|
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ : एशिया कपअघिका ३ अभ्यास खेलमध्ये तेस्रो तथा अन्तिम खेलमा घरेलु श्रीलंकालाई २ रनले हराउँदै नेपाली महिला क्रिकेट टोलीले रोमाञ्चक सान्त्वना जित पाएको छ। 

आज भएको खेलमा नेपालले श्रीलंकाको डेभलपमेन्ट-११ लाई टी–२० सिरिजमा २ रनको झिनो अन्तरले पराजित गर्दै रोमाञ्चक जित पाएको हो। यसअघिका २ अभ्यास खेलमा श्रीलंकासँग नेपाल लगातार पराजित भएको थियो। 

जितका लागि नेपालले पहिले ब्याटिङ गर्दै दिएको ११३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ओभरमा ११० रनमात्र बनाउन सक्यो र २ रनले पराजित भयो। नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो। 

श्रीलंकाली टोलीका लागि बलासूर्याले ३८ रन, नेत्राञ्जलीले २६ रन, निसन्सलाले १२ रन र सिवान्दीले १० रन बनाए पनि खेल जित्न ३ रन अपर्याप्त रह्यो।

नेपालका लागि कविता जोशीले ३ विकेट, कीर्तिका मरासिनीले २ विकेट तथा कप्तान इन्दु बर्मा र कविता कुँवरले १/१ विकेट लिए।

नेपालको स्कोरमा कप्तान रुबिना क्षत्रीले सर्वाधिक ३७ रन तथा बिन्दु रावलले २० रनको योगदान गरे। सीता रानामगरले १५ रन र सम्झना खड्काले १० रन बनाए।

घरेलु श्रीलंकाली टोलीका लागि थन्नाकोनीले २ विकेट तथा इन्दुवारी शिवान्दी र मिथसराले १/१ विकेट लिए।

तीन खेलको सिरिज श्रीलंकाले २–१ बाट जितेको छ। 

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग ३२ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेटले गुमाउन पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.