१ लाख ३ हजार विद्यार्थी प्रभावित हुने अनुमान

|

काठमाडौं : वर्षाका कारण देशभर विभिन्न ठाउँमा बाढीपहिरो गइरहेको छ। बाढीपहिरोका कारण मानवीय क्षतिसँगै धेरै नागरिक घरवारविहीन भएका छन्। प्रहरीको तथ्यांक अनुसार मनसुन प्रवेश भएको गत जेठ २८ देखि साउन १ गतेसम्म १२० जनाको मृत्यु भएको छ। १३५ जना घाइते भएका छन्।

साढे ३ हजार परिवार विस्थापित भएका छन्। वर्षापछि गएको बाढीपहिरोबाट विद्यालयहरूमा पनि क्षति पुगेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हालसम्म बाढीपहिरोबाट देशभरका ८४ विद्यालयमा क्षति पुगेको छ।

नेपालमा मनसुन प्रवेश गरेपछि जुलाई १५ (असार ३१ गते) सम्ममा विभिन्न जिल्लाका ८४ विद्यालयमा क्षति पुगेको केन्द्रका निर्देशक अर्जुन ढकालले जानकारी दिए। उनका अनुसार मधेश प्रदेशको ४ स्थानीय तहका १२ वटा विद्यालय डुबानमा परेको थियो। तर,अहिले सुरक्षित छन्।

गण्डकी प्रदेशको २० वटा विद्यालयमा बाढीपहिरोबाट क्षति पुगेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशको १७ वटा जिल्लाका ५२ वटा विद्यालयमा बाढीपहिरोले क्षति पुर्‍याएको छ। ‘अरू थप विवरण भने आएको छैन’,उनले भने।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा असार २४ गतेदेखि साउन २ गतेसम्म मात्रै ७ विद्यालयमा क्षति पुगेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन विद्यालयमा क्षति पुगेको तथ्यांक छ। असार २४ गते रसुवाको उत्तरगया गाउँपालिका-१ स्थित तिरू आधारभूत विद्यालयको पर्खाल भत्किँदा एक घरमा क्षति पुग्यो।

सोही दिन पर्वतको पैयु गाउँपालिका-६ साधने स्थित अविरल वर्षाको कारण पहिरो गई लक्ष्मी भवन आधारभूत विद्यालयको २ वटा कोठा भत्किई ७ थान कम्प्युटर, २ थान प्रिन्टर र अन्य सामग्रीमा क्षति पुर्‍यायो।

असार २५ गते कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-४ उजेलीगाँउ स्थित मालिका आधारभूत विद्यालयको शौचालयको पर्खाल भत्किई खानेपानीको पाइप समेतमा क्षति पुग्यो। असार २६ गते धनकुटाको धनकुटा नगरपालिका-९ गुठिटार स्थित थानी आधारभूत विद्यालयको छेउबाट पहिरो जाँदा घर र विद्यालय जोखिममा पर्‍यो।

त्यस्तै,असार २८ गते म्याग्दी रघुगंगा गाउँपालिका- ४ दग्नाम स्थित जनता माध्यमिक विद्यालयको पुरानो भवन अविरल वर्षाका कारण भत्किई पछाडिको एक घरमा समेत पूर्णरूपमा क्षति पुग्यो। 

असार ३० गते कास्कीमा अविरल वर्षाका कारण अन्नपूर्ण गाउँपालिका-९ सुदामे स्थित भुमे आधारभूत विद्यालयको एक पक्की भवनको २ वटा कक्षा कोठा पहिरोले पुरियो। यसका साथै शौचालय, खेलमैदान र खानेपानीको धारा समेत पूर्णरूपमा क्षति पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

त्यस्तै,सोही गाउँपालिका-१ स्थित लहरी आधारभूत विद्यालय,वडा-३ स्थित लक्ष्मी आधारभूत विद्यालय,वडा-१० स्थित जनसेवा आधारभूत विद्यालयमा पहिरोले क्षति पुगेको छ। उदयपुरमा बुधबार वर्षाको कारण कटारी नगरपालिका-१२ बसेरीस्थित जनमुखी माध्यमिक विद्यालयको तारजालीसहितको पर्खाल बाढीले भत्काउँदा १ लाख रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

२ हजार ७०० विद्यालयमा क्षति पुग्ने अनुमान 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक ढकालले यो वर्षात् समयमा ५२ जिल्लाको २ हजार ७०० विद्यालयमा बाढीपहिरोबाट क्षति पुग्ने अनुमान गरिएको जानकारी दिए। यसबाट एक लाख ३ हजार विद्यार्थी बालबालिका प्रभावित हुने अनुमान गरेको उनले बताए।

‘अहिले बर्खे बिदा छ।बिदा सकिएपछि पनि पठनपाठनमा असर नपुग्ला। किनभने हालसम्म क्षति पुगेका विद्यालयमा सामान्य मात्रै क्षति पुगेको विवरण प्राप्त भएको छ’, उनले भने। प्राधिकरणका अनुसार २०७८ सालमा बाढीपहिरोले ९०० विद्यालयमा क्षति पुगेको थियो। करिब एक हजार विद्यालय जोखिममा थिए।

‘पठनपाठनको लागि छलफल गर्छौँ’

कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत बलराम भुगाइले बाढीपहिरोबाट क्षति पुगेका विद्यालयमा कसरी पठनपाठन थाल्ने भन्नेबारे छलफल गरेर निर्णय लिने जानकारी दिए।

‘हाम्रो गाउँपालिकाभित्र लहरी आधारभूत, लक्ष्मी आधारभूत,भूमे आधारभूत र जनसेवा आधारभूत विद्यालयमा क्षति पुगेको भन्ने जानकारी प्राप्त भएको छ। अहिले त बर्खे बिदा नै छ। ६ गतेसम्म बिदा छ,अब कसरी पठनपाठन थाल्ने भन्नेमा छलफल गरेर निर्णय लिन्छौँ’, उनले भने। उनका अनुसार जनसेवा आधारभूत विद्यालयको जमिन चर्किएकाले अर्को भवन बनाउनुपर्ने अवस्था छ। 

बाढीपहिरोका कारण केही ठाउँका विद्यालयमा धेरै नै क्षति भएर पठनपाठनमै समस्या भए स्थानीय तहहरूले व्यवस्थापन र सहजीकरण गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक ढकालले बताए। ‘हामीले यसका लागि निर्देशन दिइसकेका छौँ। बर्खाका कारण पठनपाठन रोकिँदैन,’उनले भने।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहहरूलाई हाल भइरहेको मनसुन तथा भविष्यमा आइपर्ने अन्य कुनै पनि विपद् जाेखिम न्यूनीकरण, बालबालिकाको शैक्षिक निरन्तरता तथा शिक्षा क्षेत्रमा विपद्ले पारेको प्रभावसम्बन्धी विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।

‘हाल भइरहेको मनसुन तथा भविष्यमा आइपर्ने अन्य कुनै पनि विपद् जाेखिम न्यूनीकरण, बालबालिकाको शैक्षिक निरन्तरता तथा शिक्षा क्षेत्रमा विपद्ले पारेको प्रभावसम्बन्धी विवरण अद्यावधिक/प्रतिकार्य गर्नका लागि यस केन्द्रको शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विपदका कारण विद्यालयमा भएको क्षतिसम्बन्धी सूचना तथा जानकारी स्थानीय तह अन्तर्गतका विद्यालयबाट अद्यावधिक गर्न पत्राचार तथा सहजीकरण गरिदिनुहुन निर्णयानुसार अनुरोध छ’, सूचनामा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.