|

कञ्चनपुर : लगातारको वर्षासँगै आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भूभागलाई प्रभावित बनाएको छ। 

महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि  दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन्। जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन्। 

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले  जिल्लाभर बाढीबाट प्रभावित एक हजार ६२२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारेको जानकारी दिए। ‘बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्’ उनले भने, ‘प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ।’ निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेको बताइएको छ।

बाढीमा परी कृष्णपुर नगरपालिका-१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको छ। ‘घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए।​

यसैबीच लगातारको वर्षापछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडा चोकमा बाढीले पुल भत्काएपछि आइतबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.