डोनल्ड ट्रम्पदेखि अब्राहम लिंकनसम्म
डोनल्ड ट्रम्पदेखि अब्राहम लिंकनसम्म
न्यूयोर्क : अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गत आइतबार एउटा र्यालीका क्रममा गोली प्रहार भयो। गोली ट्रम्पको दाहिने कानमा लागेर निस्कियो। आक्रमणमा एक व्यक्तिको मृत्यु भयो भने दुईजना घाइते भए।
ट्रम्पमाथि भएको आक्रमणलाई सुरक्षामा भएको गम्भीर गल्ती मानिएको छ। एफबीआईका अधिकारीहरूले गोली चलाउने २० वर्षका थोमस म्याथ्यु क्रुक्सको तत्काल हत्या गरिएको बताएका छन्। अमेरिकाको राजनीतिक इतिहासमा कुनै राजनेताको ज्यानै जाने गरी आक्रमण भएको यो पहिलो घटना होइन। यसअघि पनि अमेरिकाका अन्य राष्ट्रपतिहरूमाथि यसप्रकारका आक्रमण भइसकेका छन्।
आक्रमणमा ज्यान गुमाएका राष्ट्रपतिहरू
जोन एफ.केनेडी : केनेडी अमेरिकाका ३५ औं राष्ट्रपति थिए। सन् १९६३ नोभेम्बर २५ मा उनको गोली हानी हत्या गरिएको थियो। एउटा खुला कारमा डल्लसको यात्रामा निस्किएका वेला उनीमाथि गोली प्रहार भयो।
गोली लागेका वेला उनीसँगै रहेका जासुस एजेन्सीका कर्मचारी क्लिन्ट हिलका अनुसार केनेडीको नीतिलाई लिएर निकै विरोध भएको थियो तर सुरक्षा एजेन्सीबाट भने राष्ट्रपतिमाथि सुरक्षा खतराको कुनै संकेत प्राप्त भएन। केनेडी हत्याको आरोपमा ली हार्वी ओसवाल्ड नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको थियो। उनले आफूलाई निर्दोष बताएका थिए। दुई दिनपछि हार्वी ओसवाल्डको पनि गोली हानेर हत्या गरिएको थियो।
ली हार्वी एक पूर्व नौसैनिक र स्वघोषित मार्क्सवादी थिए। केनेडी हत्याको दुई दिनअघि हावी क्यूबा र रूसको दूतावास पुगेका थिए। १९६४ सेप्टेम्बरमा प्रकाशित वाँरेन कमिशनको एउटा रिपोर्टमा हार्वीले टेक्सस स्कुल बुक डिपोजिट्री बिल्डिङबाट गोली हानेका थिए भनी उल्लेख गरिएको थियो। तर ओसवाल्डको गालामा गरिएको एउटा परीक्षणबाट उनले बन्दुक नचलाएको पत्ता लागेको थियो। यद्यपि उक्त परीक्षणको विश्वसनीयतामाथि प्रश्न खडा भएको थियो।
अब्राहम लिंकन (१८६५) : अमेरिकाका १६ औंं राष्ट्रपति अब्राहम लिंकनको सन् १८६५ अप्रिल १५ मा वासिङटन डिसीको फोर्ड थिएटरमा गोली हानेर हत्या गरियो।
आफ्नो चुनावी अभियानमा दास प्रथाप्रति खुलेर विरोध गर्ने भएकाले अब्राहम लिंकनले चुनाव जितेपछि दास प्रथा खारेज गर्ने डर अमेरिकाको दक्षिणी राज्यका कैयौं मानिसलाई थियो। यसै कारण अमेरिकाको दक्षिणी भेगमा रहेको सात राज्यले आफ्नो छुट्टै फेडरेशन बनाएका थिए। उक्त फेडेरेशनमा पछि थप चार राज्य संलग्न भए। यी सबै राज्यहरूलाई सामूहिक रूपमा कन्फेडेरेसी भन्न थालियो।
