|

जनकपुरधाम : धनुषामा मठेश्वरनाथ मन्दिरको उत्खननमा आठौं नवौं शताब्दीका लिच्छवीकालीन अवशेष फेला  परेका छन्।

धनुषाको सबैला नगरपालिका-६ गोविन्दपुरस्थित पुरातत्त्व विभागका पुरातत्त्वविद् प्रकाश दर्नालसहित तीन सदस्य टोलीले असार ७ गतेदेखि शुरु गरेको उत्खननमा यस्ता प्रमाण फेला पारेको हो।

पुरातत्त्वविद् दर्नालले अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डावर, फलामको रिङ, मन्दिरको माथिको सरफेशमा भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छवी शैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ। सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ। 

लिपि विशेषज्ञलाई देखाएर वास्तविक पता लगाइने उनले बताए।

६० वर्षीय रामवृक्ष यादवले पुरातत्त्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिरका बारेमा रामायणमा जिकिर गरिएको यादवले भने।

 उक्त मन्दिर राजा जनकले निर्माण गरेको जनविश्वास रहेको ७५ वर्षीय राममनोहर साहले बताए। जनकले महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत बिहार राज्यको काल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिर निर्माण गरेका थिए।

त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथ मन्दिरको केही भग्नावशेष मात्र बाँकी छ।

पुरातत्त्वविद् दर्नालले भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरूप देखिएको बताउँछन्। उत्खनन गर्दै जाँदा ज्यामितीय आकारको बुट्टा जो अहिलेसम्म कतै देखिएको थिएन त्यो फेला परेको छ।

विज्ञका अनुसार मिथिलाको प्राचीन सभ्यता पाउने सम्भावना करिब सात देखि दश हजार वर्ष पुरानो तथ्य यहाँ भेट्न सकिन्छन। 

लिपिको आधारमा पूर्व मध्यकाल अथवा आठौंनवौं शताब्दीको इतिहास हुन सक्ने बताउँदै उनीहरूले थप मन्दिरका पर्खाल पछ्याउँदै जाँदा धेरै कुरा पत्ता लागन सकिने बताउछ।

सबैला नगरपालिकाका मेयर कारीराम यादवले आफूलाई पहिला नै यसबारे जानकारी रहे पनि मेयरमा निर्वाचित भएपछि अग्रसरता लिएको बताउँछन्।

मन्दिरको पश्चिमतर्फ प्रवेश गर्ने द्वार रहेको यसको संरचनाले देखाउँछ। 

त्यसैले पहिला प्रवेशद्वारबाटै उत्खनन शुरु गरेको छ। भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ भने तल्लो भागमा ठूल्ठूला ढुंगा आपसमा ‘इन्टर लक’ गरिएको अवस्थामा भेटिएको छ। 

ढुङ्गा प्राचीन समयको जस्तो देखिए पनि इँटा कहाँबाट ल्याइएको हो‚ त्यसको समेत पता लगाउने पुरातत्त्वविद् दर्नालले बताए।

 मिथिला सभ्यता काठमाडौँभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेट्न सकिने उल्लेख गर्दै उनले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचीन मिथिलाको क्षेत्र भएको जानकारी गराए।

‘यो मन्दिर प्राचीन त प्राचीन नै हो। यहाँ मिथिला, मौर्य, गुप्त र बृजी सङ्घको सभ्यता लुकेको छ। त्यसैले अन्तिम अध्ययन नसकिएसम्म यही नै हो भन्न नसकिने उनको भनाइ छ।

स्थानीयका अनुसार २०३३-२०३४ सालतिर धनुषाका जमिन्दारका भतिज झोपे मल्लले मन्दिर र मन्दिर क्षेत्रमा खन्न लगाएका थिए। 

बहुमूल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएको स्थानीय बताउँछन्।

अर्का वृद्ध विन्देश्वर यादवले एकजना अघोरी बाबासँग आएका झोपेले यो ठाउँमा खन्न लगाएको बताउँछन्। मन्दिर खनेर ढुंगा छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इँटा झिकेर माथिबाट इँटा जडान गरिदिएको उनले बताए।

मठेश्वरनाथ मन्दिर भनिएको ठाउँमा अहिले पनि ठूल्ठूला ढुङ्गा छरपस्ट छन्। गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोगका लागि यहाँबाट ढुंगा लगिसकेको स्थानीय घुरन दास बताउँछन् ।

सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो। सो इनार अहिले पुरिएको छ। मन्दिरभन्दा पश्चिम एउटा पोखरी थियो। त्यो पोखरी समेत अहिले पुरिएर खेतमा परिणत भएको छ।

सबैला नगरपालिकाका मेयर कारीराम यादवले पुरातत्त्व विभागले यो ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिए यो ठाउँलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने बताए।

यो ठाउँको विकासका लागि विगत दुई आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समेट्दै आएको मेयर यादवले बताए।

यसैगरी विगतमा माध्यमिक परिक्रमा डोला समेत यो मन्दिर हुँदै जाने गरेको कुरा बाबुबाजेले सुनाउने गरेको कतिपयको भनाइ छ। परिक्रमाका सहभागी कतिपय भक्तजन अहिले समेत यो मार्ग भएर नै जाने गरेको स्थानीय ७० वर्षीय फेकु यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.