बैतडी : प्रथम साहना प्रधान स्मृति यू-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली सेमिफाइनल प्रवेश गरेको छ। समूह ए बाट दोस्रो स्थानमा रहेको बागमती प्रदेश पनि सेमिफाइनलमा पुगेको छ।
सुदूरपश्चिम लगातार तेस्रो खेल जित्दै समूह ए को विजेता बनेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
समूह चरणको अन्तिम खेलमा बिहीवार सुदूरपश्चिमले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको सुदूरपश्चिम टिमका प्रशिक्षक दीपेन्द्र भट्टले बताए।
काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा सुदूरपश्चिमले २५-२१, २५-१३, २५-१४ ले तीनै सेट आफ्नो पक्षमा पार्यो।
लगातार तेस्रो जितसँगै समूह ए को सुदूरपश्चिमले ३ खेलबाट ९ अंक जोडेको छ। पहिलो पराजय बेहोरेको बागमती पनि ३ खेलबाट ६ अंकका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ।
अब सेमिफाइनलमा सुदूरपश्चिमले भोलि गण्डकीसँग र बागमतीले लुम्बिनीसँग खेल्ने छन्।
टोली सन्तुलित र बलियो रहेकाले उपाधि जित्ने लक्ष्य रहेको सुदूरपश्चिमका प्रशिक्षक भट्टको दावी छ।
प्रतियोगितामा सबै प्रदेशका टोली सहभागी रहेका छन्। प्रथम हुने टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।