|

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका ३७८ कर्मचारीले १० दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन् तर उनीहरुको माग सम्बोधन भएको छैन। 

कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार संघमा समायोजन भएका १ हजार ३३९ कर्मचारीमध्ये ३७८ कृषि प्राविधिकको कार्यालय र पद नभएको भन्दै उनीहरु धर्नामा बसेका हुन्। 

२० वर्षदेखि बढुवा पनि हुन नसकेको कृषि प्राविधिक कर्मचारीको आन्दोलन संघर्ष समितिका सदस्य तोयनाथ जोशीले जानकारी दिए।

कृषि प्राविधिकमा बाली संरक्षण, बाली विकास, कृषि अर्थ, माटो, कृषि प्रसार, कृषि इन्जिनियरिङ, बागवानी, खाद्य समूहका कर्मचारी गरी ३७८ जनाको कार्यालय र पद हराएर धर्नामा बस्नुपरेको उनले सुनाए। ३७८ मध्ये ५० जना पशु विकासतर्फका कर्मचारी रहेका छन्। 

कृषि मन्त्रालयका कर्मचारीको बढुवाका लागि विसं २०७६ देखि लोकसेवा खुलेको छैन। मन्त्रालयमा उपसचिवको सङ्ख्यामा कमी आएको समितिका संयोजक माधव पौडेलले बताए। 

सामान्य प्रशासनतर्फका कर्मचारी थप गर्नुपर्दा रातारात थपिने तर भएका कृषि प्राविधिकलाई समस्यामा पार्न खोजिएको भन्दै समितिले धर्नालाई निरन्तरता दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.