भनेका छौं’, उनले भने, ‘मैले अध्ययन गरेँ तपाईँहरूले पर्दैन भन्नुभयो भने म त त्यसमा छिर्दिन।’
तर रास्वपा केन्द्रीय सदस्य गणेश कार्की महामन्त्री ढकालको प्रतिवेदनसँग सहमत देखिन्छन्। पार्टीको विधि, चरित्र र बाटोको बारेमा आफूले उठाउँदै आएको विषयमा आइपुगेको उनको निष्कर्ष छ।
नेता कार्कीले रास्वपाले बेलाबेला लिने नीति तथा कदमप्रति असहमति प्रकट गर्दै आएका छन्। तर पार्टीलाई गलत बाटोमा डोर्याउनमा स्वयं महामन्त्री ढकाल पनि जिम्मेवार रहेको उनले उल्लेख गरेका छन्।
‘फेसबुक जस्ता सामाजिक सञ्जालमा नै खुला बहस गर्ने सोचको पक्षपाती हुँ। हाम्रा महामन्त्रीले पनि सोही बमोजिम गर्नु भएकोमा दुःखी छैन म। रह्यो कुरा पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको, त्यसमा धेरै कुरामा सहमत छु। पार्टीको विधि, चरित्र र बाटोको बारेमा मैले उठाइरहेको विषयमा आइपुग्नुभएकोमा स्वागत छ।’, उनले लेखेका छन्, ‘सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुग्यो कसरी? पार्टीले आफ्नो चरित्र बिर्सिन उहाँ स्वयंको योगदान कति रह्यो? संगठन अस्थिर र जथाभावी कसले बनायो? आफ्नालाई अवसर दिन विधि मिचीमिची पार्टी कार्यालयमा नै आन्दोलनसमेत गर्न उक्सायो कसले? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न सुरू कसले गरायो? यी र यस्ता धेरै प्रश्नको सही जबाफ अब खोज्न ढिलो गर्न हुन्न।’
सांसदसमेत रहेका रास्वपाका अर्का केन्द्रीय सदस्य शीशिर खनालले पनि महामन्त्री ढकालको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन तथा छलफल हुने बताए। ‘स्वाभाविक रुपमा अहिले चारैतिर हामी कमजोर भयौँ कि भन्ने आवाजहरु हाम्रै पार्टी पंक्तिका साथीहरूले नभनेका कुरा चाहीँ होइनन्। महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो’, संसद् भवन परिसरमा पत्रकारहरूसँग उनले भने, ‘इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो। उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वाभाविक रुपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं।’
सकारात्मक रुपमा ग्रहण नगरे झन् ठूलो क्षति
रास्वपाको वर्तमान अवस्थालाई महामन्त्री ढकालको प्रतिवेदनले गहिराइमा गएर उजागर गरेको राजनीतिक विश्लेषकहरू ठान्छन्। अब यो प्रतिवेदन ग्रहण गराइले रास्वपाको भविष्यको थप चित्र देखिने उनीहरू बताउँछन्।
विश्लेषक श्याम श्रेष्ठ रास्वपाबारे महामन्त्री ढकालको प्रतिवेदन गलत नभएको बताउँछन्। अब यसलाई सकारात्मक रुपमा ग्रहण गर्न नसके रास्वपाले ठूलै क्षति बेहोर्नुपर्ने उनी औंल्याउँछन्।
‘महामन्त्रीको रिपार्ट निक्कै क्रिटिकल र साहसिक छ। रास्वपा सरकारमा गएकोले नोक्सान भएको महामन्त्रीको रिपोर्ट छ। यसै पनि नेपालमा सरकारमा गएपछि पोजेटिभ्ली नहेर्ने चलन व्यापक छ। जनमत घटेको भन्ने रिपोर्ट पनि गलत छैन’, उनले भने, ‘अब यसलाई रास्वपाले कसरी लिन्छ भन्ने प्रमुख कुरा हो। यो बनिसकेको नभई बनिरहेको पार्टी हो। त्यसकारण यसलाई कसरी हेर्छन् उनीहरूले भनेर लख काट्न सकिँदैन। तर यसलाई सकारात्मक रुपमा ग्रहण गरेन भने ठूलै क्षति बेहोर्नुपर्ने देखिन्छ।’
