|

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका किसानले अम्रिसो, टिमुर र दालचिनीको सामूहिक खेती शुरु गरेका छन्। 

नेपानेडाँडाका किसानले यहाँका तीन सामुदायिक वनमा व्यावसायिकरूपमा अम्रिसो, टिमुर र दालचिनी खेती गर्न लागेको समूहका अध्यक्ष भीमबहादुर पुनले बताए।

पाखुरे सामुदायिक वन, जौखोरिया सामुदायिक वन र पातल सामुदायिक वनमा अम्रिसो र टिमुरका बिरूवा रोपिएको उनले बताए। उनका अनुसार ४० हजार अम्रिसो र १० हजार टिमुरका बिरूवा रोपिएको छ। १० हजार दालचिनीका बिरूवा रोप्ने तयारी भइरहेको छ। 

केही महिनाअघि वन सफा गरिएको थियो। गाउँका सबै मिलेर वनमा रहेका वनमारासहितको झाडी सफा गरेको स्थानीय ज्ञानीसरा नेपालीले बताइन्। यसअघि उनीहरूले बिरूवा कसरी रोप्ने र स्याहार कसरी गर्ने भन्नेबारे तालिम लिएका थिए। 

यहाँ अधिकांश जनजाति र दलित समुदाय बस्दै आएका छन्। पहिले जस्तो पशुपालन गर्न छाडेका कारण वन त्यसै खेर गइरहेको छ। झाडीले भरिएको वन सफा गरेर अम्रिसो र टिमुर खेती गर्न पाउँदा खुशी लागेको स्थानीय सुमित्रा पुनले बताइन्। १० दिन ‘झारा’कै काम गर्न वनमा पुगिन्। मेहनतले बिरूवा रोपिएको छ। उत्पादन राम्रो भएर आम्दानी भयो भने आफूहरूलाई राहत मिल्ने उनको आशा छ। 

फालिएको वनमा एकैपटक यति धेरै बिरूवा लगाउँदा आफूहरू उत्साहित भएको ताराबहादुर बलालले बताए। यहाँका सबैलाई सामूहिक काम गर्ने मौका मिलेको छ। ‘अब समाजमा रहेका सबै जना मिलेर काम गर्नुपर्छ भन्ने भावना जागृत भएको छ।’ उनले भने ‘रोपिएका बिरूवाको राम्रोसँग गोडमेल गर्नेछौँ। यो खेतीले आम्दानी दिएपछि यहाँका किसानलाई आर्थिकोपार्जनमा टेवा पुग्नेछ।’ उनका अनुसार यहाँका किसानले निर्वाहमुखी खेती गर्दै आएका थिए। गर्दै आएको मकै खेती पनि बाँदरले खाएर सताउँछ। अरु कुनै भरपर्दो पेशा व्यवसाय पनि छैन।  

स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्रको आयोजनामा सामूहिक खेती शुरू गरिएको हो। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम विश्व वातावरण कोष साना अनुदान कार्यक्रमको सहयोगमा बिरूवा निशुल्क उपलब्ध गराएको केन्द्रका प्रबन्ध निर्देशक डा. रामबहादुर राउतले बताए। 

छिमेकी रिब्दीकोट गाउँपालिकाको बतासेबाट अम्रिसोको जरा खरिद गरिएको हो। टिमुर भने सल्यान जिल्लाबाट खरिद गरेर ल्याएको राउतले बताए। १० हजार दालचिनीका बिरूवा पनि उपलब्ध गराउने कार्यक्रम रहेको छ। 

‘जीविकोपार्जका लागि दिगो भू-व्यवस्थापन’ भन्ने नारासहित यहाँ व्यावसायिक रूपमा अम्रिसो, टिमुर र दालचिनी खेती थालिएको हो। यहाँका विपन्न गरिब किसानलाई आर्थिक उपार्जनमा टेवा पुग्ने उनले बताए। करिब १५० घरधुरी सामूहिक खेतीमा आबद्ध छन्। उनी भन्छन्, ‘यी बिरूवा हुर्किएर आम्दानी दिने बेलासम्म आफ्नो संस्थाले निरन्तर सहयोग, सहकार्य र समन्वय गर्नेछ।’ 

समूहमा आबद्ध सदस्यहरूको सहभागितामा सहकारी समेत सञ्चालन गर्ने योजना रहेको छ। किसानलाई सहकारी सञ्चालनबारे तालिम पनि दिइने छ। उत्पादन भएका वस्तु सहकारीमार्फत बिक्री वितरण गरिने छ।

रोपिएका बिरूवा हुर्किएर आम्दानी दिन थालेपछि वार्षिक तीन करोडको कारोबार हुने अनुमान छ। बढीमा अबको दुई वर्षमा यी बिरूवाले उत्पादन दिने डिभिजन वन कार्यालय पाल्पाका पूर्व रेन्जर टोपबहादुर रावलले बताए। बाँदरले खाँदैन। नगदे बाली हो। यसको बजार पनि समस्या छैन। अहिले पाल्पाका जुनकुनै ठाउँमा व्यापारी आफैँ पुगेर अम्रिसो लगायतका उत्पादन खरिद गर्दै आएका छन्। मागअनुसार उत्पादन हुन सकेको छैन।

यहाँका किसानलाई पनि बजारको अभाव नहुने पनि रावलले बताए। अम्रिसोको फूल, डाँठ र जरा बिक्री हुन्छ। टिमुर महँगोमा बिक्री हुन्छ। भारतमा बढी निर्यात हुँदै आएको छ। यसका बोटले पहिरो तथा भू-क्षय पनि रोक्न सहयोग गर्छ। 

यसैबीच नेपानेडाँडाकै ६० घर परिवारले बदाम खेती पनि शुरु गरेका छन्। यही कार्यक्रमअन्तर्गत परीक्षणको रूपमा बदामको बिउ नि:शुल्क वितरण गरिएको हो। सफल भए व्यावसायिक खेती गर्ने किसानको योजना छ्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.