बैतडी : भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रोपटक खोल्न लागेको छ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार असार २९ गते शनिवार बिहान ६ बजेदेखि ३० गते आइतवारसम्म परियोजनाको बाँध खोलिने जनाएको छ।
बाँध खोलेका वेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो।
बाँध खोलेका वेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले महाकाली आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो।
धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातका वेला हरेक वर्ष खोलिने गर्छ। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ।
यसअघि भारतले गएको असार १५ गते विहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो।
विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।