अर्का विश्लेषक कृष्ण पोखरेल पनि महामन्त्री ढकालको प्रतिवेदन आत्मसाथ गरेर रास्वपा अघि बढ्न सक्नुपर्ने बताउँछन्। महामन्त्रीले नै पार्टी गलत बाटोमा रहेको औंल्याइसकेपछि कमिकमजोरी सुधार गर्न सभापति रवि लामिछाने तयार हुनुपर्ने उनी बताउँछन्।
‘महामन्त्रीले नै अध्ययन गरेर दिएको प्रतिवेदेन असत्य मान्न सकिन्न। महामन्त्रीले नै त्यसो भनिसकेपछि एकप्रकारले चिरफार भएका कमजोरी सुधार गरेर अघि बढ्ने गरी नै यसलाई ग्रहण गर्नुपर्छ’, उनी भन्छन्, ‘तर सभापतिको प्रवृत्ति यस्ता कुरालाई सहज रुपमा ग्रहण गर्ने खालको देखिन्न। अहिलेसम्मको घटनाक्रम हेर्दाखेरी मेरै कारणले सबै थोक भएको हो भन्ने सोच उहाँमा देखिन्छ। तर महामन्त्रीले नै भनिसकेपछि ग्रहण गर्न जरुरी छ।’
गत ६ जेठदेखि ५ असारसम्म एकमहिना देशका ३८ जिल्लामा पुगेर महामन्त्री ढकालले दुई हजारभन्दा बढी नागरिकहरूसँग अन्तरक्रिया गरेका थिए। त्यसैका आधारमा तयार पारिएको उनको प्रतिवेदनमा पार्टीको अवस्था नाजुक रहेको औंल्याइएको छ।
पार्टीको पक्षमा जनमत नै नभएको, भएको जनमत पनि घट्दो क्रममा रहेको र अहिलेकै अवस्थामा चुनावमा जाने हो भने प्रत्यक्षमा एक÷दुई सिट जित्न पनि हम्मेहम्मे पर्ने महामन्त्री ढकालको प्रतिवेदनमा उल्लेख छ। यही हिसाबले अघि बढिरहे रास्वपा विवेकशील साझा पार्टीसरह हुने उनको विश्लेषण छ।
आफूहरूले वृद्ध र अक्षम भनिएकै नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पटक–पटक सत्तामा सहकार्य गर्नुलाई पार्टीको गलत कदमका रुपमा अर्थ्याएका छन्। बरु स्वतन्त्र रुपमा स्थानीय तहमा निर्वाचित प्रमुखहरू बालेन शाह (काठमाडौं महानगरपालिका), गोपी हमाल (धनगढी उपमहानगरपालिका) लगायतसँग सहकार्यको हात अघि बढाउनु पार्टीका लागि हितकर हुने बताएका छन्।
समीक्षा यात्राका क्रममा सबै जनता प्रदेशको विपक्षमा रहेको पाएको भन्दै महामन्त्री ढकालले पार्टी प्रदेश खारेजीको पक्षमा अडिग भएर उभिनुपर्ने बताएका छन्। उनका अनुसार प्रदेश संरचना नभई प्रशासनिक सुधार जनताको चाहना हो।
पार्टीबाट घोक्राएर निकालिन सक्ने विवेचना गर्दै महामन्त्री ढकालले पार्टीप्रतिको माया र चिन्ताले नै आफूले यथार्थ समस्याको कुरा प्रतिवेदनमा उठाएको बताएका छन्। यसमा जवाफ दिँदै केन्द्रीय सदस्य गणेश कार्कीले आलोचना गर्दा पार्टीबाट झोक्रर्याइँदैन भन्ने प्रमाण आफू भएका बताएका छन्।
‘पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर सकिँदैन। अनि, प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि झोक्रर्याइँदैन भन्ने सबुत प्रमाण म छु’, उनले भनेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।