|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रूपमा मनाइँदै छ। स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ।

साउने​ संक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रूपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताए।

साउनको महिना विष्णु वैकुण्ठमा शयन भएकाले यो महिनालाई कालो महिना भन्ने गरिएको हो। उनले भने, ‘हरिशयनी एकादशीदेखि भगवान् वैकुण्ठमा बस्छन्।’

आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास छ।

बैतडीमा सात बहिनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको दशरथचन्द नगरपालिका–२ का दीपेन्द्र बोहराले बताए।

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम,देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीहरूले दर्शन गर्छन्।

श्रावण महिनाभरी मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन छ। जिल्लाबाट बसाइँ सरेका पनि मन्दिरमा पूजापाठका लागि यो महिना जिल्ला भित्रिन्छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.