आयुष वासुदेव पराजुली
मेरो साथी भाइकाजीले मलाई हजार रुपैयाँ तिर्नु छ। वर्षदिन नै भैसक्यो, अब उसले मलाई त्यो पैसा तिर्ला जस्तो लाग्दैन। उसले मलाई हजार रुपैयाँ तिर्नु छ भन्ने कुरा नै उसले बिर्सिसक्यो भनेर हरेकपटक उसलाई भेट्दा मैले अड्कल लगाउन सक्छु। उसले मलाई सँधैझैँ आत्मीयताका साथ भेट्छ।
मेरो हजार रुपैयाँ उसको दिमागबाटै उडिसकेको छ। अब मैले त्यो पाउँदिनँ भनेर मलाई थाहा भइसक्यो।
उसले मलाई हजार रुपैयाँ तिर्नु छ भनेर मलाई सँधैभरि याद रहनेछ। यसले हाम्रो दोस्तीमा त कुनै असर गर्दैन, तर म यो कुरालाई बिर्सनै सक्दिनँ।
अरूलाई कस्तो हुन्छ, मलाई थाहा छैन, तर मसँग कसैले पैसा लिएको छ भने म त त्यो कुरा मर्नेबेलासम्म सम्झिरहन्छु।
कुरो के थियो भने — भाइकाजीले पोहोर साल चैत २५ गते ऊ दिल्ली जाने दिन मसँग हजार रुपैयाँ लिएको थियो (कदाचित् भाइकाजीको नजर परी नै हाल्छ कि भनेर मिति उल्लेख गरेको हुँ)। ट्याक्सीको पैसा तिर्ने बेलामा मैले उसलाई हजार रुपैयाँ दिएको थिएँ। यो पैसा लिने काम यति हतार–हतारमा भयो कि मलाई मैले पैसा दिएको पनि पत्तो भएन। उसले “मलाई हजार रुपैयाँ देऊ त !” भन्यो। अनि मैले “हजारले पुग्छ?” भनेँ, पैसा सर्लक्क दिएँ, सजिलै। मलाई लाग्छ, होइन, मलाई थाहा छ, उसले पछि तिर्ने गरी नै त्यो हजार रुपैयाँ सापट लिएको थियो।
उसले दिल्ली पुगेर एकदिन मलाई म्यासेज पठायो। पैसा पठाएको स्क्रिनसट हो कि भनेर म्यासेज खोलेँ। होइन रहेछ। दिल्लीमा असाध्यै गर्मी छ — यति मात्र लेखेको रहेछ। म निराश भएँ।
भाइकाजी तीन हप्तामा फर्कियो। म उसलाई एयरपोर्टमै भेट्न गएँ, तर पैसाको लोभले होइन, ऊ प्रतिको मैत्री स्नेहले। ‘तीन हप्तापछि घर फर्किएको, एयरपोर्टमा कोही त लिन आएछ नि’ भनेर ऊ खुसी होला जस्तो मलाई लाग्यो। मैले “आऊ, ट्याक्सी चढेर थकाली रेष्टुरेण्ट जाऔँ” भनेँ। तर उसले “होस्, हिँडेरै जाऔँ न” भन्यो।
बेलुकासम्म सँगै बसेर दिल्लीको गफ गर्दै खाना खायौँ। म त त्यही हजार रुपैयाँ सम्झिरहेको थिएँ, तर केही भनिनँ। कसले भन्न सक्छ? मैले दिल्लीमा कुन पैसा चल्छ?, नेपाली पैसा चल्छ कि चल्दैन? भनेर सोधेँ, (नेपाली पैसा’मा विशेष जोड दिएँ) तर मैले ‘नेपाली पैसा’ कुन हेतुले भनेको थिएँ, उसले पत्तै पाएन।
उसले त्यो हजार रुपैयाँ बिर्सिसक्यो भनेर बुझ्न मलाई केही समय लाग्यो (म उसलाई दिनहुँजस्तो भेट्छु)। एकदिन मैले उसलाई दिल्ली भ्रमणमा कति खर्च लाग्यो भनेर सोधेँ, उसले “म त त्यस्तो सानोतिनो हिसाब किताबै राख्दिनँ” भन्यो। अनि अलिपछि मैले “दिल्ली गएको काम सबै पूरा भयो त ?” भनेर सोधेँ, उसले “अँ, भइसक्यो। मैले त म दिल्ली गएको पनि बिर्सिसकेँ” भन्यो। अब मेरो पैसो आउने भएन भनेर मलाई पक्का भयो।
यस विषयमा मलाई भाइकाजीसँग कुनै गुनासो छैन। मैले मलाई पैसा तिर्न बाँकी भएकाहरूको लिस्टमा उसको नाम पनि थपिदिएँ। अहिले आठ–दशजना भइसके। उनीहरूले त बिर्सिसके होलान्, मैले बिर्सिनै सकेको छैन।
म भाइकाजीलाई भेटिरहन्छु। अस्ति मात्र हामी दुईजना सँगै खाना खान गएका थियौँ। उसले श्रीलंकाको कुरा गर्दै थियो। ऊ भन्दै थियो— यो श्रीलंका भन्ने देशले कहिल्यै पनि ऋण तिर्न सक्दैन। ऋणको कुरा गर्दा गर्दै उसले आफूले सापट लिएको पैसा पनि सम्झिन्छ कि जस्तो लागेको थियो, तर उसले सम्झिएन।
यत्तिकैमा मेरो मनमा एउटा विचार आयो। भाइकाजीले मबाट हजार रुपैयाँ लिएर बिर्सिएको जस्तै मैले पनि त कसैसँग हजार रुपैयाँ लिएर बिर्सिएको हुँला नि ! त्यसको पनि त लिस्ट बन्ला ! जति–जति मैले यस विषयमा सोचेँ, उति–उति मलाई त्यो विचार मन परेन, किनभने मैले बिर्सिसकेको पैसा त मैले तिर्ने कुरै आएन। मरे पनि तिर्दिनँ।
यदि मैले पैसा तिर्नुपर्ने कोही छन् भने तिनले मलाई आएर भनुन्। एकैपटक होइन, अलिअलि गरेर आऊन्। झन् नामअनुसार क्रमैले आउने हो भने त म सबैको नामै लेखेर राख्नेछु। यहाँ मैले मलाई ४०–५० रुपैयाँ सापट दिनेहरूको गणना गरेको छैन (जानेरै नगरेको हुँ)।
अघिल्लो महिना सिनेमा हल जाँदा मलाई एक सिसी कोक पियाउनेलाई पनि मैले गनेको छैन। उसले मलाई त्यो पचास रुपैयाँको कोक प्रेमवश पियाएको हो। यो कुरा उसलाई पनि थाहा छ, र मलाई पनि। तर, यदि कसैले मलाई दिल्ली जाने बेला ट्याक्सीको पैसा तिर्न भनेर हजार रुपैयाँ सापट दिएको छ भने, म उसलाई त्यो पैसा अवश्य तिर्नेछु।
त्यति मात्र होइन, म एक अभियान नै चलाउन चाहन्छु— ‘इमानदार बनौँ अभियान’ —मानव सभ्यताको विकासको क्रममा यसरी सापट लिइएको पैसा फिर्ता गराउने अभियान। आखिर विश्वका सबै समृद्ध राष्ट्रहरू इमानदारीकै जगमा बनेका हुन् !
यो लेख स्टेफन लिककको ‘माई लस्ट डलर’ मा आधारित रहेर तयार पारिएको हो। यहाँ भाइकाजी एक काल्पनिक पात्र मात्र हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।