|

विराटनगर : ‘रातो नदी’ कविता संग्रह विमोचनपूर्व नै धेरैले लख काटिसकेका थिए- पक्कै यसले महिलाका भोगाई बोलेको छ भनेर।

महिलाका विषयमा आफ्ना विचारहरु सार्वजनिक गरिरहने कवि जुनु रानाको कविता संग्रह भर्खरै विमोचन भएको छ। धरानमा आयोजित साहित्य उत्सव कार्यक्रममा कवितामाथिको विमर्शमा कविहरुबाट पनि विमोचनपूर्व गरिएको अनुमान सत्य सावित गर्दै त्यस्तै धारणा नै धेरै व्यक्त भए।

महिलाका अनुभूति र समाजमा भोगेको विविध विभेदहरुलाई समेत कवितामा उठाइएको प्रतिक्रिया विमर्शकर्ताहरुको थियो।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका प्रहरी प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कवितामा महिलाहरुमाथिको विभेदमात्रै नभएर समाजमा हुने विभदको आवाज उठेको बताए। 

डीआईजी खापुङ पनि कविमात्र नभएर गीतकारसमेत हुन्। कविताको अनुरागीले मात्रै नभएर सबैले हेर्दा बुझिने कविता सरल रहेको उनको भनाई थियो।

सरल भाषामा कविले आफ्नो अनुभूति पस्किएको बताउँदै उनले ‘फेमिनिष्ट  मुभमेन्ट’को  माध्यममा देखिएको बताए।

सबै खालको भेदभावविरुद्ध कवितामा उठान गरिएको बताउँदै डीआईजी खापुङले कविता पढ्दा केही न केही छुनेसमेत बताए।

कवि सीमा आभासले यो कविता महिलाले आफ्नो कुरा उठान गर्दा कसरी भरिभाषित गर्छ भन्ने कुरालाई एउटा मानक बन्न सक्ने बताए।

‘महिलाहरुले आफ्नो कुरा उठाउँदा आमा बन्दा रगतलाई कसरी परिभाषा गर्छ। मासिक सत्रलाई कसरी परिभाषित गर्छ ? महिलाले आफ्ना् कुरालाई कसरी उठान गर्छ भन्ने कुरालाई एउटा मानक बन्छ भन्ने लाग्छ‚’ उनले भनिन्,‘लेखक स्पष्ट ढंगमा आएको छ केही कुरामा अल्झिए पनि कविता सरल ढंगमा आएको छ।’

यता, कवि मनु मन्जिललाई कार्यक्रम प्रस्तोता चेतन राईले प्रश्न गर्दै भने‚ ‘तपाईंलाई यो कविता कस्तो लाग्यो?’ उनले प्रतिक्रिया फरक ढंगले दिए। अझ भनौँ जवाफमा ‘जातको ब्रह्माण्ड’ शीर्षकको कविता वाचन गरे।

‘सबै कुरा जातको खोज्नेहरु

​जातपातमा भेदभाव गर्नेहरु

​अन्न जातकै उब्जाएर खानू

​लुगा जातकै बनाएर लगाउनू

​पानी जातकै उमार्नू

​सास फेर्ने हावा जातकै बनाउनू’

कविता वाचन गरिसक्दा नेपथ्यबाट बज्ने तालीसँगै कवि मन्जिलले प्रश्न गरे‚ ‘हजुरहरुलाई कस्तो लाग्यो?’

सहभागीहरुबाट आएको ‘दामी’ शब्दलाई छिचोल्दै उनले भने, ‘मलाई लाग्छ मेरो यही एन्सर हो।’

हुन त कवि रानाको कविता पढिसकेकाहरुको प्रतिक्रियाअनुसार आक्रोशित भएर लेखेका हुन् कि भन्ने अनुमान पनि लगाउँछन्। 

कार्यक्रममा पनि प्रस्तोता राईको प्रश्न यही कोणबाट आएको थियो तर उनले सरल ढंगले उत्तर दिँदै आक्रोशित भएर आफूले कविता नलेखेको दावी गरेका थिए। 

शनिवार कलरव धरानले आयोजना गरेको साहित्य उत्सव कार्यक्रममा सिने संवाद, प्रतिनिधि कविता वाचन, समकालीन कविता विमर्शका साथै कवि जुनु रानाको कविता ‘रातो नदी’ माथि विमर्श गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.