|

ललितपुर : पाठ्यक्रममा समयानुकूल परिमार्जन र शिक्षालाई सीपसँग जोड्न सकेमा विदेशिने विद्यार्थीको संख्यामा कमी आउने दाबी शिक्षा क्षेत्रका विज्ञहरूले गरेका छन्।

वर्षेनि विद्यार्थी उच्च शिक्षाका लागि भन्दै विदेशिने क्रम बढेपछि कलेजमा विद्यार्थीको चाप घट्दो छ। कक्षा १२ सम्म स्वदेशमै अध्ययन गरे पनि त्यसपछिको शिक्षाका लागि उनीहरू विदेश जाने गरेका छन्। 

यही उच्च शिक्षामा देखिएका समस्या कसरी समाधान गर्ने विषयमा छलफल गर्नका लागि ललितपुरको गोदावरीमा २ दिन चलेको राष्ट्रिय सम्मेलनमा वक्ताले पाठ्यक्रममा समयानुकूल परिमार्जन र शिक्षालाई सीपसँग जोड्न सके विदेशिने विद्यार्थीको संख्यामा कमी आउने दाबी गरेका हुन्।

उच्च शिक्षाका लागि वर्षेनि हजारौँ विद्यार्थी विदेशिनुमा शिक्षाको गुणस्तरभन्दा नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्था प्रमुख कारण भएको सम्मेलनका वक्ताले बताए। 

शैक्षिक क्यालेन्डर पालना गर्नुपर्ने, उच्च शिक्षामा अनुसन्धानलाई जोड दिनुपर्ने, प्रविधिमैत्री शिक्षा बनाउनुपर्ने, शिक्षा र समुदायलाई जोड्नुपर्ने र उद्यमशीलतालाई पनि शिक्षासँगै लैजान सके उच्च शिक्षाका लागि धेरै कम विद्यार्थी मात्र विदेश जाने सुझाव उनीहरूले दिएका छन्। 

हरेक वर्ष विदेशिने विद्यार्थीलाई कसरी रोक्ने र नेपालको उच्च शिक्षा प्रणालीमा देखिएका समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गर्न ललितपुरका  जनभावना क्याम्पस र नेसफिल्ड इन्टरनेशनल कलेजले संयुक्त रूपमा राष्ट्रिय सम्मेलन आयोजना गरेका हुन्। 

‘सिफ्टिङ ल्याण्डस्केप एण्ड फ्यूचर प्याराडाइम अफ हाइयर एजुकेशन’ नाम दिइएको सम्मेलनमा देशका विभिन्न कलेजबाट २ सयभन्दा बढी सहभागी भएको नेसफिल्ड कलेजका प्रिन्सिपल अरुणकुमार केसीले जानकारी दिए।

सम्मेलनमा उच्च शिक्षाको विकास, उच्च शिक्षामा अनुसन्धान, एकीकृत सूचना प्रविधि, उच्च शिक्षामा विविधता, उच्च शिक्षामा स्थानीय र अन्ताराष्ट्रिय सम्बन्ध, यसभित्रका समस्या , समाधानका उपाय र आगामी दिनमा गर्नुपर्ने सुझाव लगायतका विषयमा ६० वटा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको उनले बताए।  

सम्मेलनमा त्रिविका रेक्टर प्रा डा खड्ग केसीले अनुसन्धानमा राज्यले लगानी नगरेसम्म शिक्षामा अघि बढ्न नसकिने धारणा व्यक्त गरे। उनले राज्यका तर्फबाट हाल १० करोड अनुसन्धानमा लगानी भएको बताए।

उनले भने‚ ‘राम्रो ग्राजुयट उत्पादन गरेर जब मार्केट खडा हुँदैन तबसम्म उनीहरू प्लेसमेन्टको खोजीमा विकल्प  त खोज्छन् नि।’ 

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले क्वालिटी नभएर विद्यार्थी विदेशिएका भन्ने धारणा गलत रहेको बताए।

नेसफिल्डका अध्यक्ष प्राडा सन्तोषराज पौडेलले भने‚ ‘आफ्ना अनुभव र ज्ञान आदानप्रदान गर्दै आगामी दिनमा उच्च शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर यो सम्मेलन आयोजना गरिएको हो।’

सांसद उदय शमसेर राणा‚ ​बाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेल‚ प्राडा पुष्कर बज्राचार्य‚ प्राडा युवराज संग्रौला लगायत बोलेका थिए।

जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेलले सिकाइको नयाँ प्रयोग पनि गरे पनि  विदेश जाने क्रम नरोकिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.