|

काठमाडौँ : अखिल नेपाल फुटबल संघको आयोजनामा यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यू–१८ युथ लिगको विजेताले १ लाख रुपैयाँ नगद पाउने भएको छ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले लिग विजेताले १ लाख रुपैयाँ नगद तथा उपविजेतालाई ५० हजार रुपैयाँ नगद प्रदान गरिने घोषणा गरे। उनका अनुसार विधागततर्फ उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।

संयोजक खतिवडाले प्रतियोगिताको तयारीवापत सहभागी क्लबले ३ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने र लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजना गरिने जानकारी दिए। 

यही असार ३० गते शुरू हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त खेल दिउँसो १ बजे शुरू हुनेछ।

प्रतियोगितामा गत संस्करणमा ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। 

मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब पनि प्रतिस्पर्धामा सहभागी हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.