अन्तिम तयारीमा ब्यस्त
ललितपुर : ३३औँ गृष्मकालिन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा आगामी जुलाई २६ देखि अगष्ट ११ तारिखसम्म हुँदैछ।
पेरिससहित फ्रान्सका विभिन्न १६ सहरमा हुने प्रतियोगितामा ३२ खेलमा ३२९ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ। २ सय देशका १० हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
सन् १९६८ को मेक्सिको ओलम्पिकलाई छाडेर नेपालले सन् १९६४ मा जापानको टोकियोमा भएको १८ औँ ओलम्पिकदेखि सहभागिता जनाउँदै आएको छ।
सहभागी भएको १५ वटा संस्करणसम्म पनि अहिलेसम्म ओलम्पिकमा नेपालले कुनै पनि पदक जित्न सकेको छैन।
यसपालLको पेरिस ओलम्पिकमा पनि नेपालले सहभागीता जनाउँदैछ। नेपालका ६ खेलबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। जसमा ३ पुरुष र ४ महिला खेलाडी छन्। पौडीबाट २ तथा ब्याडमिण्टन, एथ्लेटिक्स, टेबलटेनिस , जुडो र सुटिङबाट १–१ जना खेलाडीले सहभागिता जनाउँदैछन्।
टेबलटेनिसमा छनौट चरण पार गरेर सान्टु श्रेष्ठले पेरिस ओलम्पिकमा स्थान पक्का गर्दा पौडीबाट डुबाना लामा र एलेक्जेण्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्दैछन्।
यस्तै ब्याडमिण्टनबाट प्रिन्स दाहाल , एथ्लेटिक्सबाट सन्तोषी श्रेष्ठ, जुडोबाट मनिता श्रेष्ठ प्रधान, सुटिङबाट सुस्मिता नेपालले प्रतिस्पर्धा गर्दैछन्। संगिना वैद्य र दिपक विष्टपछि ओलम्पिकमा छनोट भएर पुग्ने कीर्तिमान बनाएका स्यान्टुले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्।
ओलम्पिकको युनिभर्सालिटी कोटामा एथलेटिक्सबाट सन्तोषी तथा पौडीबाट डुवाना र टोकियो ओलम्पिकको समेत अनुभव बटुलेका एलेक्सले पेरिस ओलम्पिकमा भाग लिँदैछन्।
यस्तै ब्याडमिन्टनबाट प्रिन्स दाहाल र सुटिङबाट सुस्मिता नेपाल वाइल्ड कार्ड मार्फत पेरिस ओलम्पिकमा खेल्दैछन्।
जुडोकी मनिता श्रेष्ठ प्रधानले भने एशिया महादेशको कोटामा र्याङकिङमा बढि भएर ओलम्पिकका लागि छनौट भएकी हुन्।
प्रिन्स, सुष्मिता र मनिताले दुई वर्षदेखि ओलम्पिक सोलिडारिटीको सहयोगमा ओलम्पिक छात्रवृत्तिमा रहि प्रशिक्षण गरेका थिए। छात्रवृत्ति मार्फत उनीहरुले मासिक ७ सय ५० अमेरिकी डलर पाउँदै आएका छन्।
सान्टु श्रेष्ठ (टेबुलटेनिस)
सान्टु श्रेष्ठ विभिन्न छनौट चरण पार गरेर पेरिस ओलम्पिकमा छनोट हुने ७ नेपाली खेलाडीमध्ये एक्ला खेलाडी हुन्। उनले टेबल टेनिसको पुरुष एकलमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालमा पहिलोपटक भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जित्दै सान्टुले पेरिस ओलम्पिकमा स्थान पक्का गरेका थिए।
सेमिफाइनलमा श्रीलंकाका चामिरा गिनिगेलाई हराउँदै फाइनल पुगेका उनले फाइनलमा नेपालकै खेलाडी संयोग कपालीलाई ४–३ को सेटले पाखा लगाउँदै ओलम्पिक खेल्न पाउने इतिहास रचे।
उनी टेबुलटेनिसबाट ओलम्पिक खेल्न पाउने पहिलो नेपाली खेलाडी बनेका छन्। यस्तै छनौट चरण पार गरेर ओलम्पिकमा स्थान बनाउने सान्टु तेस्रो नेपाली खेलाडी पनि बनेका छन्।
यसअघि तेक्वान्दोका संगिना बैद्य र दिपक विष्टले पनि छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए। संगिनाले २००४ को एथेन्स ओलम्पिक र दीपकले २००८ को बेइजिङ ओलम्पिक खेलेका हुन्।
ओलम्पिक छनोट खेल्न उनी अस्ट्रेलियाबाट नेपाल आएका थिए । उनले अहिले पनि अस्ट्रेलियामै बसेर ओलम्पिकको तयारी गरिरहेका छन्। घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सान्टुले एक रजत र तीन कांस्यसहित चार पदक जितेका थिए।
मनिता श्रेष्ठ प्रधान (जुडो)
जुडोकी मनिता श्रेष्ठले पेरिस ओलम्पिकमा ५७ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्।
उनी नेपालको तर्फबाट पेरिस ओलम्पिकमा जाने टुङ्गो लागेको सातौँ तथा अन्तिम खेलाडी हुन्। उनी कन्टिनेन्टल छनोट मार्फत पेरिसका लागि छानिएकी हुन्।