सन् १८६१ मा अमेरिकामा गृहयुद्ध सुरु भयो, जुन चार वर्षसम्म चल्यो। युद्धमा ६ लाख अमेरिकी मारिए। १८६५ अप्रिल ९ मा कन्फेडेरेट जनरल रोबर्ट ई ली को आत्मसमर्पणसँगै युद्ध समाप्त भयो। उत्तरी र दक्षिणी अमेरिकी राज्यबीचको गृहयुद्ध समाप्त भएको एक हप्तापछि अब्राहम लिंकनलाई गोली हानी मारियो। उनका हत्यारा, जोन विल्क्स बूथ, कन्फेडेरेसीका बलिया समर्थक थिए।
विलियम म्याकिन्ली (१९०१): विलियम म्याकिन्ली अमेरिकाका २५ औं राष्ट्रपति थिए। उनी १८९७ मार्च ४ देखि १९०१ सेप्टेम्बर १४ सम्म अमेरिकाका राष्ट्रपति थिए। रिपब्लिकन पार्टीका म्याकिन्लीको कार्यकालमा भएको १०० दिनको युद्धमा अमेरिकाले क्युबामा स्पेनलाई पराजित गरेको थियो। यसैगरी फिलिपिन्सको मनिला र पोर्टो रिको कब्जा गरिएको थियो।
सन् १९०१ सेप्टेम्बरमा एक प्रदर्शनीका क्रममा लाइनमा उभिरहेका वेला विलियम म्याकिन्लीलाई गोली लागेको थियो। दुईपटक गोली प्रहार गरिएको उनको ८ दिनपछि मृत्यु भयो। मिशिगन निवासी लियोन जोल्गोज नाम गरेका एक व्यक्तिलाई राष्ट्रपति म्याकिन्लीको हत्यामा दोषी ठहर गरियो। आफ्नो गिरफ्तारीपछि जोल्गोजले ‘मैले राष्ट्रपति म्याकिन्लीलाई मारेर आफ्नो कर्तव्य पूरा गरेँ’ भनेका थिए।
जेम्स ए गारफिल्ड (१८८१) : अमेरिकाका २० औं राष्ट्रपति जेम्स ए गारफिल्डको जन्म सन् १८३१ म ओहायोमा भएको थियो। १८८१ जुलाई २ मा गोली हानेर उनको हत्या गरियो।
वासिङटन रेलरोड स्टेशन बाहिर एक व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए। गम्भीर घाइते गारफिल्डलाई धेरै दिनसम्म ह्वाइट हाउसमा राखियो र सेप्टेम्बर ६ मा न्यूजर्सी नजिकै लगियो। त्यहाँ पुर्याएपछि केही दिनसम्म स्वास्थ्यमा सुधार देखिए पनि १८८१ सेप्टेम्बर १९ मा उनको मृत्यु भयो। राष्ट्रपति गारफिल्डलाई गोली प्रहार गर्ने व्यक्तिको पहिचान चार्ल्स गे गुइटोको रूपमा भएको थियो।
घातक आक्रमणबाट जोगिएका राष्ट्रपतिहरू
रोनाल्ड रेगन (१९८१) :अमेरिकाको ४० औं राष्ट्रपति रोनाल्ड रेगनलाई सोभियत संघको पतन र शीतयुद्धको अन्त्यका लागि प्रमुख व्यक्तित्व मानिन्छ।
रेगनको जन्म सन् १९११ फेब्रुअरी ६ मा इलिनोइसको ट्यापिको शहरमा भएको थियो। हलिउड अभिनेता समेत रहेको उनले ५० वटा चलचित्रमा अभिनय गरेका छन्। सन् १९४२–४५ सम्म सेनामा समेत काम गरेका उनीमाथि राष्ट्रपति बनेको ६९ दिनपछि १९८१ मार्च ३० मा घातक आक्रमण गरियो।
वासिङटनको हिल्टन होटल बाहिर गोली हानिएको थियो। उनको फोक्सोमा गोली लागेको थियो तैपनि उनी बाँच्न सफल भए। जोन हिन्क्ले जुनियर नाम गरेका व्यक्तिले उनीमाथि गोली हानेका थिए।
