काठमाडौँ : एसीसी महिला एशिया कप क्रिकेटमा भारतले यूएईलाई ७८ रनले सजिलै पराजित गर्दै लगातार दोस्रो खेल जितेको छ।
२०२ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनायो र ७८ रनले पराजित भयो।
दोस्रो ब्याटिङ गरेको यूएईले ११ रनमा पहिलो विकेट गुमाएपछि दह्रो शुरुवात गर्न सकेन। उसका लागि ओपनर इशा ओजाले सर्वाधिक ३८ रन बनाइन्।
कविशा एगोदागेले ३५ रन र खुशी शर्माले १० रन बनाउनबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका लागि दिप्ती शर्माले २ विकेट तथा रेनुका सिंह‚ तनुजा कंवर‚ पूजा वस्त्रकार र राधा यादवले १/१ विकेट लिए।
यसअघि भारतले पहिले ब्याटिङ गर्दै २०१ रन बनाएर यूएईलाई जितका लागि २०२ रनको लक्ष्य दिएको थियो।
श्रीलंकाको रंगिरि दाम्बुला अन्तरराष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङमा गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनायो।
भारतका लागि अर्धशतक बनाएका कप्तान हरमनप्रीत कौर र ऋचा घोष दुवैले विष्फोटक ब्याटिङ गरे। कौरले सर्वाधिक ६६ रनको योगदान गरिन्। ४७ बलको सामना गरेकी उनले ७ चौका र १ छक्का प्रहार गरिन्।
ऋचा घोषले २९ बलमा अविजित ६४ रन बनाइन् भने शेफाली वर्माले ३७ रन जोडिन्।
कौरले टी–२० महिला क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो भारतीय खेलाडीको कीर्तिमानसमेत बनाएकी छन्।
उनले अहिलेसम्म टी-२० अन्तरराष्ट्रिय खेलमा ३ हजार ४१५ रन बनाएकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।