एशिया महादेशको कोटामा राम्रो अंकका साथ र्याङकिङमा बढि भएर मनिताले ओलम्पिकमा सहभागी हुने छैटौँ नेपाली जुडो खेलाडीका रुपमा उभ्याएकी छिन्।
१२औँ र १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागकी रजत पदक विजेता मनिताले १८औँ र १९औँ संस्करणको एसियाली खेलकुदमा पनि सहभागीता जनाइसकेकि छिन्।
मनिता भन्दा अघि सन् १९८८ को सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो दि जेनेरियो ओलम्पिकमा फुपुल्हामु खत्री र २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले जुडो खेलबाट नेपालको प्रतिनिधित्व गरीसकेका छन्।
मनिताले दुई वर्षदेखि ओलम्पिक सोलिडारिटीको सहयोगमा ओलम्पिक छात्रवृत्तिमा रहि प्रशिक्षण गरेकी थिइन्। छात्रवृत्ति मार्फत उनले मासिक ७ सय ५० अमेरिकी डलर पाउँदै आएकी छन्। हाल उनी काठमाडौंमै प्रशिक्षणमा छिन्।
प्रिन्स दाहाल (ब्याडमिन्टन)
ब्याडमिन्टनका प्रिन्स दाहाल पेरिस ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन्। नेपालको ओलम्पिक इतिहासमै पहिलो पल्ट ब्याडमिन्टनले ओलम्पिकमा सहभागीता जनाउँदा प्रिन्सले पुरुष एकलमा प्रतिस्पर्धा जनाउनेछन्।
सन् २०१८ मा उमेर समूहतर्फ विश्व ब्याडमिन्टनको शीर्ष वरीयतामा पुगेका १९ वर्षीय प्रिन्सले वाइल्ड कार्ड पाएर ओलम्पिक खेल्ने अवसर पाएका हुन्।
ओलम्पिकको तयारीका लागि दुई महिनादेखि उनी श्रीलंकामा छन्। त्यहाँ उनले प्रशिक्षण गरिरहेका छन्।
उनले दुई वर्षदेखि ओलम्पिक सोलिडारिटीको सहयोगमा ओलम्पिक छात्रवृत्तिमा रहि प्रशिक्षण गरेका छन्।
छात्रवृत्ति मार्फत उनले मासिक ७ सय ५० अमेरिकी डलर पाउँदै आएका छन्।
सुष्मिता नेपाल (सुटिङ)
सुटिङकी सुष्मिता नेपालले पेरिस ओलम्पिकमा १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। वाइल्ड कार्ड मार्फत स्थान बनाएकी उनले आमन्त्रण कोटामा स्थान बनाएकी हुन् ।
सुष्मिताले दुई वर्षदेखि ओलम्पिक सोलिडारिटीको सहयोगमा ओलम्पिक छात्रवृत्तिमा रहि प्रशिक्षण गरेकी थिइन्। छात्रवृत्ति मार्फत उनले मासिक ७ सय ५० अमेरिकी डलर पाउँदै आएकी छिन्।
१९८८ को सोल ओलम्पिकमा नेपालले पहिलोपटक सुटिङमा भाग लिएको थियो ।
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा महिला म्याराथनमा भाग लिँदैछिन्।
पहिलो पटक ओलम्पिक खेल्दै गरेकी सन्तोषीलाई एनओसी र नेपाल एथलेटिक्स संघको सिफारिसमा युनिभर्सालिटी कोटामा ओलम्पिकमा समावेश गरिएको हो । युनिभर्सालिटी कोटामा सहभागी देशले अनिवार्य भाग लिनुपर्छ।
मध्यम दुरीमा दौडने सन्तोषिले पछिल्लो समय म्याराथन दौडमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्। १९ औँ एशियाडमा समेत सहभागी भएकी उनले नेपालमै रहेर पेरिस ओलम्पिकको तयारी गरिरहेकी छिन्।
एलेक्जेन्डर शाह (पौडी)
एलेक्जेन्डर (एलेक्स) शाह पेरिस ओलम्पिकमा सहभागी हुने अनुभवी खेलाडी हुन्। २०२० मा टोकियो ओलम्पिकमा सहभागी भएका उनका लागि यो दोस्रो ओलम्पिक हो।
उनले पनि युनिभर्सालिटी कोटामा पेरिसका लागि स्थान बनाएका हुन्। हाल अमेरिकामा रहेका एलेक्सले त्यही रहेर ओलम्पिकको प्रशिक्षण गरिरहेका छन् ।
उनले १ मिटर फ्री स्टायलमा प्रतिस्पर्धा गर्नेछन् । चीनमा भएको १९औँ एसियाडमा पनि उनी सहभागी थिए।
डुवाना लामा (पौडी)
युनिभर्सालिटी कोटामा पेरिस ओलम्पिकमा सहभागी हुने अर्का पौडी खेलाडी हुन् डुवाना लामा। २ सय मिटर फ्रि स्टालमा भाग लिने डुवानाले अहिले थाइल्यान्डमा प्रशिक्षण गरिरहेकी छिन् ।
पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित नौ स्वर्ण जितेकी उनले १३औँ सागमा दुई सय मिटर बे्रस्टस्ट्रोक र दुई सय मिटर बटरफ्लाईमा रजत पदक जितेकी थिइन्। उनले त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।