थियोडोर रुजवेल्ट (१९१२) : अमेरिकाका २६ औं राष्ट्रपति रुजवेल्टको जन्म सन् १८५८ अक्टोबर २७ मा न्यूयोर्कमा भएको थियो। रिपब्लिकन नेता रुजवेल्टलाई १८९८ मा न्यूयोर्कको गभर्नर बनाइयो र १९०० मा उनी अमेरिकाको उपराष्ट्रपति बने।
सन् १९०१ मा राष्ट्रपति म्याकिन्लेको हत्यापछि रुजवेल्ट अमेरिकाको राष्ट्रपति बने। सन् १९०६ मा रूस–जापान युद्ध अन्त्य गरेकोमा उनलाई नोबेल पुरस्कारद्वारा सम्मान गरिएको थियो। सन् १९१२ अक्टोबर १४ मा अमेरिकी शहर मिलवाकीमा चुनावी प्रचारका क्रममा उनलाई कट्टरपन्थीद्वारा छातीमा गोली हानिएको थियो। रुजवेल्ट आक्रमणको केही दिनपछि निको भए। उनलाई विलियम एफ श्र्याङ्क नाम गरेका व्यक्तिले गोली प्रहार गरेका थिए।
डोनल्ड ट्रम्प (२०२४) :न्यूयोर्कको क्विन्समा सन् १९४६ जुन १४ मा जन्मिएका डोनल्ड जोन ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति हुन्। रिपब्लिकन पार्टीका ट्रम्प, बाराक ओबामापछि राष्ट्रपति बनेका थिए।
उनका बुबा फ्रेड ट्रम्प सफल रियल स्टेट डेभलपर थिए। सन् १९७१ मा उनले आफ्नो बुबाको घरजग्गा कम्पनी लिएर ट्रम्प अर्गनाइजेशन नाम दिए। २००५ मा मेलानियासँग विवाह गरेका उनीहरूका एउटा छोरा छन्। ट्रम्पको अघिल्लो विवाहबाट चार सन्तान छन्।
यही जुलाई १४ मा पेन्सिलभेनियाको बटलर शहरमा एउटा र्यालीका क्रममा पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार गरियो। यो घातक आक्रमणमा ट्रम्पको कानमा गोली लागेको छ। ट्रम्पमाथि आक्रमण गर्ने २० वर्षीय थोमस म्याथ्यू क्रुक्सलाई घटनास्थलमै मारिदिएको सुरक्षानिकायले बताएको छ। ती युवक स्थानीय नर्सिङ होमको भान्छामा काम गर्थे।
सुरक्षानिकायले डीएनए र फेसियल रिकग्नाइजेशन प्रविधिको सहयोगमा आक्रमणकारीको पहिचान गरिएको र उनले आफ्ना बुबाले ६ महिनाअघि किनेका राइफल प्रयोग गरेका बताएको छ। चुनावको चार महिनाअघि आगामी सम्भावित राष्ट्रपतिको सुरक्षामा कसरी यति गम्भीर त्रुटि भयो भनेर आलोचना भइरहेको छ। ट्रम्पमाथि आक्रमण भएको घटनाको एफबीआई, गोप्य सेवा (सेक्रेट सर्भिस ) र होमल्यान्ड सेक्यूरिटीले अनुसन्धान गरिरहेका छन्।
ट्रम्पमाथि भएको गोली प्रहारलगत्तै राष्ट्रपति जो बाइडेनले अमेरिकामा यो प्रकारको राजनीतिक हिंसाका लागि कुनै स्थान नरहेको भन्दै चिन्ता व्यक्त गरे। पूर्व राष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्ल्यू बुस‚ बिल क्लिन्टन र जिमी कार्टरले तत्काल उक्त हिंसाको निन्दा गरेका थिए।
बीबीसी
तपाईंको ईमेल गोप्य राखिनेछ ।