|
फोटो सौजन्य : सागर गिरी

चितवन : ‘जहाँ बाघ छ, त्यहाँको पर्यावरण स्वस्थ हुन्छ, अनि अरु धेरै वन्यजन्तुको पनि वासस्थान राम्रो हुन्छ,’राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठले भने, ‘त्यसैले पर्यवरण स्वास्थ्य बनाउने अभियानमा लागेका छौं।’

जीवजन्तुको उच्च स्थानमा बाघ रहेको श्रेष्ठ बताउँछन्। शनिबार विश्व बाघ दिवसको सन्दर्भ कोट्याउँदै उनले बाघ पारिस्थितिक प्रणालीको उच्च प्रजाति भएको उल्लेख गरे।

बाघ पाइने ठाउँमा अरु प्रजाति सजिलै पाइन्छ । बाघ जहाँ छ, त्यो वातावरण स्वस्थ हुन्छ। त्यसैले यसवर्षको सातौं विश्व बाघ दिवसलाई ‘स्वस्थ्य पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित देशैभरका संरक्षणकर्मीले मनाएका छन्। 

सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघ सम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ। २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ। अहिले बाघ पाइने हरेक निकुञ्ज र आरक्षमा बाघको संख्या बढेको अनुमान विभागको छ। अब लक्ष्य पुरा गर्ने नेपालमा २४२ बाघ बढाउनुपर्ने चुनौती छ।

यही बर्ष नेपाल र भारत दुबै देशले एकैसाथ बाघको गणना गरेर तथ्यंक निकाल्दै छन्। अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पुराहुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एबं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन्। 

 सन् २०१३ को राष्ट्रिय तथ्यांकअनुसार नेपालमा १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छ। बाँकेमा ४, पर्सामा ७, शुक्लाफाँटामा १७ वटा बाघ छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहेकोमा अहिले बढेर ६२ पुगेको प्रमुख रमेश थापा बताउँछन्। बाघको संख्या बढाउन उसको वासस्थानसँगै आहाराप्रजाति समेत जोगाउन कार्यक्रम केन्द्रित गरेको थापा बताउँछन्। बाघ जोगाउनका लागि मुख्य समस्या चोरीशिकार हो। त्यसपछि वन विनास, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पुर्वाधार, जैविक मार्गका सडक लगायत समस्या छन्।

जलवायू परिवर्तनका कारणले पनि अहिले बाघले वासस्थान परिवर्तन गर्ने अवस्था देखिएकाले चुरे क्षेत्रको संरक्षणतर्फ पनि विभागले कदम चालेको बताउँछन् निकुञ्ज विभावका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठ। सबैभन्दा बढी बाघ पाईएको चितवन निकुञ्जले अघिल्लो बर्ष विश्व मै बाघ संरक्षणका लागि उत्कृष्ट ‘क्याट अवार्ड’ समेत पाएको छ। 

मुख्यगरी वासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसे मैदान, पानी पोखरी व्यवस्थापन तथा विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी संरक्षण अभियान चलाएकाले यो सफलता पाएको हो। चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर सबैको हातेमालोबाट यो सफलता प्राप्त भएको उल्लेख गर्छन्।  

पछिल्लो समयमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याको रुपमा आएको छ। हालै एउटा विज्ञ समूहले गरेको अध्ययनमा चितवन निकुञ्जका ५ प्रतिशत बाघहरुले मानवीय जोखिम बढाएको देखाएको छ। मुख्य कारण भने आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघहरु भएकाले तिनीहरुका लागि जाने मार्ग खुला गर्नुपर्ने अवस्था आएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्रमुख तथा बाघ विज्ञ डा चिरञ्जिवी पोखरेल बताउँछन्। 

बाघ आफैंमा लजालु र मानिस देखे भाग्ने प्रजाति हो। ‘उसले आफ्नो क्षेत्र बनाउनका लागि जाने क्रममा बस्ती आइपुग्छ र जम्काभेट हुँदा मानिसमाथि आक्रमण गर्छ, बाघको आनिवानीबारे डा पोखरेलले भने 'मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो।’ अब हामीले नै ऊ हिँड्ने बाटोलाई सहज पार्नुपर्ने तर्क डा पोखरेलको छ। 

समुदाय पनि बास संरक्षणमा सक्रिय 

चितवनको सौराहामा शनिबार भजन चुड्का सहित बाघ संरक्षणका कार्यक्रम भयो। विश्व बाघ दिवसको सन्दर्भमा मृगकुञ्ज उपभोक्ता समिति अन्तरगत बाघ संरक्षण उपसमितिले सौराहामा चेतनामूलक र्‍यालीसहित कार्यक्रम गरेको थियो।

शिवशक्ति भजन समूहमा आवद्ध भएका स्थानीय बृद्धहरु बाघको महिमागान गर्दै भजन गाएर लोकनृत्यमा खुट्टा उचाली–उचाली प्रस्तुत भए। उनीहरुलाई आफ्नै पोशाकमा सजिएका थारु युवतीहरुले साथ दिएका थिए। बाघ हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण हामी सबैको कर्तव्य भएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङ बताउँछन्।  

चितवनमा समुदायसँगकै हातेमालोमा बाघ गैंडाको संरक्षण प्रभावकारी भइरहेको छ। मृगकुञ्ज उपभोक्ता समितिका सचिव तथा क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल संरक्षणले नै पर्यटन जोगाउने बताउँछन्। एकजना चरा विज्ञ टीका गिरी बाघ संरक्षण हुँदा हरेक प्रजाति संरक्षण हुने बताउँछन्। समुदाय अहोरात्र संरक्षणमा जुटेको भन्दै उनले बासस्थान र आहाराप्रजाति जोगाउनु चुनौतीपूर्ण भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.