काठमाडौँ : ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो। यौन हिंसा हुँदैनथ्यो। महिलालाई देवीको रूपमा पुजिन्थ्यो‚’ राजधानी काठमाडौँका मन्दिरमा कुँदिएका कलाकृतिले पनि यसलाई पुष्टि गर्ने दावी गरिएको अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र छिट्टै प्रिमियर गर्ने तयारी भएको छ।
वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ। इन्द्र स्वर्गबाट फूल टिप्न आएको कथन, मल्ल राजाको पालामा शुरु भएको इन्द्रजात्रामा रथ तान्नेदेखि लिङ्गो ठड्याउने परम्परासँगै कुमारीजस्तै भैरव राख्ने चलनलाई वृत्तचित्रमा देखाइएको छ।
मछिन्द्रनाथको मूर्ति ‘न महिला न पुरुष’ देखिन्छन्। तन्त्र परम्परामा ठूलो सानो हुँदैन। तल्लो माथिल्लो भनिँदैन। सबैको अस्तित्व छ। यही अस्तित्वलाई वृत्तचित्रमा प्रष्ट पार्ने कोसिस गरेका छन् निर्माता सुनिलबाबु पन्तले। लाखे नाच, डाकिनीबारे पनि वृत्तचित्रमा देखाइएको छ।
धेरैले ध्यान नदिएको मन्दिरका टुँडालहरूमा कुँदिएका ६ थरिका पहिचान भएका व्यक्तिको यौन सम्बन्धबारे निर्माता पन्तले बुझाउने प्रयास गरेका छन्। वृत्तचित्रमा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगीको पहिचानबारे खुलाइएको छ।
असनको गणेश मन्दिरमा छोरा जन्मेको महिला स्वभावको, छोरी जन्मेको पुरुष स्वभावको मात्रै होइन दुवै यौनाङ्ग लिएर जन्मेका व्यक्तिको स्वरूपलाई पनि पन्तले वृत्तचित्रमा प्रस्ट्याएका छन्।
वृत्तचित्र काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको जटिल सम्बन्धमा केन्द्रित छ।
वृत्तचित्रले विविध लिङ्ग र कामुकताको अन्वेषण गर्छ र सांस्कृतिक सम्पदा र आधुनिक लैङ्गिक मुद्दाहरूमा गहिरो प्रतिविम्ब प्रस्तुत गर्छ।
पन्तको डकुमेन्ट्रीले काठमाडौँ शहरलाई मातृसत्तात्मक परिप्रेक्ष्यमा देखाउँदै नारी योनीलाई महत्त्व दिने मन्दिरहरूलाई प्रकाश पारेको छ।
पन्तले विदेशीहरू लैङ्गिक अध्ययनका लागि नेपाल आउने र यस क्षेत्रमा पीएचडी गर्न चाहेको बताए। उनले यो वृत्तचित्र लैङ्गिकता अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि बहुमूल्य स्रोत भएको बताए।
संविधानसभाका सदस्यहरू र महिला अधिकारकर्मीहरूले यो वृत्तचित्र हरेक व्यक्तिलाई देखाउन सुझाव दिए। अधिकारकर्मी मिना पौडेलले अहिलेको भन्दा त्यति वेलाको समाज प्रगतिशील रहेको बताइन्।
‘हिंसाविहीन खुला थियो, यौनका कारण कहिल्यै हिंसा भएन’, वृत्तचित्र हेरेपछि उनले भनिन्, ‘त्यति वेला समानता थियो, शक्तिको दुरुपयोग भएन जुन अहिले छ।’
राष्ट्रियसभा सदस्य रेखा शर्माले समाजमा रहेको पितृसत्तात्मक सोच बदल्न वृत्तचित्र सफल हुने बताइन्। उनले वृत्तचित्र हेरेपछि ‘नेपालमा रहेको मातृसत्ता-व्यवस्था बुझ्न हेर्नैपर्ने फिल्म’ भनेकी छन्।
वृत्तचित्र जेण्डरको दस्तावेज बन्ने अधिकारकर्मीहरूले बताए। नयाँ बहसका लागि वृत्तचित्र नयाँ खुराक हुन सक्ने उनीहरूले बताए।
अहिलेसम्म भ्रम स्थापित भएको भन्दै उनीहरूले यौनिकतालाई त्यसवेला कसरी हेरिन्थ्यो भन्ने वृत्तचित्रले उजागर गरेको उल्लेख गरे।
पन्तले कुमारीघरमा राखिएकी कुमारीलाई राष्ट्र प्रमुख बनाउनुपर्ने आफ्नो दृष्टिकोण पनि दिएका छन्। साथै चन्द्र र सूर्य अङ्कित नेपालको झण्डा जोगाउनुपर्नेमा उनले विशेष जोड दिएका छन्।
संविधानसभामा झण्डा फेर्ने बहससमेत भएको भन्दै पन्तले नेपालको झण्डाजस्तो अरू कुनै पनि देशको झण्डा नरहेको बताए।
वृत्तचित्रको पोस्टर सार्वजनिक भएको छ भने छिट्टै प्रिमियर गर्ने तयारीमा लागेको संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशकसमेत रहेका पन्तले जानकारी दिएका छन्। वृत्तचित्र युरोपेली संघको आर्थिक सहयोगमा निर्माण भएको पन्तले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।