काठमाडौँ : चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको दुई बस र यात्रुको खोजी कार्य आजलाई स्थगित गरिएको छ।
भोलि आइतवार पुन: खोजतलास थालिने चितवन प्रहरीले जनाएको छ। चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले आजसम्म दुई शव मात्रै नदीबाट निकालिएको जानकारी दिँदै अर्को एउटा शव भने सनाखत हुन नसकेको बताए। बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव हाम फालेर ज्यान जोगाएका थिए।
प्रहरीले बेपत्ता बस र यात्रुको खोजीका लागि विपद् उद्धारका सम्पूर्ण शक्ति प्रयोग भइरहेको बताएको छ। आज सशस्त्र प्रहरीको गोताखोर टोलीले 'स्नेक आइ' क्यामराको सहयोगमा खोजी गरिरहेको छ। उक्त क्यामराले पानीमुनी रहेका वस्तु पहिचानमा सहयोग गर्छ।
शुक्रवार विहान अन्दाजी ३ बजेतिर नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा माथिबाट खसेको पहिरोसँगै बगेका यात्रुसहितका दुई बस त्रिशूली नदीमा डुबेर बेपत्ता भएको हो। दुवै बसमा ५१ जना यात्रु रहेको खुले पनि संख्या अझै तलमाथि हुनसक्ने प्रहरीले जनाएको छ।
सिमलतालबाट वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स यात्रुसहित नदीमा खसेर बेपत्ता भएको हो।
शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी भइरहेको छ। तर बगाएका दुई शव बाहेक बस र अन्य यात्रुको अवस्था अझै अज्ञात छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।