|

काठमाडौँ : नेपालमा चालू आर्थिक वर्षमा लम्पी स्किन रोगको महामारीका कारण लाखौं गाईभैँसी मरे। गतवर्ष असारदेखि असोजसम्म उच्च विन्दुमा पुगेको लम्पी स्किनको संक्रमण देशभरका १५ लाख ३६ हजार १८० पशुमा देखा पर्‍यो। संक्रमित भएकामध्ये ६५ हजार ४४१ वटा पशु मरेका छन्। यसबाट ७९ अर्ब बराबरको आर्थिक क्षति भएको सरकारी तथ्यांक छ। 

हजारौँ किसान परिवारले आफ्नो किलोमा बाँधेका गाईभैँसी लम्पी स्किनले मरेपछि ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्‍यो। कतिका गोठै खाली लगभग रित्तो जस्तो भयो। दूध बेचेरै दैनिकी चलाउँदै आएका किसानहरूको हात रित्तो हुन पुग्यो तर लम्पीको महामारीबाट पीडित पशुपालक किसानले अहिलेसम्म सरकारी राहत पाउन सकेनन्। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागले लम्पी स्किनको महामारीबाट पीडित किसानलाई क्षतिपूर्ति दिलाउन प्रस्ताव गरे पनि राहतको कुनै कार्यक्रम आएको छैन। ‘राहत दिनुपर्छ भनेर विभागबाट प्रस्ताव चाहिँ भएको थियो तर खासै कार्यक्रम आएन’, कार्यवाहक महानिर्देशक डा.राजेश यादवले भने‚ ‘किसानले राहत पाएको अवस्था छैन।’ विभागले क्षतिको विवरण अर्थ मन्त्रालयमा पठाएको धेरै समय भइसकेको छ तर किसानका लागि रकम विनियोजन गरिएन । त्यसो त चालू आवको अन्तिम समयमा यो महामारीबाट पीडित किसानका लागि कुनै आर्थिक राहतको संकेत पनि देखिएको छैन। 

पशु सेवा विभागका अनुसार अहिले लम्पी स्किन खासै देखिएको छैन। चालू आवमा लम्पी स्किनका कारण किसानले अर्बौको क्षति बेहोर्नुपरेको छ। नेपाल पशु चिकित्सा परिषद्ले महामारीका समयमा गरेको अध्ययनबाट झण्डै १ खर्ब बराबरको आर्थिक नोक्सानी हुनसक्ने प्रक्षेपण गरेको थियो। परिषद्का प्रवक्ता/रजिस्ट्रार डा. मनोजकुमार शाहीका अनुसार लम्पी स्किनको महामारी वेलैमा नियन्त्रण हुन सकेन र प्रभावकारी कदम चालिएन भने २५ लाख गाईभैँसी संक्रमित हुने, संक्रमितमध्ये १ लाख मर्न सक्ने र त्यसबाट कुल १ खर्ब २५ अर्ब बराबरको आर्थिक नोक्सानी हुनसक्ने प्रक्षेपण परिषद्ले गरेको थियो। यद्यपि परिषद्को प्रक्षेपणभन्दा कम क्षति भए पनि किसानहरू भने ठूलो मारमा परेका छन्। 

महामारी पीडित किसानले राहत नपाउँदा त्यसको ठूलो असर ग्रामीण अर्थतन्त्रमा पर्न गएको छ। दूध उत्पादनमा निकै नकारात्मक असर परेको छ भने साना किसानको जीविकोपार्जन, दुग्ध क्षेत्रबाट प्राप्त रोजगारी तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर परेको छ। ‘किसान मर्कामा परेका छन्। दैनिक ७० लाख रुपैयाँ बराबरको रकम दूध खरिदका लागि गाउँमा जाने गर्थ्यो तर अहिले भारतबाट सस्तोमा दूध आयात भइरहेको छ। यहाँका किसानले उत्पादन गरेको कम दूध पनि विक्री हुन नसकेको अवस्था छ’, डा. शाही भन्छन्, ‘गाउँमा दूधको पैसा जान कम भयो, किसानले पैसा पाएनन्। यो सबै लम्पीले सिर्जना गरेको समस्या हो। यसले नेपालको समग्र ग्रामीण अर्थतन्त्र नै खलबलाइदिएको छ।’

विश्व बैंक र एडिबीका प्रतिवेदनले समेत लम्पी स्किनका कारण मुलुक कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा समेत असर गर्ने उल्लेख गरेका छन्। किसानलाई राहतका विषयमा सरकारले बोल्न धेरै ढिला भइसकेको भन्दै डा. शाहीले अब आगामी दिनमा आउनसक्ने रोग, महामारीको लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने बताए। पशु चिकित्सा सेवा बलियो र किसानमुखी बनाउनुपर्ने भन्दै उनले महामारी आउँदा किसानको आर्थिक क्षति कम गराउन र पशुधन बचाउन प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिए। 

नेपालमा लम्पी स्किन 

नेपालमा पहिलोपटक २०७७ असारमा मोरङको सुन्दरहरैँचा नगरपालिकामा गाईमा देखापरेको थियो। शुरुका दुई वर्षमा यो रोगबाट १६ जिल्लाका (अधिकांश तराईका) २९ पालिकामा ३ हजार ३०१ पशु संक्रमित भई १३ वटा मरेका थिए। 

२०७९ चैत महिनाको मध्यबाट कोशी प्रदेशका केही जिल्लामा रोगको प्रकोप देखा परेको थियो र सबै जिल्लामा फैलिएको थियो। महामारी फैलिएपछि सरकारले छिमेकी राष्ट्रहरूसँँग समन्वय गरेर लम्पी स्किन रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराई प्रदेश सरकारहरूबाट खोप अभियान सञ्चालन गरेको थियो। पशु सेवा विभागले पशुधन क्षति भएका किसानलाई राहत र पुनःस्थापनाका लागि बजेट आवश्यक पर्ने बताएको थियो। 

लम्पी स्किन के हो ? कसरी सर्छ ?

लम्पी स्किन रोग पक्सभाइरिडी परिवारअन्तर्गतको क्याप्रिपक्स प्रजातिको लम्पी स्किन डिजिज भाइरसका कारण अत्यधिक संख्यामा गाईभैँसीहरूमा संक्रमण गराउने पशुरोग हो। यसबाट विशेषगरी गाई, गोरु, राँगा, भैंसी, पाडापाडी, बाच्छाबाच्छीमा लाग्छ। यो रोगबाट उन्नत नश्लका बढी उत्पादन दिने पशु बढी प्रभावित हुन्छन्। यो रोग पहिलोपटक सन् १९२९ मा जाम्बियामा पहिचान भएको थियो। विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित लम्पी स्किन डिजिज सन् २०१९ पश्चात मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै भारत, बंगलादेश, चीन, नेपाल, भुटान, म्यान्मा, श्रीलंका, पाकिस्तानमा समेत प्रकोप देखिएको छ। 

लामखुट्टे, झिंगा, किर्ना आदिको टोकाइबाट सर्ने यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दानापानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा, गाँठा देखिने, गिर्खाहरू केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा, औंसा पर्ने, नाकमुख भित्र, कल्चौडा, थुनमा घाउ हुने, आँसु, र्‍याल, सिंगान बग्ने, चिप्रा, कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निने जस्ता लक्षण देखिन्छन्। पशु सेवा विभागका अनुसार यो रोगले पशुमा बाँझोपनको समस्या, ४५ प्रतिशतसम्म गाईभैंसी बिरामी हुन्छन् भने संक्रमितमध्ये सामान्यतया १ देखि ३ प्रतिशतसम्म पशु मर्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.