प्रअ कडेल भन्छन् : टिमवर्क राम्रो भए नतिजा राम्रै आउँछ
प्रअ कडेल भन्छन् : टिमवर्क राम्रो भए नतिजा राम्रै आउँछ
काठमाडौँ : पछिल्लो समय सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नमिल्ने भन्दै निजी विद्यालयमै पढाउनुपर्ने भान बसेको छ समाजमा। अंग्रेजी माध्यमबाट पढाइ हुने भएर पनि अभिभावकहरू सामुदायिकभन्दा निजी विद्यालयमा सकी नसकी भर्ना गर्छन्।
पछिल्लो समय निजीभन्दा पनि कतिपय सामुदायिक विद्यालयले आफूलाई अब्बल सावित गरेका छन्। त्यहीमध्येको एक हो – विश्व निकेतन माध्यमिक विद्यालय। २००३ सालमा स्थापित यो विद्यालय त्रिपुरेश्वरको राहदानी विभागको पछाडि सञ्चालित छ। यही विद्यालयबाट २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार जनाले ४ जिपिए ल्याएका छन्।
काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार यो नेपालभरका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट संख्या हो। त्यसैले पनि अहिले उक्त विद्यालयको चौतर्फी प्रशंसा भइरहेको छ। यो विद्यालयबाट स्वस्तिक अधिकारी,अन्जु भुसाल,आकृति महासेठ र यन्जोन थापा मगरले चार जिपिए ल्याएका छन्।
सधैँ शिक्षामा अग्रणी विश्व निकेतन
विश्व निकेतन माध्यमिक विद्यालय अहिले मात्रै होइन, सधैँ शिक्षामा अग्रणी रूपमा उभिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो विद्यालय ‘नमुना विद्यालय’ घोषणा गरेपछि झनै आफ्नो शैक्षिक गुणस्तर सुधार गर्दै गइरहेको छ।
मन्त्रालयले समग्र शैक्षिक नतिजाका आधारमा २०७४ र २०७५ सालको सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत गरेको विद्यालय हो यो। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहका अनुसार अहिले यहाँ कक्षा १ देखि १२ सम्म पठनपाठन हुन्छ।
विसं २०७४ र २०७५ मा लगातार राष्ट्रिय शिक्षा पुरस्कार पाएको यो स्कुलको अन्य कुरामा पनि आफ्नो गुणस्तर प्रमाणित गरेको उनको भनाइ छ। २०७८ सालमा धनुषाकाे सबैला नगरपालिका-१० का आशिक झा यही विद्यालयमा पढेर एमबीबीएस इन्ट्रान्स टपर बनेका थिए।
‘यहाँका शिक्षक तथा कर्मचारीहरूलाई यो स्कुलको गुणस्तरमा यति विश्वास छ कि ९० प्रतिशतभन्दा बढी शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई यही स्कुलमा पढाइरहेका छन्’, ‘महानगरपालिका प्रमुख शाहले २०७९ सालमा घरदैलो कार्यक्रमअन्तर्गत विद्यालयमा पुगेर भनेका थिए’, ‘विद्यालयको गुणस्तरका लागि मानक र उदाहरणहरू त हाम्रै महानगरमा पनि छन्, महानगरका लागि शिक्षा क्षेत्रको यो नमुना उपयोगी हुनेछ। याद गर्नैपर्छ, सरकारी स्कुललाई प्राथमिकतामा नराखी, सरकारी स्कुलको शिक्षा सर्वसुलभ र गुणस्तरीय नहुन्जेल देश अगाडि बढ्छ भन्ने सोच्नु दिवास्वप्न मात्र हो।’
शिक्षामन्त्री सुमना श्रेष्ठका अनुसार २०८० सालको एसइईमा सामुदायिक विद्यालयका विद्यार्थी उत्तीर्ण हुने दर ३६ प्रतिशत र संस्थागत विद्यालयमा उत्तीर्ण हुने दर ७८ प्रतिशत छ।
जसमध्ये काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट एसइई परीक्षामा सहभागी विद्यार्थीमध्ये ५४५ जना अर्थात् (१३.७७ प्रतिशत) विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको महानगरपालिका शहरी योजना आयोगका सदस्य इञ्जिनियर झाले जानकारी दिए। उनका अनुसार महानगरभित्रका ५८ विद्यालयमध्ये ४ वटा विद्यालयका १० जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्।
प्रअ कडेल भन्छन् : टिमवर्क राम्रो भए नतिजा पनि राम्रै आउँछ
विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल ‘टिमवर्क’ राम्रो भए परीक्षा नतिजासँगै गुणस्तरीय शिक्षा दिन सकिने बताउँछन्।
एसइईमा देशभरका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट संख्यामा चार जिपिए ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै उनी थाहाखबरसँग भन्छन्, ‘यो हाम्रो टिमवर्क राम्रो भएको प्रतिफल हो, शिक्षकहरू खटिएको परिणाम हो।’
उनका अनुसार यहाँ विद्यार्थीहरूको कमीकमजोरी पत्ता लगाएर ‘उपचारात्मक कक्षा’ सञ्चालन हुन्छ। ‘यहाँको शिक्षामा राजनीति छैन, कहिल्यै कक्षा खाली हुन पाउँदैन’, उनी भन्छन्,‘विद्यार्थीसँगै शिक्षकहरूको राम्रो मूल्यांकन हुन्छ, समयमा कोर्स सकाउँछौँ, प्राक्टिस गराउँछौँ,परीक्षा प्रणाली राम्रो छ। यसै कारण एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भयौँ।’
उनी जागिरेभन्दा पनि शिक्षा क्षेत्र सुधारका लागि सेवकको भूमिकामा सबैले काम गर्दै आएको बताउँछन्। ‘यसरी अरू सामुदायिक विद्यालयमा पनि लागियो भने निजीभन्दा पनि सामुदायिक विद्यालय अब्बल बनाउन सकिन्छ’, उनले भने।
उनका अनुसार हाल इसिडी कक्षादेखि १२ सम्मचार हजार चार सय विद्यार्थी अध्ययनरत छन्। यो एसइईमा २७३ जना सहभागीमध्ये २५३ जना उत्तीर्ण भए। ३.९ जिपिएभन्दा माथि १९ जनाले ल्याए।
‘२० जना अनुत्तीर्ण भएनन्, ३ जना अनुपस्थित देखायो, १७ जना ग्रेड वृद्धि परीक्षा दिँदै छन्’, उनले भने। उनका अनुसार अहिले विद्यालयमा १६० शिक्षक कर्मचारी खटिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।