काठमाडौं : २०५० सालभन्दा अघिदेखि काठमाडौं र ललितपुरस्थित बागमती नदीसहित अन्य खोला किनारमा बसोबास गर्दै आएका सुकुमवासीले सर्वोच्च अदालतबाट स्थानान्तरणसम्बन्धी फैसला आएपछि राहतको अनुभूति गरेका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस २ गते गरेको फैसलाको मंगलबार आएको पूर्णपाठमा नदी किनारका सुकुमवासी स्थानान्तरण गर्नू भनेपछि सुकुमवासीले उचित स्थानमा सर्ने आकांक्षा पूरा हुने विश्वास गरेका हुन्।
बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, सुकुमवासी अगुवा हुकुमबहादुर लामाले २०२३ देखि उपत्यकाका नदी र खोलामा आश्रय लिइरहेका सुकुमवासी नागरिकको पक्षमा फैसला आएको बताए। उनले जोखिमयुक्त र जोखिममुक्त स्थान वर्गीकरण गरेर स्थानान्तरण गर्न सुझाव दिए। ‘जोखिमयुक्त ठाउँमा अन्यत्र जग्गा व्यवस्थापन गरिदिनु पर्छ। जोखिममुक्त ठाउँमा त्यही स्थानमा दिनु पर्छ, तर बागमती नदी किनारका पुर्ख्यौली बसोबासका सन्दर्भमा नियम कानूनबमोजिम हुनु पर्छ। जबरजस्ती उठाउन पाइँदैन। सरकारले राहत र बस्ने ठाउँको व्यवस्था गरे हामी अहिल्यै छोड्न तयार छौँ’, उनले भने।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार काठमाडौं महानगरपालिका–९ स्थित सिनामङ्गल, गैरीगाउँ र वडा नं. ३१, शान्तिनगरमा सुकुमवासी बस्ती छ। समितिको तथ्यांकअनुसार सिनामङ्गल र गैरीगाउँमा १६२ र शान्तिनगरमा ४७६ घरधुरी सुकुमवासी छन्।
त्यसैगरी काठमाडौं, ललितपुर र भक्तपुरका २७ वडामा नदी र खोला किनार अतिक्रमण भएको प्रारम्भिक तथ्यांक छ। बागमती नदी किनारमा मात्रै ६ स्थानमा अतिव्रmमण भएको छ। समितिका अनुसार काठमाडौं महानगरपालिका–१० शङ्खमूलमा १५० घरधुरी, वडा नं. ११ मा पर्ने थापाथलीमा १४३ घरधुरी र वंशीघाटमा १९३ घरधुरी र वडा नं. १४ स्थित बल्खु जागरणमार्गमा ४०१ घरधुरी छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा तीन हजार ४९६ घरधुरी अव्यवस्थित रूपमा खोला किनारमा बसोबास गर्ने गरेको प्रारम्भिक तथ्यांक छ।
त्यसै गरी काठमाडौं महानगरपालिका–१० मा पर्ने देवीनगरमा ४० र शान्तिविनायकमा ३६, वडा नं. ४ स्थित धुम्बाराहीमा ६ र बालुवाटारमा १४, वडा नं. २९ स्थित अनामनगरमा २३ र वडा नं. ३२ स्थित जडीबुटी–मिलनचोकमा ११४ घरधुरी खोला अतिक्रमण गरी बसेका छन्। वडा नं. १६ जागृतिमार्गमा १२३ र बुद्धज्योतिमा ७५ घरधुरी, वडा नं. २ ढिकुरेमा १९ र वडा नं. १५ स्वयम्भूमा ४६ घरधुरी छन्।
कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित गोठाटार बुद्धचोकमा ७७ र वडा नं. ९ स्थित कागेश्वरी मनोहराटोलमा १३ घरधुरी, बुढानीलकण्ठ नगरपालिका-१० पाथीभरामा १४२ र वडा नं. १२ कपनमा १४ घरधुरी छन्। देशभर ७० लाख सुकुमवासी छौँ। हामी सबै स्थानान्तरणका पक्षमै छौँ। हामी सरकारको साथ सहयोगको प्रतीक्षामा छौँ’,अभियन्ता लामाले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।