|

काठमाडौँ : ग्वार्को फ्लाइओभर दशैँअघि नै बनाइसक्न स्थानीयले माग गरेका छन्।

आइतवार बागमती प्रदेश सदस्य रामकृष्ण चित्रकारसहित स्थानीयहरुले फ्लाइओभर निरीक्षण गरी छिटो सम्पन्न गर्न सुझाव दिएका हुन्। 

उनीहरुले निर्माणाधीन फ्लाई ओभर निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीयहरुलाई समस्या भएको बताए। उनीहरुले फ्लाइओभर छिटो नबन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए। 

एकपटकमा एक डेढ घण्टासम्म जाम हुँदा धुवाँ धुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्नेजस्ता समस्या बढेको समेत स्थानीयको गुनासो छ।

ग्वार्को फ्लाइओभरमा निरीक्षणपछि सञ्चारकमीसँग पूर्वमन्त्री चित्रकारले फ्लाइओभरको निर्माणमा ढिलासुस्ती भएको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे। 

उनले निर्माण व्यवसायी र सरकारलाई पटकपटक खबरदारी गर्दै आउँदा पनि निर्माणले गति नलिएको भन्दै पुनः निरीक्षणमा आएको बताए। 

उनले जनताको प्रतिनिधि भएपछि जनताप्रति उत्तरदायी हुनु आफ्नो कर्तव्य भएको भन्दै जनतालाई प्रत्यक्ष असर पर्ने कुरामा चुप बस्न नसक्ने बताए। 

उनले आफू पटकपटक निर्माण स्थलमा उपस्थित भई गुणस्तरीय तरिकाले छिटो फ्लाइओभर सम्पन्न गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताए। उनले दशैँअगावै निर्माण सम्पन्न हुनुपर्ने बताए। 

उनले आयोजना समयमा बन्न नसक्दा स्थानीयको जनजीवनमा नकारात्मक असर पारेको बताए। उनले निर्माण कार्य सरकारले समयमा भुक्तानी नदिएको र ठूला मेसिन भारतबाट ल्याउनुपर्ने भएकाले समय लागेको जानकारी आफूले पाएको बताए।

ललितपुर महानगरपालिका वडा ८ का अध्यक्ष बाबुरत्न महर्जनले आधा घण्टासम्म जाम पर्ने अवस्था रहेको बताए। उनले बालकुमारीबाट लगनखेल पुग्न १ घण्टाको समय छुट्याउनुपर्ने अवस्था सिर्जना भएको बताए। उनले सर्वसाधारणलाई परेको समस्या सामाधानको लागि तत्काल सम्पन्न हुन आवश्यक रहेको बताए।

स्थानीयवासी विष्णु बस्नेतले समयमा ग्वार्को फ्लाइओभरमा नबन्दा स्थानीयहरुलाई स्वास्थ्यमासमेत समस्या भएको बताए। उनले दैनिक लाखौं सवारीसाधन आवतजावत गर्ने भएकाले आधा घण्टासम्म जाम हुने गरेको बताए। उनले समयमै बनेर स्थानीयको समस्या राज्यले समाधान गर्नु आवश्यक रहेको बताए। 

२०७८ साल फागुन १२ गतेबाट शुरु भएको ४ लेनको फ्लाइओभर निर्माणको जिम्मेवारी आशिष–समानान्तर रेलिगेर जेभीले पाएको थियो। 

१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा बन्न लागेको फ्लाइओभरको लम्बाइ ४९० मिटर रहनेछ। 

ग्वार्को चोकबाट बी एण्ड बीतर्फ १३५ मिटरको र्‍याम रहनेछ भने ग्वार्को चोकबाट बालकुमारीतर्फ २८० मिटरको र्‍याम रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.